News Summary
Generated by OK AI. Editorially reviewed.- डा. अरूण शाही अमेरिकी क्लिनिकल अन्कोलोजी सोसाइटीको नेतृत्व विकास कार्यक्रम २०२६–२०२७ का लागि छनोट भएका छन्।
- डा. शाहीले नेतृत्व क्षमता विकास र क्यान्सर उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न तालिम पाउनेछन्।
- डा. शाही एक मात्र नेपाली प्रतिनिधि हुन् र उनले प्राप्त ज्ञान नेपालमा स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने बताएका छन्।
काठमाडौं । नेपालका क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाही अमेरिकी क्लिनिकल अन्कोलोजी सोसाइटी (एस्को) को प्रतिष्ठित ‘नेतृत्व विकास कार्यक्रम २०२६–२०२७’ का लागि छनोट भएका छन् । यससँगै अन्तर्राष्ट्रिय क्यान्सर उपचार क्षेत्रमा नेपालको उपस्थिति थप सुदृढ भएको छ ।
एस्कोद्वारा सञ्चालन हुने उक्त कार्यक्रम विश्वभरका उदयीमान क्यान्सररोग विशेषज्ञ लक्षित गरी आयोजना गरिन्छ । कार्यक्रमको उद्देश्य सहभागी चिकित्सकहरूमा नेतृत्व क्षमता विकास, नीतिगत सोच अभिवृद्धि तथा क्यान्सर उपचार क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक सीप प्रदान गर्नु हो ।
डा. शाही हाल पाटन एकेडेमी अफ हेल्थ साइन्सेजमा कार्यरत छन् । एस्कोका अनुसार उनको छनोटले नेपाली स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सर उपचारको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिनिधित्व मजबुत बनाएको छ।
एक वर्षे अवधिको कार्यक्रममा सहभागीहरूलाई नेतृत्वसम्बन्धी तालिम, अन्तरक्रियात्मक सिकाइ तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहकार्य गर्ने अवसर प्रदान गरिनेछ । साथै, एस्कोको रणनीति, नीतिगत दिशा र विश्वव्यापी क्यान्सर उपचारमा यसको प्रभावबारे गहिरो समझ विकास गराइनेछ ।
यस वर्षको कार्यक्रममा अमेरिका बाहिरबाट सीमित संख्यामा सहभागी छनोट गरिएकोमा डा. शाही एक मात्र नेपाली प्रतिनिधि रहेका छन् । एस्कोले उनलाई भविष्यमा स्वास्थ्य क्षेत्रमा प्रभाव पार्न सक्ने नेतृत्वदायी चिकित्सकका रूपमा पहिचान गरेको जनाएको छ ।
डा. शाहीले यस उपलब्धिलाई व्यक्तिगत सफलता मात्र नभई नेपाली क्यान्सररोग विशेषज्ञहरुको क्षमता र सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने अवसरका रूपमा लिएको बताएका छन् ।
साथै, कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभव नेपालमा उपयोग गरी अन्य चिकित्सकलाई मार्गदर्शन गर्ने, नयाँ पुस्तालाई प्रेरित गर्ने र समग्र स्वास्थ्य प्रणाली सुदृढ बनाउन योगदान दिने लक्ष्य रहेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया 4