११ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर लाखौं सुकुमवासी भएको भन्दै अतिक्रमणकारी र सुकुमवासी छुट्याइने बताएका छन् ।
सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउँदैछ । भोलिबाट खाली गराउन तयारी अघि बढिरहँदा यसबारे विभिन्न प्रश्न पनि उठेका छन् ।
उता, सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका छन् ।
यसैबीच प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भनेका छन्, ‘देशभरका वास्तविक सुकुमवासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ ।’
काठमाडौंका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित रहेको पनि उनले उल्लेख गरेका छन् ।
हरेक वर्षको बाढीका कारण काठमाडौंका नदीकिनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य बिर्सिएको हो ? भन्दै उनले प्रश्न पनि गरेका छन् ।
‘यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु,’ उनले भनेका छन् ।
दुर्घटना आउनुभन्दा अघि नै त्यसबारे सोच्न उपयुक्त ठानेर सरकारले काम अघि बढाएको प्रधानमन्त्री शाहको भनाइ थियो ।
प्रतिक्रिया 4