News Summary
Generated by OK AI. Editorially reviewed.- आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको सिरिज शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
- नेपालले पहिलो खेल युएईसँग खेल्नेछ र मे ५ मा ओमनसँग सिरिजको अन्त्य गर्नेछ ।
- नेपाललाई लिग–२ को शीर्ष ४ मा रहँदै ओडीआई मान्यता जोगाउन आगामी १६ खेलमा जित आवश्यक छ ।
११ वैशाख, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको सिरिज शनिबारदेखि सुरु हुँदैछ ।
घरेलु मैदानमा हुने उक्त सिरिजमा नेपालले पहिलो खेल चिरप्रतिद्वन्दी युएईसँग खेल्नेछ । आउँदो बुधबार ओमन र शुक्रबार युएईसँग खेल्ने तालिका छ । यस्तै मे ५ मा ओमनसँग खेल्दै नेपालले उक्त सिरिजको अन्त्य गर्नेछ । यसअघि गत फागुनमा तय भएको उक्त सिरिज मध्यपूर्वको तनावका कारण स्थगित गरिएको थियो ।
लिग–२ मा कमजोर प्रदर्शन गरिरहेको नेपाललाई आगामी खेलहरु जित्नैपर्ने दबाब छ । २० खेल खेलिसकेको नेपाल १२ अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा छ ।
लिग–२ का पछिल्ला १० खेलमा नेपालले मात्र ३ खेलमा मात्रै जित निकालेको थियो । ६ खेलमा हार बेहोर्दा एक खेल नतिजाविहीन हुन पुग्यो । लिग–२ अन्तर्गत यसअघि भएको अमेरिका र युएईसँग सिरिजमा नेपाल ४ वटै खेलमा पराजित भएको थियो । उक्त सिरिजमा नेपाल बलिङ, ब्याटिङ र फिल्डिङ कुनै पनि चल्न नसक्दा नेपाल हारको भागिदार बन्न पुग्यो ।
नेपाल करिब ५ महिनापछि ओडीआई क्रिकेटमा फर्किन लागेको हो । यसबीचमा नेपालले टी–२० विश्वकप खेल्यो । स्कटल्याण्डमाथि जित निकालेको नेपालले इंग्ल्याण्डविरुद्ध उत्कृष्ट खेल खेल्यो ।
त्यसपछि लिग–२ तयारीका लागि खेलाडीहरु हतारहतार नेपाल आएर बहुदिवसीय क्रिकेट खेले । जय ट्रफी बहुदिवसीय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडीलाई क्याम्पमा बोलायो । तर, मध्यपूर्वमा बढेको तनावका कारण सो समयमा तोकिएको सिरिज हुन पाएन ।
त्यसपछि नेपाली खेलाडीले घरेलु क्रिकेटको एकमात्र एकदिवसीय प्रतियोगिता प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट खेल्ने अवसर पाए । सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा क्यानले लिग–२ खेल्ने खेलाडीको घोषणा गर्यो ।
टी–२० टोली परिवर्तन गरेको क्यानले ओडीआईमा भने पुरानै खेलाडीलाई अवसर दिएको छ । १५ सदस्यीय टोलीमा प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल र विनोद भण्डारी टोलीमा छन् ।
त्यसबाहेक पुरानैले लिग २ अन्तर्गत नेपाल, यूएई र ओमान सिरिजमा नेपालको प्रतिनिधित्व गर्नेछन् । यसो हुँदा नेपालले टप अर्डरमा मात्रै परिवर्तन गर्ने सम्भावना देखिन्छ । टोलीमा अवसर पाएको अर्जुन र विनोद दुवै जना टपअर्डर ब्याटर हुन् ।
नेपाललाई लिग २ को शीर्ष ४ मा रहँदै ओडीआई मान्यता जोगाउन यो सिरिजसहित आगामी खेलमा जित निकाल्न आवश्यक छ । नेपालले अब ४ सिरिजका १६ खेल खेल्न बाँकी छ । त्यसमध्ये ८ खेल घरेलु मैदानमा हुँदैछन् । घरेलु मैदानमा हुने सिरिजमा जित निकालेर लिग २ मा पुनरामगन गर्ने अवसर नेपाललाई छ ।
शनिबारबाट सुरु हुने सिरिजमा नेपालसँग खेल्ने ओमान २४ खेलबाट २९ अंक जोड्दै तेस्रो स्थानमा र २० खेलबाट १० अंक जोड्दै यूएई आठौं स्थानमा छ । यी दुवै टोलीमाथि जित निकाल्दै लय फर्काउने लक्ष्यमा नेपाल हुनेछ ।
त्यसपछि नेपालले लिग–२ मा उत्कृष्ट प्रदर्शन गरिरहेका अमेरिका र स्कटल्याण्डसँग घरेलु मैदानमा सिरिज खेल्नेछ । अमेरिका २४ खेलबाट ३६ अंक जोड्दै पहिलो र स्कटल्याण्ड २८ खेलबाट ३४ अंक जोड्दै दोस्रो स्थानमा छन् ।
ओमान र यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उच्च मनोबलका साथ घरेलु मैदानमा दोस्रो सिरिज खेल्ने लक्ष्यमा नेपाली टोली हुनेछ । तर, पछिल्लो समयको नेपाली खेलाडीहरु फर्ममा नहुँदा प्रदर्शन नराम्रो हुने चिन्ता पनि उत्तिकै रहनेछ ।
यसअघि भएको लिग–२ मा नेपालले पछिल्ला १२ खेलमध्ये ११ खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाएर सोझै विश्वकपको छनोटमा प्रवेश गरेको थियो ।
यसपटक पनि नेपाललाई उस्तै खालको प्रदर्शनको आवश्यकता छ । नेपाल शीर्ष–४ मा पर्न नसके विश्वकप छनोट प्ले–अफ खेल्नुपर्नेछ ।
प्रतिक्रिया 4