News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठसँग चीनका राजदूत चाङ माओमिङले क्षेत्रीय ऊर्जा चुनौती प्रभावकारी रूपमा सम्बोधन गर्ने विषयमा छलफल गरेका छन्।
- भारतका राजदूत नवीन श्रीवास्तवले ऊर्जा र जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा मन्त्री श्रेष्ठसँग भेट गरेका छन्।
- मन्त्रालयले नेपाल–भारत र नेपाल–चीनबीच दीर्घकालीन साझेदारी सुदृढ गर्दै दिगो विकास र क्षेत्रीय सम्पर्क सञ्जाल प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
१२ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले बेग्लाबेग्लै भेट गरेका छन् ।
चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको काठमाडौंस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।
विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा दुवै पक्षबीच विचारविमर्श भएको थियो ।
साथै ऊर्जा र जलस्रोत क्षेत्रलाई आपसी सहयोगको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै साझा समृद्धि र जनहितका लागि सहकार्यको प्रतिबद्धता व्यक्त भएको छ ।
त्यसैगरी, भारतका राजदूतसँगको भेटमा ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । छलफलमा नेपाल–भारतबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ गर्दै दिगो विकास र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार एवं प्रवर्द्धन गर्ने साझा दृष्टिकोणमा जोड दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयका अनुसार आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत द्विपक्षीय साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त भएको थियो ।
प्रतिक्रिया 4