News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले काठमाडौंका थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रबाट हटाइएका सुकुमवासीलाइ १५ दिनभित्र स्थायी बसोवासको व्यवस्था गर्ने भएको छ।
- सुकुमवासीलाई शनिबार र आइतबार तीन नयाँ स्थानमा सार्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरलाई बताएको छ।
- वास्तविक र अवास्तविक सुकुमवासी छुट्याउने कार्य १५ दिनमा सकिने र वास्तविकलाई स्थायी बसोवास दिने योजना छ।
१० वैशाख, काठमाडौं । काठमााडौंका तीन स्थानबाट हटाइएका ‘वास्तविक सुकुमवासी’लाई सरकारले १५ दिनपछि स्थायी बसोवासको व्यवस्था मिलाउने भएको छ ।
थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा बसेका सुकुमवासीलाई शनिबार र आइतबार तीन स्थानबाट अस्थायी बसोबास हुने गरी सार्ने भएको छ ।
प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरकारले पूर्व तयारी गरेर मात्रै सुकुमवासीलाई सार्न लागेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरलाई भन्यो,‘सुकुमवासीलाई विना तयारी सार्न लागेको जस्तो गरेर समाचार आएका छन् । त्यसमा सत्यता छैन । व्यवस्थित रुपमा सार्ने तयारी भएको छ ।’
शुक्रबार साँझसम्म बसोबास गरिरहेको स्थान छोड्नका लागि सुरक्षाकर्मीले हिजो साँझ माइकिङ गरेर आग्रह गरेको छ । सरकारले तीन स्थानबाट सुकुमवासीहरु हटाउने भएपछि कतिपय शुक्रबार बिहान देखि नै उक्त स्थान छोड्न सुरु गरेका छन् । अन्यत्र घर– जग्गा भएका तर सुकुमवासी हुँ भन्दै गरेकाहरु छोड्न सुरु गरेको सरकारी पक्षको बुझाई छ ।
‘वास्तविक सुकुमवासी छन् । सुकुमवासी हुँ भन्दै बस्ने घर जग्गा भएकाहरु पनि छन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्छ, ‘वास्तविक सुकुमवासीहरुलाई यथोचित व्यवस्था गर्छौं । सुकुमवासीको नाममा बस्नेलाई हटाउने नै हो ।’

शनिबार र आइतबार ती स्थानबाट सारिएका सुकुमवासीलाई काठमाडौंका फरक फरक तीन ठाउँमा राखिने भएको छ । हाल बसोबास गरेको स्थानमा भन्दा बस्न र खानाको लागि राम्रो व्यवस्था गरेर सार्न लागिएको प्रधानमन्त्री कार्यालयले दाबी गरेको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार सारिएका सुकुमावासीको लगत संकलन राखिएकै स्थानबाट हुनेछ । लगत संकलनको कार्य भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गर्ने भएको छ ।
वास्तविक र अवास्तविक सुकुमवासी छुट्याउने कार्य १५ दिनमा सकिने प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ । ‘लगत संकलनपछि जसको भूमि, घर केही छैन उनीहरुको स्थायी बसोबासको व्यवस्था सरकारले गर्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,‘लालपुर्जा भए/नभएको निश्चित गरेर सुकुमवासीको हितमा सरकारले काम गर्छ ।’
सुकुमवासीबस्ती खालि गराउन लागेपछि त्यहाँ बसोबास गर्नेहरु भयभित बनेका छन् । कतिपय सुकुमवासीले सरकारले खालि गर्न बल प्रयोग गरे प्रतिवाद गर्ने बताइरहेका छन् । अर्कोतर्फ, अशक्त, वृद्ध, गर्भवती, अपाङ लगायतहरु थप चिन्तित बनेका छन् । प्रधानमन्त्री कार्यालयले कोही कुनै व्यक्ति भयभित नहुन आग्रह गरेको छ ।

‘अपाङ, गर्भवती, सुत्केरी, वृद्धलाई सुरक्षित तरिकाले अर्को स्थानमा सारिने छ । आत्तिनुपर्ने छैन,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,‘वास्तविक सुकुमवासी आत्तिनु पर्दैन ।’
विगतमा बनेका विभिन्न अध्ययन समितिको आधारमा सुकुमवासीबस्ती खालि गर्न लागिएको सरकारले जानकारी गराएको छ । खोलाको किनारमा सुकुमवासीहरु बस्दा उनीहरु बर्षातको बेलामा असुरक्षित हुनुको साथै सहरी सौन्दर्य पनि बिग्रेको सरकारी बुझाइ छ । विगतमा अध्ययन समितिहरूले सुकुमवासीबस्ती खाली गर्न दिएको सुझावको आधारमा सरकारले ती क्षेत्रहरु खालि गर्न लागेको सरकारी पक्षको भनाई छ ।
शनिबार र आइतबार सार्नुपर्ने सुकुमवासीको संख्या र उनीहरुलाई राखिने तीन स्थान निश्चित गर्ने क्रममा रहेको प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ ।
प्रतिक्रिया 4