+
+
Shares

लन्डन दूतावासमा बालबालिकाले रोपे फूलका बिरुवा

 ‘बेलायतमै जन्मे हुर्किएका बालबालिकालाई दूतावास देखाउने, उनीहरुलाई नेपालप्रति लगाव अभिवृद्धि गर्ने र उनीहरुको दिमागमा नेपाल मेरो मातृभूमि हो भन्ने छाप छोड्न पनि यस कार्यक्रम गरिएको हो’, कार्यवाहक राजदूत विपिन दुवाडीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते ७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लन्डनस्थित नेपाली राजदूतावासले बेलायतका ५ देखि १५ वर्ष उमेर समूहका नेपालीमूलका बालबालिकालाई लक्षित गरेर फूल र बिरुवा रोप्ने कार्यक्रम आयोजना गरेको छ।
  • कार्यवाहक राजदूत विपिन दुवाडीले भने, 'नेपालप्रति माया र कनेक्सन रहिरहोस् भन्ने हाम्रो चाहना हो' र दोश्रो पुस्तालाई नेपाली संस्कृतिमा सचेत गराउन कार्यक्रम गरिएको हो।
  • कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको थियो र बालबालिकाले राष्ट्रिय गान गाएर बिरुवा रोपेका थिए।

लन्डन । सप्ताहन्त प्राय: सुनसान रहने लन्डनस्थित नेपाली राजदूतावास शनिबार भने निकै व्यस्त रह्यो । त्यहाँ व्यापार लगानी सम्मेलन थिएन, न त राष्ट्रिय दिवस भइरहेको थियो । भूतपूर्व गोर्खाहरु आफ्ना माग सम्बोधनका लागि दूतावास पुगेका पनि होइनन् । बरु एउटा विल्कुल पृथक कार्यक्रम ‘वान चाइल्ड, वान प्लान्ट: अ डे एट द नेपाल एम्बेसी’ भइरहेको थियो ।

बेलायतका विभिन्न विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्ष उमेर समूहका नेपालीमूलका बालबालिका लक्षित दूतावास परिसरमा फूल तथा बिरुवा रोप्ने कार्यक्रम थियो यो ।

आफ्ना अभिभावकका साथ आएका करिब तीन दर्जन बालबालिकाले दूतावास कम्पाउण्डमा लाली गुराँस, गुलाब, हाइड्रेन्जिया, जेरेनियम, बेगोनिया, चेरी जस्ता सिजनल र दीर्घकाल रहने फूलका विरुवा रोपेर मलजल गरे अनि रमाए ।

संयुक्त अधिराज्य (बेलायत) मा रहेका गैरआवासीय नेपालीका सन्ततिहरूलाई नेपालसँग आवद्ध गराउने उद्देश्यसहित दूतावासले यस्तो पृथक ‘कन्सेप्ट’ ल्याएको थियो । नेपाली संस्कृति र मूल्य मान्यताप्रति सचेत गराउने तथा वातावरणीय चेतना विकास गराउने उद्देश्य पनि कार्यक्रमको थियो ।

 ‘बेलायतमै जन्मे हुर्किएका बालबालिकालाई दूतावास देखाउने, उनीहरुलाई नेपालप्रति लगाव अभिवृद्धि गर्ने र उनीहरुको दिमागमा नेपाल मेरो मातृभूमि हो भन्ने छाप छोड्न पनि यस कार्यक्रम गरिएको हो’, कार्यवाहक राजदूत विपिन दुवाडीले भने, ‘यहाँका बालबालिकाले आफ्नो ठाउँ, भाषा बिर्सेलान् कि भन्ने चिन्ता छ । नेपालप्रति माया र कनेक्सन रहिरहोस् भन्ने हाम्रो चाहना हो ।’

दोश्रो पुस्तालाई नेपाली सभ्यता, चाडपर्व र कला संस्कृतिबारे सचेतना जगाउन अपरिहार्य रहेको दुवाडीले बताए ।

आफ्ना छोराछोरी लिएर दूतावास आएका एकजना अभिभावक सुरज पौडेलले कार्यक्रम निकै प्रभावकारी र रचनात्मक लागेको बताए । यसअघि यस्तो कार्यक्रम कहिल्यै नदेखेको बताउँदै उनले बालबालिकालाई वर्षौंसम्म दूतावासमा आफूले रोपेका विरुवाले जोडिरहने बताए ।

जीवन विज्ञान यूकेकी योग प्रशिक्षक सरिता शर्माले नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघले गत १५ अप्रिलमा पहिलो विश्व आरोग्य दिवस मनाएको स्मरण गर्दै यस्ता कार्यक्रमले बालबालिकालाई पर्यावरणीय स्वास्थ्यबारे सजग बनाउने बताइन् ।

बालबालिकाले नेपाली दूतावासको भ्रमण गर्ने अवसर पाएको र बिरुवा रोप्ने जस्तो वातावरण मैत्री काममा सहभागी हुन पाएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका छन् ।

फूल विरुवा रोप्नुअघि आयोजित औपचारिक कार्यक्रममा दूतावासले हरेक बालबालिकालाई खादाले सम्मान गरेको थियो ।

कार्यक्रमको सुरुमा बालबालिकाले ‘ओम’ गणेश बन्दना, सरस्वती बन्दना, गायत्री मन्त्र पाठ गर्नुका साथै नेपालको राष्ट्रिय गान गाएका थिए । बिरुवा रोप्ने कार्यक्रममा बालबालिकालाई तिनका अभिभावकले पनि सघाएका थिए ।

दूतावासका द्वितिय सचिव संजोग राईले सञ्चालन गरेको उक्त कार्यक्रममा सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह, बालबालिका तथा अभिभावक गरि झन्डै १०० जनाको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?