News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा काठमाडौंका खोला किनारका करिब चार हजार सुकुमवासी बस्ती हटाउने अभियान तीव्र पारिएको छ।
- सुकुमवासी समस्या ऐतिहासिक भूमिको असमान वितरण र सामाजिक–आर्थिक असमानताले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो।
- सरकारले सुकुमवासीलाइ सम्मानजनक व्यवस्थापन गरी अस्थायी सार्ने र स्थायी आवास दिने व्यवस्था गर्नुपर्ने संविधानको दायित्व छ।
करिब दुईतिहाइ बहुमतका साथ प्रधानमन्त्री बनेका वालेन्द्र शाह (बालेन) को नेतृत्वमा यतिबेला काठमाडौंका खोला किनारका करिब चार हजार सुकुमवासी बस्ती हटाउने अभियान तीव्र पारिएको छ । विगतमा काठमाडौं महानगरपालिकाको मेयर हुँदा सङ्घीय सरकारको असहयोगले रोकिएको यो कदमलाई उनले प्रधानमन्त्री बनेपछि तीनवटै सुरक्षा निकायसँगको समन्वयमा अघि बढाएका छन् ।
सरकारले बस्ती हटाउनुअघि अस्थायी रूपमा सार्ने र पछि स्थायी व्यवस्थापन गर्ने वाचा त गरेको छ, तर वर्षौंदेखि राज्य र राजनीतिक दलहरूबाट बारम्बार धोका पाएका सुकुमवासीहरूमा भने गहिरो अन्योल, त्रास र चिन्ता छाएको छ ।
सुकुमवासी बन्ने रहर कसैलाई हुँदैन र सधैँ सुकुमवासी भएरै खोला किनारको जोखिमपूर्ण त्रासमा बाँच्नु पनि उचित होइन । त्यसैले सुकुमवासी नागरिक आफैँमा समस्या होइनन्; बरु यसको दीर्घकालीन र मानवीय समाधान दिन नसक्नु राज्यको संरचनात्मक असफलता हो । बालेन सरकारले वर्षौंदेखि अल्झिएको यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न पहल लिएको हो भने त्यो पक्कै पनि सराहनीय छ । तर, सहरको सौन्दर्यकरणको नाममा एउटा कुनाको मानवीय सङ्कटलाई अर्को कुनामा सार्ने काम मात्रै हुनुहुँदैन ।
विगतमा १७ पटकसम्म उठिबास गराइए पनि उचित विकल्प र व्यवस्थापन नभएकै कारण उनीहरू पुनः सोही ठाउँमै वा सहरको अर्को किनारमा फर्किएको तितो इतिहास हाम्रोसामु छ । अब उनीहरूलाई १८औँ पटक सुकुमवासी बन्न बाध्य पार्ने छुट राज्यलाई छैन ।
ऐतिहासिक वञ्चितीकरण र भूमिको असमान वितरण
भूमिहीन सुकुमवासी समस्या रातारात वा अचानक सिर्जित भएको होइन । यो राज्यको ऐतिहासिक भूमि नीति, असमान वितरण र सीमान्तकृत समुदायमाथिको निरन्तरको वञ्चितीकरणको उपज हो । नेपालको इतिहास पल्टाएर हेर्ने हो भने, जमिनको स्वामित्व सधैँ सीमित र पहुँचवाला सम्भ्रान्त वर्गको हातमा केन्द्रित रह्यो । जसले आफ्नो पसिना बगाएर जङ्गल फँडानी गरी जमिन आवाद गरे, उनीहरूसँग आज एक टुक्रा जमिन छैन; तर जसले सत्ताको वरिपरि रहेर कानुन बनाए, उनीहरूले नै विर्ता, जागिर र रैकरका नाममा हजारौँ बिघा जमिन कब्जा गरे ।
खडेरी, बाढी–पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्ति, दसवर्षे सशस्त्र द्वन्द्वको प्रभाव र ग्रामीण क्षेत्रमा रोजगारीको चरम अभावले नागरिकलाई थातथलो छाडेर सहर पस्न बाध्य बनायो । सहरमा ज्यालादारी मजदुरी गरेर जीवन निर्वाह गर्ने यी सीमान्तकृत वर्गको आम्दानीले काठमाडौंको महँगो घरभाडा तिर्न वा जग्गा किन्न सम्भव थिएन ।
राज्यले उनीहरूका लागि सस्तो आवासको कुनै नीति नल्याएपछि उनीहरू सहरका किनार र खोलाका ढिकहरूमा ओत लाग्न बाध्य भए । सुकुमवासी हुनु उनीहरूको रहर होइन, राज्यको कमजोर नीति र सामाजिक–आर्थिक असमानताले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो ।
सहरको अर्थतन्त्र र सीमान्तकृतको योगदान
सहर एउटा निर्जीव संरचना मात्र होइन, यो श्रम र पसिनाले चल्ने संयन्त्र हो । आज खोला किनारका झुपडीमा बस्ने ती नागरिक नै हुन्, जसले सहरको फोहोर उठाउँछन्, ढल सफा गर्छन्, गिटी कुट्छन् र सडक किनारमा व्यापार गरेर अनौपचारिक अर्थतन्त्रलाई चलायमान बनाउँछन् । काठमाडौं सहरलाई उनीहरूको सस्तो श्रम चाहिएको छ, तर उनीहरूलाई भने यो सहरले अपनत्व दिन सकिरहेको छैन ।
राज्यले उनीहरूको श्रमको मूल्य नदिने र उनीहरूलाई सहरको ‘अतिक्रमणकारी’ मात्र देख्ने दृष्टिकोणमा आधारभूत खोट छ । सहर बनाउने श्रमिकहरूलाई सहरको परिधिबाटै लखेट्नु भनेको सहरमाथिको अधिकारको विश्वव्यापी मान्यताको ठाडो उल्लङ्घन हो ।
सुकुमवासीको नाममा राजनीति र माफियाको रजाइँ
झन्डै ६ दशकदेखि सुकुमवासीको नाममा नेपालमा घिनलाग्दो राजनीति र लुटतन्त्र चल्दै आएको छ । हरेक चुनावमा राजनीतिक दलहरूले उनीहरूलाई लालपुर्जाको आश्वासन दिएर सस्तो भोट बैंकका रूपमा मात्र उपयोग गरे । समस्या समाधानका लागि आजसम्म दर्जनौँ सुकुमवासी समस्या समाधान आयोगहरू गठन भए, तर ती आयोगहरू दलका कार्यकर्ता भर्ती गर्ने र राजनीतिक अभिष्ट पूरा गर्ने अखडा मात्र बने ।
आयोगहरूले वितरण गरेको भनिएको लाखौँ लालपुर्जा वास्तविक भूमिहीनले पाए कि पहुँचवालाले भन्ने कुरा आजसम्म पारदर्शी छैन । अर्कोतर्फ, सुकुमवासीलाई सार्वजनिक जग्गा अतिक्रमणकारी को बिल्ला भिराएर सहरबाट लखेट्ने भाष्य निर्माण गरिँदै गर्दा, सहरकै मुटुमा रहेका बालुवाटार (ललिता निवास), बाँसबारी छालाजुत्ता कारखाना र विभिन्न गुठीका अर्बौं मूल्यका जग्गाहरू माफियाहरूले कब्जा गरेका छन् ।
प्रश्न उठ्छ- राज्यको डोजर र कानुनको डण्डा कसका लागि ? के राज्यको शक्ति खोला किनारका निमुखाका झुपडी भत्काउन मात्र प्रयोग हुने हो कि नक्कली हुकुमवासीले कब्जा गरेर ठड्याएका आलिसान महल र बिजनेस कम्प्लेक्सहरूमा पनि चल्ने हो ? जबसम्म राज्यले सानालाई ऐन र ठूलालाई चैनको नीति त्याग्दैन, तबसम्म सुकुमवासी समस्याको न्यायोचित हल निस्कँदैन ।
डोजरको त्रास र राज्यको संवैधानिक दायित्व
सुकुमवासी बस्तीमा डोजर चलाएर उठिबास गराउनु कुनै पनि अर्थमा समस्याको समाधान होइन । जबर्जस्ती उठिबासले नागरिकलाई झन् गरिबी र राज्यविहीनताको खाडलमा धकेल्छ । यसले समस्या सार्ने काम मात्र गर्छ, समाधान गर्दैन । राज्य भनेको सबै नागरिकको अभिभावक हो, यो मुठीभर धनाढ्यहरूको मात्र पेवा होइन ।
नेपालको संविधान २०७२ ले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक दिएको छ । संविधानको धारा २५ ले सम्पत्तिको हक, धारा ३७ ले उपयुक्त आवासको हक र धारा ५१ ले भूमिहीन दलित तथा सुकुमवासीलाई एकपटकका लागि जमिन उपलब्ध गराउने स्पष्ट व्यवस्था गरेको छ । वर्षौंदेखि बसेको बस्ती एकैछिनमा डोजर लगाएर भत्काउँदा मानिसको ओत मात्र खोसिँदैन; उनीहरूको जीविकोपार्जन, बालबालिकाको शिक्षा, सामाजिक सम्बन्ध र मानवीय मर्यादा पनि सँगै भत्किन्छ । तसर्थ, उठिबास गर्नुअघि राज्यले आफ्नो कानुनी र संवैधानिक दायित्व निर्वाह गर्नैपर्छ ।
अबको बाटो : सही पहिचान र सम्मानजनक व्यवस्थापन
अहिलेको सरकार र प्रधानमन्त्री बालेन शाहले ‘गरिब सहरमा बस्नु हुँदैन’ भन्ने अभिजात्यवादी भाष्यलाई चिरेर ‘गरिबी अन्त्य गर्ने’ प्रगतिशील बाटो समात्नुपर्छ । यसका लागि सबैभन्दा पहिलो सर्त भनेको वास्तविक सुकुमवासी र नक्कली दाबीदार (हुकुमबासी) को वैज्ञानिक र निष्पक्ष पहिचान हो ।
प्रविधिको यो युगमा डिजिटल भू–अभिलेख, नागरिकता नम्बर वा राष्ट्रिय परिचयपत्रका आधारमा कसको कहाँ कति सम्पत्ति छ भनेर पत्ता लगाउन गाह्रो छैन । जो वास्तविक रूपमै भूमिहीन छन्, उनीहरूलाई राज्यले नागरिकता वा परिचयपत्र उपलब्ध गराउनुपर्छ । त्यसपछि उनीहरूलाई सहरकै उपयुक्त स्थानमा एकीकृत आवास निर्माण गरी वा अन्य यथोचित विकल्पसहित सम्मानजनक रूपमा स्थानान्तरण गर्नुपर्छ । जमिन भएका तर खोला किनारमा जग्गा ओगटेर बसेका नक्कली दाबीदारहरूलाई भने कानुनबमोजिम हटाएर सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्छ ।
सुकुमवासीलाई एकपटकका लागि लालपुर्जा वा आवासको ग्यारेन्टी गर्दा उनीहरूमा समाजप्रति उत्तरदायित्व बोध हुन्छ । जमिन वा घरको स्वामित्व पाएपछि मानिसमा लगानी गर्ने, सरसफाइमा ध्यान दिने र समुदायको विकासमा सहभागी हुने प्रेरणा जाग्छ । उनीहरूले बैंकबाट सानोतिनो ऋण लिएर उद्यम गर्न सक्छन्, जसले अन्ततः राष्ट्रिय अर्थतन्त्रमै टेवा पुर्याउँछ ।
सुकुमवासी समस्या केवल खोला किनारको जग्गा अतिक्रमणको प्राविधिक विषय मात्र होइन; यो त दशकौँदेखिको सामाजिक न्याय, मानव अधिकार र सीमान्तकृत वर्गको समावेशी विकाससँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो । डोजरले घर भत्काउन सक्छ, तर गरिबी र विभेदको जग भत्काउन सक्दैन ।
आजको आवश्यकता निर्मम विस्थापन होइन, मानवीय स्वामित्व र अपनत्व हो । अस्थिरता र त्रास होइन, सम्मानजनक स्थायित्व हो । तसर्थ, सरकारले नक्कली चिन्ता होइन, सक्कली र व्यावहारिक कदम चालोस् । सहमतिमै पहिला सम्मानजनक व्यवस्थापनको सुनिश्चितता गरौँ, त्यसपछि मात्र खोला किनारका बस्तीहरू खाली गराऔँ । किनकि, राज्यको शक्ति नागरिकलाई तर्साउन होइन, उनीहरूको जीवनको रक्षा गर्न प्रयोग हुनुपर्छ ।
प्रतिक्रिया 4