News Summary
Generated by OK AI. Editorially reviewed.- मथुरा थापाको 'कोमल अभिभावकत्व' पुस्तकले महिलाको गर्भावस्थादेखि १८ वर्षसम्म बालबालिकालाई हुर्काउने व्यवहार र सिपबारे चर्चा गरेको छ।
- पुस्तकमा बालमनोविज्ञान, उमेरअनुसार विकासका चरण, खेल, आहार र व्यवहार व्यवस्थापनलाई सरल र व्यावहारिक रूपमा समेटिएको छ।
- प्राध्यापक डा. विदुर चालिसेले पुस्तकलाई अभिभावक, गृहिणी र सामाजिक अभियन्ताका लागि दिशानिर्देशक कृति भनेका छन्।
काठमाडौं । मथुरा थापाको ‘कोमल अभिभावकत्व’ पुस्तक सार्वजनिक भएको छ ।
सार्वजिनक यो पुस्तकमा महिलाको गर्भावस्थादेखि बालबालिकालाई १८ वर्षसम्म हुर्काउने सम्पूर्ण प्रक्रियामा आमाबुबाले अपनाउनुपर्ने व्यवहार, सोच र सिपबारे केन्द्रित रहेको छ ।
शिक्षा क्षेत्रमा दुई दशकभन्दा बढी समय सक्रिय रहँदै आएकी लेखिका मथुरा थापाको यो पुस्तकमा अभिभावकत्वलाई केवल जिम्मेवारीका रूपमा होइन, एक संवेदनशील कला र दीर्घकालीन सामाजिक लगानीका रूपमा प्रस्तुत गरिएको छ।
७४ परिच्छेदमा विभाजित यस कृतिमा नानीको बानी विकासदेखि असल अभिभावकमार्फत असल समाज निर्माणसम्मका विषयहरूलाई सरल र व्यावहारिक ढङ्गले प्रस्तुत गरिएको छ । बालमनोविज्ञानमा आधारित सुझावहरू, उमेरअनुसार विकासका चरणहरू, खेल, आहार, व्यवहार र सिकाइका तरिकाहरूलाई सन्तुलित रूपमा समेटिएको छ। यसले अभिभावकलाई केवल जानकारी मात्र होइन, व्यवहारमै लागू गर्न सकिने मार्गदर्शन दिन्छ।
पुस्तकको भूमिकामा प्राध्यापक डा. विदुर चालिसेले यसलाई नेपाली समाजका अभिभावक, गृहिणी, सामाजिक अभियन्ता तथा बालबालिका हुर्काउने सबैका लागि दिशानिर्देशक कृति भनेका छन् । उनका अनुसार बालबालिकाको समुचित विकासका लागि खेलौनाको छनोट, पोषणयुक्त आहार, प्रारम्भिक पाँच वर्षको महत्त्व, उमेरअनुसार खेलकुद र व्यवहार व्यवस्थापनजस्ता पक्षहरूमा पुस्तकले विशेष जोड दिएको छ । बालबालिकाले देखाउने सामान्य व्यवहार, जस्तै खुट्टा भुइँमा बजार्ने वा जिद्दी गर्ने प्रवृत्तिको मनोवैज्ञानिक कारण र त्यसको दीर्घकालीन असरबारे पनि पुस्तकले गम्भीर विश्लेषण प्रस्तुत गरेको छ ।
लेखिकाले स्पष्ट रूपमा उल्लेख गरेकी छन्, बालबालिका जन्मँदै असल वा खराब हुँदैनन् । उनीहरूको व्यक्तित्व निर्माणमा अभिभावक, शिक्षक र समाजको व्यवहार, वातावरण र संस्कारको निर्णायक भूमिका हुन्छ। अभिभावकको बोली, व्यवहार र जीवनशैलीबाट बालबालिका सबैभन्दा छिटो प्रभावित हुने भएकाले सचेत अभिभावकत्व अत्यावश्यक हुन्छ।
२१ वर्षको शिक्षण अनुभवका आधारमा लेखिकाले विभिन्न स्वभाव र पृष्ठभूमिका बालबालिका तथा अभिभावकसँगको अन्तरक्रियाबाट प्राप्त ज्ञानलाई थापाले पुस्तकमा समेटेकी छन् ।
अभिभावकको साझा चाहना आफ्ना सन्तानलाई असल र सफल बनाउने भए पनि त्यसका लागि आवश्यक ज्ञान र व्यवहारिक सिपको अभाव देखिने यथार्थलाई पुस्तकले सम्बोधन गरेको छ ।
पुस्तकमा गर्भावस्थादेखि किशोरावस्थासम्मका विभिन्न चरणहरूमा अभिभावकले अपनाउनुपर्ने व्यवहारको विस्तृत चर्चा गरिएको छ। गर्भधारणको समयदेखि नै बच्चाको मानसिक र भावनात्मक विकास सुरु हुने भएकाले त्यसबेला आमाबुबाको सोच, व्यवहार र वातावरणले प्रभाव पार्ने विषयलाई स्पष्ट पारिएको छ। नवजात शिशुको स्याहारदेखि पूर्वबाल्यावस्था र किशोरावस्थासम्मका चुनौतीहरूलाई सरल भाषामा व्याख्या गरिएको छ।
२७२ पृष्ठको पुस्तकको आवरण वाशु क्षितिज र पुस्तक सम्पादन प्राडा विदुर चालिसेले गरेका छन् ।
प्रतिक्रिया 4