News Summary
Generated by OK AI. Editorially reviewed.- उत्तर प्रदेशको पितामपुर गाउँमा १३ वर्षीय अमितलाई सर्पदंशपछि झाँक्रीको सल्लाहमा नदीमा डुबाउँदा मृत्यु भयो।
- परिवारले झाँक्रीको सल्लाहअनुसार अमितलाई १२ घण्टासम्म गंगा नदीमा डुबाएर राख्यो, जसले गर्दा उनी बेहोस भए।
- अन्धविश्वासका कारण अस्पताल लैजान ढिला भएपछि अमितको मृत्यु भयो र सामाजिक सञ्जालमा अभिभावकमाथि कारबाहीको माग भइरहेको छ।
भारतमा अन्धविश्वासका कारण एक १३ वर्षीय बालकको ज्यान गएको छ । यो घटनाले देशभर तरंग उत्पन्न गरेको छ । सर्पदंशपछि उपचारका लागि अस्पताल लैजानुको सट्टा झाँक्रीको सल्लाहले नदीमा डुबाउँदा ती बालकको ज्यान गएको हो।
उत्तर प्रदेशको पितामपुर गाउँमा कक्षा ४ मा अध्ययनरत अमित नामका बालकलाई गत बिहीबार विषालु सर्पले डसेको थियो । आफूलाई सर्पले डसेको जानकारी उनले तुरुन्तै आफ्नो परिवारलाई दिए । तर परिवारले उनलाई अस्पताल लैजानुको सट्टा स्थानीय झाँक्रीकोमा लग्यो ।
सोही झाँक्रीले दिएको सल्लाहअनुसार परिवारले ती बालकलाई बाँसमा बाँध्यो र गंगा नदीको पानीमा करिब १२ घण्टासम्म डुबाएर राख्यो। गंगाको पवित्र पानीले बालकको जिउमा रहेको सर्पको विष निकालेर उनलाई निको पार्छ भन्ने गलत सल्लाह झाँक्रीले दिएका थिए ।
तर त्यसरी निको हुनेवाला कहाँ थियो र । नदीमा लगातार डुबाउँदा अमित बेहोस् भए । अनि १२ घण्टापछि पछि मात्र परिवारले उनलाई अस्पताल पुर्याउने निर्णय गर्यो । त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो र चिकित्सकहरूले उनलाई बचाउन सकेनन् ।
ती बालकको ज्यान जोगाउन सकिने भए पनि अन्धविश्वासका कारण मृत्यु भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । धेरैले अभिभावकमाथि लापरवाहीको कारबाही हुनुपर्ने माग गरेका छन् ।
अझ दुखद् त के भने सो घटनापछि पनि परिवारको अन्धविश्वास टुटेन । छोराको शव गंगामा फालेमा चमत्कार हुने र पुनः जीवित भएर फर्किने आशा उनीहरूले गरेका थिए।
यो घटनामा हालसम्म प्रहरीले मृतक बालकका परिवारमाथि कारवाही प्रक्रिया अघि बढाए/नबढाएको विषयमा जानकारी सार्वजनिक भएको छैन।
एजेन्सी
प्रतिक्रिया 4