News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेह प्रदेशका विभिन्न कार्यालयका १२ जना कर्मचारीको सरुवा गरेको छ, तर उनीहरूले अझै रमाना नबुझेका छन्।
- मधेश सरकारको मुख्यमन्त्री कार्यालयले सरुवा सम्बन्धी पत्राचार गरी रमाना बुझ्न ताकेता गरेको छ, तर कर्मचारीहरू जिम्मेवारीमा निरन्तर छन्।
- स्वास्थ्य मन्त्रालयका चिकित्सक डा. राजीवकुमार झा लगायतका कर्मचारीको काज फिर्ता र सरुवा भएको पनि उनीहरूले रमाना नबुझेको मन्त्रालयले जनाएको छ।
१० वैशाख, जनकपुरधाम । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ २ गते मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय, बारामा कार्यरत प्रमुख (राजपत्राङ्कित तृतीय श्रेणी) इन्जिनियर राजेन्द्र साहको सरुवा गरेको थियो ।
सहरी विकास मन्त्रालयअन्तर्गत उनको सरुवासम्बन्धी पत्रसहितको जानकारी सामान्य प्रशासन मन्त्रालयले गराउँदै मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सूचित गरेको थियो । तर, इन्जिनियर साहले अझैसम्म रमाना बुझेका छैनन् । पूर्वाधार कार्यालय बाराकै प्रमुखको जिम्मेवारी सम्हालेर बसेका छन् । उनी वर्षौँदेखि सोही कार्यालयमा कार्यरत छन् ।
यसैगरी, पूर्वाधार विकास कार्यालय रौतहटमा प्रमुखका रूपमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर (राजपत्राङ्कित द्वितीय श्रेणी) दीपककुमार मिश्रको पनि माघ ४ गते सरुवा गरिएको थियो । सामान्य प्रशासन मन्त्रालयले उनलाई सहरी विकास मन्त्रालय वा अन्तर्गतका निकायमा सरुवा गर्दै मुख्यमन्त्री कार्यालयमा जानकारी गराएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुवै कर्मचारीलाई सम्बन्धित भौतिक पूर्वाधार मन्त्रालयमार्फत सरुवासम्बन्धी जानकारी गराएको छ र रमाना बुझ्न ताकेता गरेको छ । तर, दुवै कर्मचारी अझैसम्म कार्यालय प्रमुखकै जिम्मेवारीमा छन्, रमाना बुझेर जान मानेका छैनन् ।
भौतिक पूर्वाधार मन्त्रालयका निमित्त सचिव सञ्जयकुमार साहका अनुसार मुख्यमन्त्री कार्यालयबाट सरुवाको जानकारी प्राप्त हुनासाथ सम्बन्धित कर्मचारीलाई रमाना बुझ्न पत्राचार गरिसकिएको छ । ‘मन्त्रालयले सम्बन्धित कर्मचारीलाई पत्र लेखेर जानकारी दिँदै रमाना बुझ्न भनेको छ, तर उहाँहरूले अहिलेसम्म रमाना बुझ्नुभएको छैन,’ उनले भने ।
यी दुई कर्मचारी मात्र होइनन्, यसै मन्त्रालय मातहतका अन्य कर्मचारी पनि सरुवा नमान्ने सूचीमा छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस २८ गते आठ जना इन्जिनियरको सरुवा गरेको थियो । सरुवा हुने नामावलीमा मन्त्रालयका इन्जिनियरहरू वीरेन्द्रप्रसाद साह, सञ्जीवकुमार साह, लालबाबु राय, रामबाबु प्रसाद, रिम्पुकुमारी यादव, अनन्तकुमार राउत, रामसागर मण्डल र गुलाबु साहु छन् ।
उनीहरूको सरुवासम्बन्धी जानकारी मुख्यमन्त्री कार्यालयमार्फत भौतिक पूर्वाधार विकास कार्यालयहरूलाई पठाइएको छ । तर उनीहरूले समेत अहिलेसम्म रमाना बुझेका छैनन् ।
‘सम्बन्धित कार्यालयहरूमा रमाना प्रक्रिया अघि बढाउन हामीले पत्र पठाइसकेका छौँ, तर उहाँहरूले अझैसम्म रमाना लिनुभएको छैन,’ उनले भने । कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री कृष्णप्रसाद यादवको मौखिक निर्देशनमा चालु आर्थिक वर्षको असार मसान्तसम्म सरुवा भइसकेका कर्मचारीलाई नै निरन्तरता दिन खोजिएको छ ।
यो मन्त्रालयभन्दा भिन्न छैन मधेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका चिकित्सक कर्मचारीको अवस्था । मधेशको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रका प्रमुख डा. राजीवकुमार झाको काज सङ्घीय सरकारले चैत २२ गते फिर्ता गर्यो । वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट (दसौँ तह) डा. झालाई नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनको दरबन्दी रहेको कोसी अस्पताल, विराटनगरमा काज फिर्ता गरेको हो ।
यसबारे मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जानकारी गराइसकेको छ । तर, मङ्गलबारसम्म पनि डा. झाले रमाना बुझेका छैनन् । उनी स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रसँगै जनस्वास्थ्य प्रयोगशालाको पनि प्रमुखको जिम्मेवारीमा छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद यादवले डा. झाको काज फिर्तासम्बन्धी पत्र मन्त्रालयमा नआएको बताए । ‘अहिलेसम्म काज फिर्ताको पत्र आएको छैन, आएपछि सोहीअनुसार कार्यान्वयन हुन्छ,’ उनले भने ।
यति मात्र होइन, सङ्घीय सरकारअन्तर्गत स्वास्थ्यतर्फका कन्सल्टेन्ट फिजिसियन (दसौँ तह) तथा लहान प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित झाको दरबन्दी भएको वीर अस्पतालमा सरुवा भइसकेको छ । प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. रामदेव चौधरीलाई दरबन्दी रहेको कोसी अस्पतालमा सरुवा गरिएको छ । तर, यी दुवैले पनि अझैसम्म रमाना नबुझेको मन्त्रालयले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत रौतहटको पर्यटन कार्यालयमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियर कमलेशकुमार मिश्रको गत चैत २४ गते सरुवा गरेको थियो । उनको जिल्ला समन्वय समितिको कार्यालय, सोलुखुम्बुमा सरुवा भएको हो । तर, उनले पनि अझैसम्म रमाना बुझेका छैनन् । मन्त्रालयका सचिव जयकुमार घिमिरेका अनुसार इन्जिनियर मिश्र रमाना बुझ्ने प्रक्रियामा छन् । ‘उहाँ रमाना बुझ्ने प्रक्रियामा हुनुहुन्छ,’ सचिव घिमिरेले भने ।
मधेशमा उपल्लो तहका तथा पहुँच भएका कर्मचारीहरूले सरुवा सहजै नमान्ने, रमाना लिन आनाकानी गर्ने र पुनः आफूलाई अनुकूल पर्ने स्थानमै बस्न खोज्ने पुरानै प्रवृत्ति छ । त्यसका लागि मुख्यमन्त्रीदेखि मन्त्रीलाई रिझाउनुका साथै आवश्यक पर्ने सबै उपाय अपनाउन पनि पछि नपर्ने देखिन्छ ।
नयाँ सरकार बनेसँगै यस्तो अभ्यास रोकिने अपेक्षा रहे पनि वालेन्द्र शाह नेतृत्वको सरकारले गरेको सरुवा तथा काज फिर्ता निर्णयसमेत मधेशमा अटेर हुने गरेको पछिल्ला यी घटनाहरू उदाहरण हुन् ।
नेपाल सरकार मात्र होइन, मधेश सरकारले गर्ने आफ्ना कर्मचारीको सरुवामा पनि त्यही रोग छ । सरुवा र काज फिर्ता पहुँचवाला कर्मचारीले मान्दैनन् । पहुँच नभएका र मन्त्रीका कुरा नमान्ने कर्मचारीलाई जिम्मेवारीविहीन राख्ने, असम्बन्धित कर्मचारीलाई जिम्मेवारी दिने, सरुवामा समस्या सिर्जना गर्ने कैयौँ घटना बाहिरिसकेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता, उपसचिव रोहित कोइरालाका अनुसार सङ्घीय सरकारले सरुवा गरेका तथा काज फिर्ता गरेका कर्मचारीबारे सम्बन्धित मन्त्रालयहरूलाई पत्राचार गर्ने गरिएको छ ।
‘सङ्घीय सरकारबाट प्राप्त पत्रका आधारमा मुख्यमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालयलाई पत्र पठाएर कार्यान्वयनका लागि जानकारी गराउने र ताकेता गर्ने काम हुँदै आएको छ,’ उनले भने, ‘तर पछिल्ला १२ जना कर्मचारीको हकमा के भयो भन्नेबारे अहिलेसम्म कुनै मन्त्रालयबाट जानकारी आएको छैन ।’
मधेशमा काम गर्नेभन्दा मुख्यमन्त्री र मन्त्रीका अघिपछि लाग्ने र उनीहरूको स्वार्थअनुसार काम गरिदिने कर्मचारीको रजगज छ । त्यहीअनुसार व्यक्तिहरूको अनुकूलतामा कार्यालय ताकेर कर्मचारीको व्यवस्थापन गर्ने गरिएको छ ।
प्रतिक्रिया 4