+

कुमार बेनका दाजुले चलाउँदै छन् खेलकुद मन्त्रालय

२०८३ वैशाख  ११ गते १३:४१ २०८३ वैशाख ११ गते १३:४१

मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनका दाजु सिद्धि व्यन्जनकारलाई खेलकुद मन्त्रालयको प्रमुख सल्लाहकार नियुक्त गरेका छन् । तिनै सल्लाहकारले खेलकुदतर्फको काम मन्त्रीसरह नै गरिरहेका छन् ।

कुमार बेनका दाजुले चलाउँदै छन् खेलकुद मन्त्रालय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धि व्यञ्जनकारसहितको टोलीले खेलकुद मन्त्रालयको तर्फबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ‘राष्ट्रिय टिम तयारी’ निरीक्षण गरेको थियो।
  • राखेपले बजेट अभावका कारण रोकिएको एसियाली खेलकुद तयारी प्रशिक्षण पुनः सुरु गर्न टोलीले निर्देशन दिएको छ।
  • खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदमा कम समय बिताएको र सचिवालयका सल्लाहकार सिद्धिले मन्त्रालयको काम अगाडि बढाइरहेको बताएका छन्।

११ वैशाख, काठमाडौं । सिद्धि व्यञ्जनकारसहितको टोली गत सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सञ्चालन भएको ‘राष्ट्रिय टिम तयारी’ पुग्यो । शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल बिना नै सिद्धिसहितको टोली खेलकुद मन्त्रालयको तर्फबाट उक्त निरीक्षणमा पुगेको थियो ।

आगामी असोज ३ गतेदेखि जापानमा हुने २०औं एसियाली खेलकुदको तयारीका लागि राखेपले २०८० माघ १५ बाट सुरु भएको मिसन–२०२६ बजेट अभावका कारण माघ मसान्तदेखि रोकिएको छ ।

सो प्रशिक्षणको निरीक्षणमा पुगेको टोली रोकिएको विषयमा अनविज्ञ थियो । ‘उहाँहरू निरीक्षणमा आउनुभएको थियो । हामीले बजेट माग गर्दा उहाँहरूले ‘चलिराखेको छैन र’ भन्नुभयो । उहाँहरू प्रशिक्षण रोकिएकोमा जानकार हुनुहुन्न रहेछ,’ स्रोतले भन्यो ।

त्यसपछि उनीहरू राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुगे । राखेप सदस्य सचिव रामचरित्र मेहतालाई ‘किन यो रोकिएको ?’ भन्दै प्रश्न गरे । तत्कालै प्रशिक्षण सुरु गर्न उनीहरूले निर्देशन पनि दिए । टोलीमा सिद्धि व्यञ्जनकार, राजु सिंहसहितका व्यक्तिहरू थिए ।

खेलकुद मन्त्रीको सचिवालयकाअनुसार मन्त्री पोखरेलले सिद्धिलाई प्रमुख सल्लाहकारको रुपमा नियुक्त गरेका छन् । सिद्धि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार कुमार वेनका दाइ हुन् । उनीबाहेक मन्त्रीको सचिवालयमा निशम महर्जन प्रमुख स्वकीय र राजु सिंह युवा विकास, अनुगमन तथा मुल्यांकन सल्लाहकारको रुपमा नियुक्त भएका छन् ।

बिहीबार दिउँसो मन्त्रालय पुग्दा मन्त्रीको कार्यकक्ष खाली थियो । प्रमुख सल्लाहकार सिद्धिसहितको टोलीमा सचिवालयको कार्यकक्षमा थिए ।

खेलकुद मन्त्रीको जिम्मेवारीमा सस्मित छन् । तर, निरीक्षणदेखि निर्देशनसम्मको नेतृत्व सिद्धि व्यञ्जनकारले नै गर्दै आएका छन् । खेलकुदका बजेट विनियोजनदेखि खेलाडी बिदाईसम्मका काममा सिद्धिले नै खेलकुद मन्त्रालयको तर्फबाट काम गर्दै आएका छन् । आफुसँग भेटिनेलाई सिद्धिले भन्दै आएका छन्– ‘सस्मितले दाइ म शिक्षा हेर्छु, तपाईं खेलकुद हेर्दिनु न भनेका छन् ।’

खेलकुदमा केही समस्या आए प्रधानमन्त्री बालेन्द्र शाहले प्रमुख सल्लाहकार कुमार बेनलाई भन्छन् । कुमारले आफ्ना दाइ सिद्धि व्यञ्जनकारलाई भन्छन् । सिद्धिले नै जिम्मेवारी लिएर काम अगाडि बढाउँछन् ।

कर्मचारीलाई निर्देशन दिनेदेखि खेलकुदमा देखिने विषयको लेखाजोखा उनै सिद्धिले नै गर्दै आएका छन् । सल्लाहकारले सल्लाह दिने हो कि निर्देशन भन्ने अनलाइनखबरको प्रश्नमा सिद्धि अलमलिए । उनले भने, ‘अब खेलकुदमा जे जस्तो अवस्था छ संवाद गरेर जाने हो ।’

जुन बेला आफ्नो आश्वयकता पर्छ, त्यहिँ बेला मन्त्रालय जाने गरेको सिद्धिले बताए । खेलकुद मन्त्रालयले कसरी काम गरिरहेको छ भन्ने विषयमा उनले अहिले बोल्ने बेला नभएको प्रतिक्रिया दिए । मन्त्रीका सल्लाहकार राजु सिंहले आफुहरूले नै खेलकुदमा काम गरिरहेको जिकिर गरे । ‘उहाँ (मन्त्री)लाई हामीले किन ल्याएका छैनौं भने । यहाँ अरु केही कुरा हुँदैन । यहाँबाट के चाहियो भन्दा बजेट । त्यतिमात्र डिष्टर्व हुन्छ । हुने केही छैन । मिसन हामीले चलाइराखेका छौं ।’

सल्लाहकार सिंहले सल्लाहकारसहितको टोलीले बिहान ७ बजेदेखि राति ११÷१२ बजेसम्मै मन्त्रालय बसेर काम गर्ने गरेको बताए ।

सामान्यत सल्लाह, सुझाव दिनका लागि मन्त्रीले सल्लाहकार नियुक्ति गर्छन् । तर, सल्लाहकारको रुपमा नियुक्ति भएपनि सिद्धिले मन्त्रीको रुपमा खेलकुद मन्त्रालयमा काम गरिरहेको खेलकुदकर्मीहरू बताउँछन् ।

राखेपका सदस्य सचिव रामचरित्र मेहताले सिद्धि व्यञ्जनकारबाट निर्देशनहरू आउने गरेको स्वीकार गरे । ‘मन्त्रालयको सल्लाहकार भएको हिसाबले केही कुरा भन्नुहुन्छ । दबाब दिने त्यस्तो केही छैन । हाम्रो कामलाई सपोर्ट नै गर्ने हिसाबले उहाँहरू अगाडि बढ्नुभएको छ,’ उनी भन्छन् ।

खेलकुदमा छैन मन्त्रीको ध्यान

नियुक्त भएको करिब एक महिना हुनै लाग्दा खेलकुद मन्त्री पोखरेल धनगढीको फाप्ला क्रिकेट मैदान पुगेर ब्याटिङ गर्नेबाहेक खेलकुदमा खासै काम गरेको देखिँदैन । कतिसम्म भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निरीक्षणमा पुगेका मन्त्री पोखरेलले सम्बोधनका क्रममा अधिकांश समय शिक्षालाई नै जोड दिए ।

खेलकुदमा उनको एक महिनाको उपलब्धी राखेप निरीक्षण, एसियन बीच गेम्समा सहभागिता हुने कबड्डी र कुस्ती टोलीलाई बिदाई तथा फाप्ला क्रिकेट मैदानमा पुगेर ब्याटिङ र बलिङ गरेको मात्र देखिन्छ ।

शिक्षा मन्त्रालयसँग जोडिएका कारण उनी अधिकांश समय खेलकुदभन्दा शिक्षा मन्त्रालयमै समय दिने गरेका छन् । जसलाई उनको अफिसियल सामाजिक सञ्जालमा पोष्ट गरिएको सामग्रीले समेत पुष्टि गर्छ ।

एसईई परीक्षा दिने विद्यार्थीलाई शुभकामना र सकिएपछि बधाई दिएका मन्त्री पोखरेलले कराते वान प्रिमियर लिग २०२६ मा रजत पदक जितेकी एरिका गुरुङलाई बधाईसमेत दिएनन् । सामाजिक सञ्जालमा आलोचना भइसकेपछि अहिले एरिकालाई सम्मान गर्ने मन्त्रालयको तयारी छ ।

मन्त्रीले खेलकुद मन्त्रालयमा हालसम्म लामो समय नबिताएको खेलकुद मन्त्रालयका एक कर्मचारी बताउँछन् । ‘नियमित गतिविधि मात्र भइराखेका छन् । विशेष त्यस्तो भएको छैन,’ ती कर्मचारीले भने, ‘काठमाडौं भएको बेला आवश्यकताअनुसार १÷२ घन्टा आउनुहुन्छ । लामो समय बिताउनुभएको छैन ।’

पोखरेलले शिक्षा मन्त्रालयमा मात्रै ध्यान दिएर खेलकुदलाई उपेक्षा गरेको धेरैको बुझाई छ । राखेपका एक बोर्ड सदस्य भन्छन्, ‘अहिलेको खेलकुद मन्त्रीले खेलकुदमा ५ मिनेट पनि समय दिन सक्नुभएको छैन ।’

खेलकुद मन्त्रालय बालेन शाह सस्मित पोखरेल सिद्धि व्यञ्जनकार
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय