११ वैशाख, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा प्रहरी हिरासतमा एक जना दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले प्रहरी नायब महानिरीक्षक(डीआईजी) दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
समितिको सदस्यमा प्रहरी प्रधान कार्यालय युएन शाखाका प्रहरी उपरीक्षक(एसपी)रविन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)का इन्सपेक्टर ईन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र प्रहरी नायब निरीक्षक(सई) राजेश्वर सापकोटा तोकिएका छन् ।
आईजीपी कार्कीले समितिलाई ७ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन समेत दिएका छन् ।
प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका दलबहादुर बिकका २३ वर्षीय छोरा श्रीकृष्ण बिक जवरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय खुर्कोटको न्यायिक हिरासतमा थिए । सोही क्रममा वैशाख ७ गते हिरासत कक्षको शौचालयमा आफ्नै सर्टले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको दाबी छ । त्यसपछि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले भनेको छ ।
तर, आफन्त र अधिकारकर्मीहरूले उनको मृत्युबारे शंका व्यक्त गरिरहेका छन् । केही जनप्रतिनिधिदेखि सांसदसमेतले प्रहरीको भूमिकामा सन्देश व्यक्त गरेर प्रदर्शन र दबाबका कार्यक्रम गरिरहेका छन् ।
यसरी दबाब बढ्दै गएपछि प्रहरीले छानबिन समिति बनाएको हो ।
प्रतिक्रिया 4