+

सातवटा गिनिज वर्ल्ड रेकर्ड राखेका हरिचन्द्र सबैतिरबाट उपेक्षित

२०८३ वैशाख  ९ गते ८:५१ २०८३ वैशाख ९ गते ८:५१
सातवटा गिनिज वर्ल्ड रेकर्ड राखेका हरिचन्द्र सबैतिरबाट उपेक्षित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाका हरिचन्द्र गिरीले गत ४ जनवरी २०२६ मा चीनको चोङकिङस्थित युन्याङमा १०० वटा सिंढी ४.७१ सेकेन्डमा ओर्लेर सातौं गिनिज वर्ल्ड रेकर्ड राखेका छन्।
  • गिरीले सन् २०२१ देखि २०२३ सम्म फरक–फरक विद्यामा ७ वटा गिनिज वर्ल्ड रेकर्ड कायम गरिसकेका छन्।
  • गिरीले आफूले गरेको सबै प्रयास आफ्नै पहल र खर्चमा भएको बताउँदै आर्थिक सहयोगको अपिल गरेका छन्।

९ वैशाख, काठमाडौं । नेपाली सेनाका हरिचन्द्र गिरीले गत ४ जनवरी २०२६ मा चीनको चोङकिङस्थित युन्याङमा सातौं गिनिज वर्ल्ड रेकर्ड राखे ।

गिरीले हातले टेकेर १०० वटा सिंढी जम्मा ४.७१ सेकेन्डमा ओर्लिएका थिए । सबैभन्दा छिटो ओर्लनेमा गिनिज वर्ल्ड रेकर्ड राख्दा धेरैले उनलाई बधाइ पनि दिए ।

हरिचन्द्र त्यहाँ आफ्नै खर्चमा पुगेका थिए । गत वर्ष पनि ‘द ब्रिटेन्स् गट ट्यालेन्ट’ मा अडिसन दिन त्यहाँ पुगेका बेला गिरीले हातले टेकेर उल्टोबाट आधा लिटर (५०० एमएल) कागती २४ सेकेन्डमा पिइ गिनिज वर्ल्ड रेकर्ड राखेका थिए ।

गिरीले लन्डनस्थित गिनिज हेड अफिसमा १० सेप्टेम्बर, २०२५ मा यो कीर्तिमान राखेका थिए । नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रका लान्स कर्पोरल गिरीको यो छैटौं गिनिज वर्ल्ड रेकर्ड थियो ।

यसअघि उनले उनले गुड्ने अवस्थामा रहेको टायरमाथि १ मिनेटमा १२० पटक स्किपिङ गरी ‘मोष्ट स्किप्स अन यान अपराइट टायर’ विद्याको गिनिज वर्ल्ड रेकर्ड राखेका थिए ।

उनले रेकर्ड राखेको उक्त विद्या गिनिज बुक अफ रेकर्डमै पहिलो विश्व विद्याका रुपमा समावेश भएको थियो ।

यसबाहेक उनले ४ वटा फरक–फरक विद्यामा पनि वर्ल्ड रेकर्ड कायम गरिसकेका छन् । उनले सन् २०२१ मा हातले टेकेर भर्‍याङको ५० खुड्किला १२.६५ सेकेन्डमा पूरा गर्दै पहिलो विश्व रेकर्डको सुरुवात गरेका थिए ।

त्यस्तै २०२२ मा उनले २ वटा रेकर्ड बनाए । खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर सबैभन्दा छिटो २५.५८ सेकेन्डमा ५० मिटर हिँड्ने कीर्तिमान समेत उनकै नाममा छ ।

गिरीले आफ्नो खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर सबैभन्दा छिटो १० मिटर हिँड्ने नयाँ कीर्तिमान बनाएका थिए जुन उनले ४.४९ सेकेन्डमा पूरा गरेका थिए ।

त्यसैगरी गिरीले सन् २०२३ मा २५.०३ सेकेन्डमा हातले टेकेर ७५ वटा खुड्किला झरेर चौथो विश्व रेकर्ड कायम गरेका थिए ।

हातले टेकेर ५० खुड्किला १२.६५ सेकेन्डमा झरेको, खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर २५.५८ सेकेन्डमा ५० मिटर पार गरेको, खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर ४.४९ सेकेन्डमा १० मिटर पार गरेको अनि हातले टेकेर ७५ वटा खुड्किला २५.०३ सेकेन्डमा झरेको रेकर्ड पनि उनको नाममा छ ।

गिरीले गत वर्ष द ब्रिटेन्स् गट ट्यालेन्टमा अडिसन समेत दिएका थिए । हरिचन्द्रले तीन मिनेटभित्र वैशाखीलाई ब्यालेन्समा राखेर आँखा नहेरी उल्टोबाट भर्‍याङको सिँढी ओर्लने, चढ्ने कला देखाएका थिए । त्यसमा खुकुरी ‘प्याट्रन’ पनि समावेश थियो । उक्त अडिसनमा सफल नभएपनि गिरी यस वर्ष फेरि द ब्रिटेन्स् गट ट्यालेन्टमा अडिसन दिन जाने तयारी गरिरहेका छन् ।

१३ वर्षअघि नेपाली सैनिकमा प्रवेश गरेका दाङका ३२ वर्षीय गिरीले अहिलेसम्म सातवटा गिनिज वर्ल्ड रेकर्ड राखेपनि आफू सबैतिरबाट उपेक्षित भएको गुनासो गरे ।

‘मैले जति कला कौशल प्रस्तुत गरें, सबै आफ्नै पहल, मेहनत र खर्चमा हो’, गिरीले सुनाए, ‘मैले जहाँ गएपनि नेपाल र नेपालीलाई नै प्रतिनिधित्व गरेको छु । तर, सरकारका पनि आफ्नै प्राथमिकता भएर होला खोइ अहिलेसम्म केही सहयोग पाइन ।’

उनले आर्थिक सहयोग पाए द ब्रिटेन्स् गट ट्यालेन्टमा अडिसनका लागि जान सक्ने बताउँदै सहयोगको अपिल गरेका छन् ।

गिनिज वर्ल्ड रेकर्ड हरिचन्द्र गिरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय