News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको राजविराजमा कोष तथा लेखा नियन्त्रण कार्यालयको २ कठ्ठा १४ धुर जग्गा अतिक्रमणमा परेको छ र नगरपालिकाले हटाउन चासो दिएको छैन।
- कोलेनिकाले गत पुस ३० मा अतिक्रमित घर टहरा हटाउन पत्राचार गरेको भए पनि नगरपालिकाले प्रक्रिया सुरु गरेको छैन।
- कार्यवाहक नगरप्रमुख इसरत परविनले पत्र प्राप्त भएको र पालिकाले चाँडै टुङ्गो लगाउने बताउनुभयो।
११ वैशाख, सप्तरी । सप्तरीको राजविराजमा अति व्यस्त ठाउँको रूपमा परिचित नेता चोकको छेउँमै रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)को २ कठ्ठा १४ धुर जग्गा अतिक्रमणमा परेको छ । कोलेनिकाले जग्गा खाली गराइदिन ताकेता गर्दा पनि राजविराज नगरपालिकाले चासो दिएको छैन ।
नगरपालिकालाई अतिक्रमित संरचना हटाइदिन आग्रह गर्दै पत्राचार गरेको ३ महिनाभन्दा बढी भइसक्दा पनि चासो नदेखाएपछि पुन: ताकेता गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीले जनाएको छ ।
२२ मंसिर २०८२ मा भएको निर्णयअनुसार जग्गाको स्वामित्व कायम रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरीले गत पुस ३० मा पत्राचार गर्दै अतिक्रमित जग्गामा रहेको घर टहरा हटाउन खाली गराइदिन नगरपालिकालाई आग्रह गरेको थियो । तर, नगरपालिकाले अझसम्म घर टहरा हटाउन प्रक्रियासम्मै सुरू गरेको छैन ।
त्यसैले कोलेनिका प्रमुख मनोजकुमार सुनुवारले गत बुधबार फेरि पत्राचार गर्दै यथासम्भव चाँडै कारबाही प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेका हुन् । ‘हालसम्म के कति प्रगति भएको हो ? कुनै जानकारी प्राप्त नभएकाले पुन: यो पत्र लेख्ने काम भएको छ र हालसम्म भएको प्रगतिसमेत जानकारी गराइदिनु हुन अनुरोध छ,’ पत्रमा उल्लेख छ ।
जग्गाधनी स्रेस्ताअनुसार राजविराज नगरपालिका साविक वडा नम्बर ७ (हाल ६) को कित्ता नम्बर ९० मा ६ कठ्ठा ६ धुर जग्गा कोलेनिकाको नाममा छ । तर, सोही जग्गामध्ये दक्षितर्फबाट २ कठ्ठा १४ धुर जग्गा स्वर्गीय जगदिश झाले ११ फागुन २०५४ देखि घर टहरा निर्माण गरेर अतिक्रमण गरेको विवरण छ ।
कोलेनिकाले चलानी नम्बर २७२ मा नगरपालिकालाई लेखेको पत्रमा त्यस विषयमा छानबिन हुँदा तत्कालीन भ्रष्टाचार नियन्त्रण शाही आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती सरकारी सम्पत्तिको संरक्षण गर्न उल्लेख गरेको छ ।
सोही आधारमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको संयोजकत्वमा बसेको बैठकबाट पनि निर्णय गरेर आवश्यक कागजात नगरपालिकालाई पठाएको हो । तर, निर्णय भएको ४ महिनाभन्दा बढी भइसक्दा पनि नगरपालिकाको चासो देखाएको छैन ।
यता राजबिराज नगरपालिकाको कार्यवाहक नगरप्रमुख इसरत परविनले कोलेनिकाको पत्र प्राप्त गरेको भन्दै पालिकाका बैठक बसेर सो विषय चाँडै टुङ्गो लगाउने बताइन् ।
प्रतिक्रिया 4