२ वैशाख, नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले आफूलाई कुनै पनि समूहको ‘लेबल’ नलगाउन आग्रह गरेका छन् । सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच दलको नेता चयनका लागि रस्साकसी चलिरहेका बेला उनले शनिबार फेसबुकमार्फत् यस्तो आग्रह गरेका हुन् ।
‘अहिलेको बेलामा पार्टीको नयाँ योजना र नयाँ सभापति गगन थापाको काम गर्ने स्पिरिटसँग कदम मिलाएर अघि बढ्न हामी सबै प्रतिबद्ध छौं,’ आङ्देम्बेले लेखेका छन्, ‘संसदीय दलको नेतामा मैले इच्छा र दावी प्रकट गरिरहँदा मलाई यो या त्यो समूहको भन्ने लेबल नलगाउन म पार्टीका साथीहरू र सञ्चारकर्मीहरूलाई पनि आग्रह गर्दछु ।’
पार्टीभित्र संस्थापन र संस्थानपइतर समूहसँगै भागबण्डा पुरानो कथा बनिसकेको उल्लेख गर्दै उनले सभापति थापाको नेतृत्वमा आफूहरू रहेको उल्लेख गरेका छन् ।
‘अहिलेको बेलामा जे निर्णय गर्दा पार्टीको नेतृत्व र सिंगो पार्टीको हित हुन्छ, त्यसमा हामी सबैको साथ रहन्छ, रहनुपर्छ,’ आङ्देम्बेको भनाइ छ, ‘म यसमा आफू प्रष्ट छु र सबै साथीहरू प्रष्ट रहनुपर्ने भावना राख्दछु ।’
निवर्तमान सहमहामन्त्री आङ्देम्बेलाई उपसभापति शर्माले संसदीय दलको नेता बनाउन चाहेका छन् । यस्तै उनलाई संस्थापनइतर समूहको पनि समर्थन रहेको छ । उता सभापति थापा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई दलको नेता बनाउन प्रयासरत छन् ।
यस्तै कांग्रेसका पुराना नेता अर्जुननरसिंह केसी पनि दलको नेताका लागि आकांक्षा देखाउँदै आएका छन् । तर, निर्वाचन सम्पन्न भएको दुई महिना पुग्नै लाग्दा पनि कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन ।
सभापति थापा र उपसभापति शर्माबीच कुरो नमिल्दा कांग्रेसमा दलको नेता चयनमा ढिलो भएको नेताहरू बताउँदै आएका छन् । उनीहरूबीच कुरा नमिलेकै कारण शुक्रबार अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया नै स्थगित गरिएको छ ।
प्रतिक्रिया 4