+
+
WC Series
Won Nepal
129/2 (15.5)
VS
Nepal win by 8 wickets
UAE
128/8 (20)
Shares

सरकारको निर्णय कुरेनन् व्यवसायीले, सोमबारदेखि १४.२ किलोकै ग्यास सिलिन्डर बेच्ने

ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) तौलकै ग्यास सिलिन्डर बिक्री गर्ने घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते २०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्यास व्यवसायीहरूले डिजेल मूल्य वृद्धिका कारण सोमबारदेखि १४.२ किलो ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेका छन्।
  • ग्यास व्यवसायीहरूले आधा सिलिन्डर नीति नमान्ने र डिजेल ढुवानी खर्च उपलब्ध नगराए कारोबार गर्न नसकिने बताएका छन्।
  • नेपाल आयल निगमले ग्यास अभाव नभएको तर भविष्यमा संकट आउन सक्ने भन्दै सावधानी अपनाउनुपर्ने बताएको छ।

८ वैशाख, काठमाडौं । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले नमान्ने घोषणा गरेका छन् ।

ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) तौलकै ग्यास सिलिन्डर बिक्री गर्ने घोषणा गरेका हुन् ।

ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघबीच आज भएको संयुक्त बैठकले यस्तो निर्णय गरेको ग्यास विक्रेता महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए ।

अध्यक्ष अर्यालका अनुसार डिजेल मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण ढुवानी खर्च धान्न नसकिने अवस्था आएपछि व्यवसायीहरू यो कदम चाल्न बाध्य भएका हुन् ।

अध्यक्ष अर्यालले सरकारले यसअघि आधा सिलिन्डर (७.१ किलो) मात्रै भर्ने निर्णय गरे पनि त्यसले व्यवसायी र उपभोक्ता दुवैलाई मार परेको बताएका छन् ।

‘हामीले सोमबारदेखि १४.२ किलोकै ग्यास बेच्ने सर्वसम्मत निर्णय गरेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘यदि सरकारले डिजेलको ढुवानी खर्च उपलब्ध नगराए हामी कारोबार नै गर्न नसक्ने अवस्थामा पुग्छौं, यसबारे भोलि सरकारलाई औपचारिक जानकारी दिनेछौं ।’

अध्यक्ष अर्यालले नेपाल आयल निगमको अदूरदर्शी नीतिका कारण आगामी दुई महिनाभित्र नेपालमा ग्यासको चरम अभाव हुन सक्ने चेतावनी समेत दिएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अहिले उद्योगका सबै बुलेट ग्यासले भरिभराउ छन् र बजारमा पूर्णक्षमताको सिलिन्डर पठाउन कुनै समस्या छैन ।

आधा सिलिन्डर मात्र बेच्न पाइने नियमले गर्दा मौज्दात (स्टक) मा रहेको ग्याससमेत बिक्री गर्न कठिन भइरहेको उद्योगीको भनाइ छ ।

आधा तौलका धेरै सिलिन्डर उपभोक्ताको घरमा थन्किएपछि भारतबाट आएका ग्यास बुलेट उद्योगमा अनलोड हुन नसकेको उद्योगीले बताउँदै आएका छन् ।

हाल ७.१ किलोका सिलिन्डर मात्रै बजार पठाउँदा र ग्यासका बुलेट समयमै अनलोड नगर्दा सबै बुलेट जाम भएर बसेका छन् ।

‘अहिलेको अवस्थामा सबै बुलेट होल्ड गराएर राखिएको छ, नेपाल आयल निगमले कानमा तेल हालेर बस्ने हो भने दुई महिनापछि नेपालमा ग्यासको हाहाकार हुने पक्का छ,’ अर्यालले थपे ।

व्यवसायीहरूले यसअघि नै सरकारसँग सम्बन्धित व्यक्तिहरूसँग पटक–पटक छलफल र अन्तर्क्रिया गरे पनि सरकारले कुनै सकारात्मक पहल नगरेको गुनासो गरेका छन् ।

उनले सरकार निकट व्यक्तिहरूलाई डिजेलको मूल्य नबढाउन विभिन्न सुझाव दिए पनि चासो नदेखाएको आरोप लगाएका छन् ।

आफ्नो व्यावसायिक अस्तित्व जोगाउन र आपूर्ति व्यवस्था सहज बनाउन व्यवसायीहरूले आफैं यो निर्णय लिनुपरेको उनीहरूको तर्क छ ।

अध्यक्ष अर्यालले दक्षिण एसियाली मुलुकहरू भारत, भुटान र माल्दिभ्सको उदाहरण दिँदै ती देशले आफ्नो आर्थिक अवस्था स्थिर राख्न डिजेलको मूल्य वृद्धि नगरेको बताए ।

‘छिमेकी देशले आर्थिक स्थिरताका लागि मूल्य नबढाई प्रयत्न गरिरहँदा नेपाल सरकारले भने कुनै ठोस प्रयास गरेन,’ उनले भने ।

डिजेल मूल्यवृद्धिका कारण ढुवानी र अन्य खर्च बढेकाले अब व्यवसायीले घाटा सहेर ग्यास कारोबार गर्न नसक्ने अडान लिएका छन् ।

आयल निगमले भने बजारमा ग्यास अभाव नभए पनि भविष्यमा आउन सक्ने संकट मध्यनजर गर्दै सावधानी अपनाउनुपरेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?