+
+
Shares
के-पप :

शेयर कारोबारको ठगी आरोपमा प्रहरीको खोजीमा के-पप अर्बपति, ‘बीटीएस’ टूर के होला ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १४:४२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • के-पप उद्योगका प्रभावशाली व्यक्तित्व बाङ सि-ह्युकलाई लगानीकर्तालाई भ्रमित बनाएको आरोपमा दक्षिण कोरियाली प्रहरीले पक्राउ पुर्जी माग गरेको छ।
  • उनको कम्पनी हाइबले सन् २०२० को अक्टोबरमा दक्षिण कोरियाको मुख्य सेयर बजारमा सूचीकृत भएसँगै बाङले करिब २०० अर्ब वोन आम्दानी गरेको प्रहरीले जनाएको छ।
  • दक्षिण कोरियामा सेयर बजार हेरफेर नियन्त्रण गर्न नयाँ टोली गठन गरिएको छ र अवैध कारोबारमा संलग्नलाई कडा कारबाही गरिने बताइएको छ।

बीबीसी । के-पप उद्योगका प्रभावशाली व्यक्तित्व बाङ सि-ह्युक ठगीसम्बन्धी कारोबारको आरोपमा पक्राउ पर्ने सम्भावना देखिएको छ । उनले विश्वप्रसिद्ध समूह बीटीएस निर्माण गरेका थिए । उनीविरुद्ध उनको कम्पनी हाइब करिब ७.३ अर्ब डलर मूल्यको सार्वजनिक सूचीकृत हुनुअघि नै यो मुद्दा उठेको हो ।

दक्षिण कोरियाली प्रहरीले सन् २०१९ मा लगानीकर्तालाई भ्रमित बनाएको आरोप लगाउँदै सरकारी वकिलसँग अदालतबाट पक्राउ पुर्जी माग गर्न अनुरोध गरेको छ । आरोप अनुसार, उनले आफ्नो कम्पनी सार्वजनिक रूपमा सूचीकृत हुने सम्भावना कम रहेको बताएका थिए, तर भित्री रूपमा त्यसको तयारी गरिरहेका थिए ।

हाइब सन् २०२० को अक्टोबरमा दक्षिण कोरियाको मुख्य सेयर बजारमा सूचीकृत भएको थियो । प्रहरीका अनुसार, यस प्रक्रियाबाट बाङले करिब २०० अर्ब वोन (झन्डै १३६ मिलियन डलर) आम्दानी गरेका थिए । तर उनले सबै आरोप अस्वीकार गरेका छन् ।

यो मुद्दा लामो समयदेखि चलिरहेको छ । यस क्रममा कम्पनीको मुख्यालयमा छापा मारिएको, केही सम्पत्ति रोक्का गरिएको र उनलाई अध्यक्ष पदबाट हट्न दबाबसमेत आएको छ । ५३ वर्षीय बाङले आफूले गरेको काम कानुनी दायराभित्रै रहेको दाबी गर्दै आएका छन् । अनुसन्धान जारी रहेकाले उनलाई गत अगस्टदेखि विदेश यात्रा गर्न रोक लगाइएको छ ।

यसैबीच, बीटीएसले करिब चार वर्षको विश्रामपछि हालै विश्व भ्रमण सुरु गरेको छ । यो समूह हाइबको मुख्य आयस्रोत मानिन्छ । उद्योगका जानकारका अनुसार, पूर्ण रूपमा बिक्री भइसकेको यस विश्व भ्रमणबाट कम्पनीले एक अर्ब डलरभन्दा बढी आम्दानी गर्ने अपेक्षा गरिएको छ । ३४ सहरमा हुने यो कन्सर्ट श्रृंखलाले कम्पनीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

जनवरीमा विश्व भ्रमण घोषणा गरेपछि कम्पनीको सेयर मूल्य चार वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो । यसले बजार मूल्यमा एक ट्रिलियन वोनभन्दा बढी वृद्धि गराएको थियो ।  ब्यान्डलाई विश्वव्यापी स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका बाङले हालै ‘बिलबोर्ड’सँगको अन्तर्वार्तामा बीटीएस अहिले “पर्यटकीय आकर्षणजस्तै… विश्वभरका दर्शकमाझ व्यापक रूपमा चिनिएको र स्वीकार गरिएको” समूह बनेको बताएका छन् ।

दक्षिण कोरियाको कानुन अनुसार, ५ अर्ब वोन वा सोभन्दा बढी अवैध आम्दानी गरेको ठहरिएमा पाँच वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ ।

बाङ सि-ह्युक को हुन् ?

बाङ सि-ह्युकको संगीतप्रतिको रुचि बाल्यकालदेखि नै सुरु भएको हो । उनले माध्यमिक विद्यालयमा आफ्नै लेखेका गीत प्रस्तुत गर्ने ब्यान्डमा सहभागिता जनाएका थिए । विश्वविद्यालय जीवनबाटै उनको गीत लेख्ने यात्राले पनि गति लिएको थियो ।

सन् १९९७ मा उनले गायक तथा गीतकार पार्क जिन-यङसँग मिलेर जेवाईपी इन्टरटेनमेन्ट स्थापना गरेका थिए । हाइबजस्तै, जेवाईपी आज के-पपका चार ठूला कम्पनीमध्ये एक मानिन्छ । बाङ र पार्कको सुरुआती सफलतामध्ये पहिलो पुस्ताको समूह ‘जिओडी’ थियो । यसले उनीहरूलाई सफल संगीत सिर्जनाकर्ताको रूपमा स्थापित गर्‍यो । यही सफलतापछि बाङलाई ‘हिटम्यान बाङ’ भन्ने उपनाम दिइयो ।

सन् २००५ मा उनले जेवाईपी छाडेर आफ्नै कम्पनी ‘बिग हिट इन्टरटेनमेन्ट’ स्थापना गरे, जुन अहिले हाइबको रूपमा चिनिन्छ । सन् २०१० देखि उनले सात सदस्यीय ब्वाइ समूह तयार गर्न थालेका थिए । तर अहिलेको बीटीएस बन्न केही वर्ष लागेको थियो ।

सुरुमा यो समूह हिप-हप समूहका रूपमा सोचिएको थियो । तर सन् २०१९ मा ‘टाइम’सँगको अन्तर्वार्तामा बाङले व्यावसायिक अवस्थालाई ध्यानमा राख्दै यसलाई ‘के-पप आइडल मोडेल’मा रूपान्तरण गर्ने निर्णय गरेको बताएका थिए ।

स्थापनापछि बितेका वर्षहरूमा बीटीएस इतिहासकै सबैभन्दा सफल पप समूहमध्ये एक बनेको छ । यो समूह अमेरिकी ‘बिलबोर्ड हट १००’ सूचीको शीर्ष स्थानमा पुग्ने पहिलो कोरियाली समूह बनेको थियो । साथै ‘स्पोटिफाइ’मा पाँच अर्बभन्दा बढी पटक सुन्ने पहिलो एसियाली समूहसमेत बनेको छ ।

बिग हिट इन्टरटेनमेन्टका सेयर सन् २०२० को अक्टोबरमा प्रति सेयर २३५ डलरमा सूचीकृत भएका थिए, जुन प्रारम्भिक सार्वजनिक प्रस्तावको ११० डलर मूल्यभन्दा दोब्बरभन्दा बढी थियो ।

सन् २०१९ मा ब्लूमबर्गले बाङको कुल सम्पत्ति करिब ७७० मिलियन डलर आँकलन गरेको थियो । त्यसयता उनको सम्पत्ति बढ्दै दुई अर्ब डलरभन्दा माथि पुगेको छ । पछिल्लो महिनासम्म बाङसँग हाइबका १ करोड ३० लाखभन्दा बढी सेयर रहेको र यसको मूल्य करिब ५ खर्ब वोन पुगेको कोरिया सिएक्सओ अनुसन्धान संस्थानले जनाएको छ ।

दक्षिण कोरियामा सेयर बजार हेरफेरमाथि कडाइ

दक्षिण कोरियामा सेयर हेरफेर लामो समयदेखि देखिँदै आएको समस्या हो । यसलाई नियन्त्रण गर्न सरकारी निकायहरूले पछिल्लो समय कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । पहिले यस्ता अवैध कारोबारमा संलग्न व्यक्तिलाई चेतावनी वा प्रशासनिक जरिवानाजस्ता हल्का सजाय मात्र दिइन्थ्यो । तर राष्ट्रपति ली जे म्युङले अब कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

गत अगस्टमा राष्ट्रिय वित्तीय नियामक निकाय र कोरियाली सेयर बजारका अधिकारी मिलेर नयाँ टोली गठन गरिएको छ । यो टोलीले अवैध सेयर कारोबारका गतिविधिमाथि अनुसन्धान गर्ने काम गरिरहेको छ । यस टोलीले ‘एक पटक गल्ती, सिधै कारबाही’ भन्ने नीतिअनुसार काम गर्छ । अवैध गतिविधिमा प्रयोग भएका खाता तुरुन्त निलम्बन गरिन्छ । यस्ता काममा संलग्न व्यक्तिलाई उनीहरूले कमाएको अवैध आम्दानीको दोब्बरसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि पनि सेयर हेरफेरसम्बन्धी छुट्टाछुट्टै मुद्दामा केही उच्च प्रोफाइल व्यक्तिहरू मुछिएका थिए । यसमा स्यामसङका अध्यक्ष ली जे-योङ, काकाओका संस्थापक किम बोम-सु र पूर्व प्रथम महिला किम क्योन-ही पनि परेका थिए। तर अन्ततः उनीहरू सबै आरोपबाट सफाइ पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?