८ वैशाख, काठमाडौं । पोखरा विश्वविद्यालयले स्नातक तहमा एआई र डाटा साइन्स अध्यापन सुरु गरेको छ । विश्वविद्यालयले ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसमा यो कार्यक्रम सञ्चालन गरेको हो ।
श्रमिक शान्ति क्याम्पस पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसपछिकाे पहिलो आंगिक क्याम्पस हो । चार वर्षे कार्यक्रमको पहिलो सेमेस्टर पूरा भइसकेकको विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन बुद्धि राज जोशीले जानकारी दिए ।
एक समेस्टर पूरा भइसकेपछि विश्वविद्यालयले त्यसको समीक्षासहित आगामी २ देखि ८ सेमेस्टरको सेलेबस तयार गरेको उनले बताए ।
उनका अनुसार यो कार्यक्रममा एआई (कृतिम बौद्धिकता)को प्रयोगमात्र नभई एप्लिकेशन डेभलप, सुरक्षा र उचित प्रयोगका विषय समेटिएको छ । साथै डाटा एनालाइसिसको अध्यापन गरिनेछ ।
चार वर्षे कार्यक्रम जम्मा १२२ क्रेडिट आवरको रहेको छ । जसमा धेरै प्रयोगात्मक र ल्याबमा आधारित हुने डीन जोशीले जानकारी दिए । १२२ मध्ये १०५ सैद्धान्तिक, ३६ मार्गनिर्देशन (टुटोरियल) र ९१ प्रयोगात्मक रहने गरी पाठ्यक्रम तयारा पारिएको छ ।
विद्यार्थीहरुलाई पढाइपछि इन्टर्नसिप गराइनेछ । एआई प्रयोग हुने कम्पनीहरु र नेपाल सरकारका निकायहरुमा डाटा एनालाइसिस्टका रुपमा उनीहरुले इन्टर्नसिप गर्ने डीन जोसीले बताए ।

डीन जोशीका अनुसार स्नातकमा एआई र डाडा साइन्स अध्यापन यो नै पहिलो हो । यो विषय अध्ययनका लागि प्लस टु मा विज्ञान विषय अध्ययन गर्नु पर्ने अनिवार्य छैन ।
कुनै पनि संकायबाट उत्तीर्ण भएका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउँछन् । तर, ११ र १२ मा अध्ययन गरेको संकायमा गणित वा कम्प्युटर साइन्स लिएको हुनुपर्ने डीन जोशीले बताए ।
हाललाई विश्वविद्यालयले एक सेमेस्टरका लागि ४८ जनाको कोटा तोकेर भर्ना लिएको छ । त्यसमध्ये ९ जनालाई छात्रवृत्तिको व्यवस्था गरिएको छ । सेमेस्टरमा प्रथम हुने थप एक जनालाई पनि छुट गरिने उनले बताए ।
यो विषय अध्ययनका लागि चार वर्षमा ४ लाख ७८ हजार २०० रुपैयाँ लगानी गर्नुपर्नेछ । थप २० हजार धरौटी राखिएको छ ।
विश्वविद्यालयले यो कार्यक्रमलाई प्रभावकारी बनाउन विज्ञहरुसहित कार्यशाला पनि गर्दै आएको छ । पाठ्यक्रमलाई प्रभावकारी बनाउनका लागि भएको कार्यशालाबाट विज्ञहरुको सुझाव संकलन गरिएको छ ।
सूचना प्रविधि क्षेत्रका ५० बढी विज्ञहरुको सुझावकै आधारमा पाठ्यक्रम निर्माण गरिएको डीन जोशीले बताए । विश्वविद्यालयको करिकुलम डेभलपमेन्ट सेनटरको आयोजना तथा विज्ञान प्रविधि संकायको समन्वयमा भएको कार्यशालामा उपकलपति प्राध्यापक डाक्टर वेदराज केसीले एआई र डाटा साइन्स अहिलेको मागअनुसार भएको भन्दै याे महत्वपूर्ण विषय भएको बताए । उनले याे कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रमममा यसका प्राविधिक पक्षका विषयमा पुल्चोक क्याम्पसका प्राध्यापक डाक्टर सुवर्ण शाक्यले जानकारी गराएका थिए भने एआई तथा डाटा साइन्स कार्यक्रमका संयोजक फूलबाबु झाले सहजिकरण गरेका थिए ।
प्रतिक्रिया 4