+

ब्याटिङ ‘कोल्याप्स’ हुँदा नेपाल ए ओमानसँग पराजित

२०८३ वैशाख  ९ गते १७:३६ २०८३ वैशाख ९ गते १७:३६

नेपाल एक समय १७७-२ को बलियो अवस्थामा थियो । त्यहाँबाट ३३ रन जोड्दा ८ विकेट गुमायो ।

ब्याटिङ ‘कोल्याप्स’ हुँदा नेपाल ए ओमानसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमानले नेपाल ए सँगको अभ्यास एकदिवसीय खेल ७० रनले जितेको छ, ओमानले दिएको २८१ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन।
  • नेपाल ए को ब्याटिङ मध्यक्रम र तल्लोक्रम कमजोर हुँदा २१० रनमा अलआउट भयो र खेलमा पराजित भयो।
  • ओमानका कप्तान जतिन्दर सिंहले लिग २ का लागि आफूहरू तयार रहेको र धेरै लेफ्ट आर्म स्पिनर रहेको बताए।

९ वैशाख, काठमाडौं । नेपालमा लिग २ खेल्न आएको ओमानको टोलीले नेपाल ए सँगको अभ्यास एकदिवसीय खेल जितेको छ ।

बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमान ७० रनले विजयी भयो । ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ए २१० रनमा अलआउट भयो ।

ब्याटिङका लागि राम्रो मानिएको पिचमा नेपाल ए को टोलीले राम्रो सुरुवात गरेपनि मध्यक्रम र तल्लोक्रम ब्याटिङ चल्न नसक्दा नेपाल पराजित भयो ।

खेलअघि टसमा ओमानका कप्तान जतिन्दर सिंह र नेपाल ए का कप्तान अनिल साह दुवैले पिच ब्याटिङका लागि राम्रो भएको उल्लेख गर्दै पिचमा राम्रो स्कोर बन्न सक्ने बताएका थिए ।

जतिन्दरले २५० भन्दा माथिको योगफल बनाए सहज हुने बताएका थिए । यस्तै स्पीन डोमिनेटिङ पिच हुने बताएका थिए । अनिलले भने सक्दो कम रनमा समेटेर लक्ष्य पूरा गर्ने बताएका थिए । तर ओमानले बलियो योगफल खडा गर्दा नेपाल ए को टोलीले भने लक्ष्य पूरा गर्न सकेन ।

‘ओमानका लागि लिग २ को तयारी भएपनि नेपालका लागि यो खेल तयारीभन्दा ठूलो छ, लिग २ का लागि मेन्टालिटी सेटको कुरा पनि हुन्छ’ अनिलले टसमा भनेका थिए ।

यो खेल अभ्यास एकदिवसीय थियो, अर्थात् टिमका १४ जना सदस्यले नै आफ्नो रोल अनुसार खेल्न पाइने प्रावधान रहेको थियो । त्यसअनुसार नेपालले ब्याटिङमा सबै ब्याटर र बलिङमा सबै बलर प्रयोग गर्न पाउने थियो, प्लेइङ ११ बनाएर खेल्नुपर्ने बाध्यकारी थिएन ।

त्यसैअनुसार नेपाल ए मा पीएम कपका शानदार प्रदर्शन गरेका खेलाडीहरू समावेश गर्दै टोली तयार गरेको थियो ।  तर ब्याटिङ कोल्याप्स हुँदा नेपाल पराजित हुन पुग्यो ।

ओमानको बलियो योगफल

टस जितेर ब्याटिङ रोजेको ओमानले राम्रो सुरुवात गरेको थियो । कप्तान जतिन्दर सिंह र आशिष ओडेरा मिलेर ७९ रनको साझेदारी गरेका थिए ।

जतिन्दर ५८ रन बनाएर आउट भए भने आशिष २७ रनमा आउट भए । त्यसपछि हम्माद मिर्जा ५ रनमै आउट भएपछि ओमान ९४-३ को अवस्थामा पुगेको थियो ।

त्यहाँ नेपाली बलरलाई पुनरागमनको मौका बनेको थियो तर त्यसपछि मुजिबुर अली र हाशिर दाफेदार मिलेर शानदार साझेदारी गरे । मुजिबुरले ७२ अनि दाफेदारले ४६ रन बनाउँदा ओमानले चौथो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए ।

त्यसपछि विनायक शुक्लाले २५ तथा जितेन रामानन्दीले १७ रन बनाएर योगफल २८० सम्म पुर्‍याउन मद्दत गरे । नेपालले मिडल ओभरमा विकेट लिन नसक्नु पनि हारको एउटा कारण बन्यो ।

खेलपछि नेपाल ए का कप्तान अनिल साहले सुरुमा रन धेरै गएको र पछि नियन्त्रणमा आउन नसकेको उल्लेख गरे । ‘डेथमा भन्दा पनि सुरुमा रन धेरै गएजस्तो लाग्छ, किनभने बलरलाई हेल्प हुन सक्छ भनेर सोचेका थियौं । रनहरू लिक भयो । उनीहरूको पार्टनरसिप पनि पछि राम्रो भयो’ अनिलले खेलपछि भने ।

अनिलले सुरुमा ३०० रन भन्दा माथि कट्ने डर भएपनि पछि २८० रनमै रोक्दा समग्र टिम खुसी रहेको समेत अनिलले उल्लेख गरे ।

ब्याटिङ कोल्याप्स

नेपाल एक समय १७७-२ को बलियो अवस्थामा थियो । क्रिजमा देव खनाल र इशान पान्डे क्रिजमा थिए । लेफ्ट राइट कम्बिनेशनमा राम्रो साझेदारी बनाएपनि त्यहाँबाट नेपाल ए ले लगातार विकेट गुमायो ।

नेपाल ए ले त्यसपछि १७७-३, १८८-४, १८९-५ हुँदै २०१-८ को खराब अवस्थामा पुगेको थियो । त्यसपछि ९ रन जोड्दा बाँकी २ विकेट पनि गुमायो । नेपालले ३३ रन जोड्दा ८ विकेट गुमायो । ब्याटिङ कोल्याप्स नै भयो ।

ओपनर अनिल साहले ५० अनि तृतराज दासले ३१ रन बनाउँदै पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । अनिल आउट भएपछि तृतराज दास आउट हुँदा नेपाल ९१-२ को अवस्थामा थियो । देव र इशानले ८६ रनको साझेदारी गरेका थिए ।

इशान ५२ अनि देव खनाल ४३ रनमा आउट भए । त्यसपछिका ब्याटर क्रिजमा टिक्नै सकेनन् । सन्दीप जोरा ११, कुशल मल्ल १, सन्तोष यादव शून्य अनि राशिद खान पनि १ रनमा आउट भए ।

कप्तान अनिलले शीर्ष ४ ब्याटरले जिम्मेवारी अझै धेरै लिन सकेको भए जित निकाल्न सकिने बताए । ‘हामी क्यालकुलेसनमा चुक्यौं कि जस्तो लाग्यो । एक समय रन अ बल चाहिएको थियो । एकजना ब्याटर ४०-४५ ओभरसम्म जाने खालको योजना थियो त्यो सफल हुन सकेन’ अनिलले भने ।

गेम फिनिस गर्ने कुरामा सधैं मिडल अर्डर मात्र नभएर टप अर्डरले पनि जिम्मेवारी लिनुपर्ने कुरामा अनिलले जोड लिए । ‘सेट ब्याटरले पनि फिनिस गर्न सक्नुपर्छ वान डे गेममा’ अनिलले भने ।

यता ओमानका कप्तान जतिन्दरले भने नेपाल राम्रो टिम भएको उल्लेख गरे । जतिन्दरले लिग २ का लागि आफूहरू तयार रहेको समेत बताए । ‘हामीसँग धेरै लेफ्ट आर्म स्पीनर छन् । हामी लिग २ का लागि पनि तयार छौं’ जतिन्दरले भने ।

ओमान क्रिकेट नेपाल ए क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय