News Summary
Generated by OK AI. Editorially reviewed.- षट्कोण आट्र्सको नयाँ फिल्म 'लालीबजार' वादी महिलाको संघर्षको कथा लिएर प्रदर्शन तयारीमा छ।
- स्वस्तिमा खड्काले 'लालीबजार' मा मधुवाला पात्रको भूमिका निभाएकी छिन् र यसलाई आफ्नो अभिनय यात्राको टर्निङ प्वाइन्ट मानेकी छिन्।
- निर्देशक यम थापाले वादी समुदायको पृष्ठभूमिमा आधारित कथालाई न्याय गर्ने विश्वासका साथ फिल्म निर्देशन गरेका छन्।
काठमाडौं । ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता व्यवसायिकरुपमा सफल फिल्म निर्माण गरेको षट्कोण आट्र्सको आगामी फिल्म ‘लालीबजार’ प्रदर्शन तयारीमा छ ।
स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्मले वादी महिलाको संघर्षको कथा पेश गर्छ । ‘बुलबुल’ र ‘चिसो मान्छे’ पछि स्वस्तिमालाई पात्रले चर्चामा ल्याएको यो फिल्मलाई उनले अभिनय यात्राको ‘टर्निङ प्वाइन्ट’ मानेकी छिन् ।
अभिनय यात्रा प्रारम्भ गरेको दशकपछि पहिलोपटक अडिसन दिएर स्वस्तिमाले आफूलाई ‘लालीबजार’ को मधुवाला नामक पात्रको लागि तयार गरेकी थिइन् । ट्रेलर सार्वजनिक भएपछि स्वस्तिमाले दर्शकबाट प्रशंसा पनि प्राप्त गरेकी छन् ।
शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको विषयमा निर्माता म्याक्स दीपेश खत्री, निर्देशक यम थापा, स्वस्तिमासहित कलाकारहरू रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापासँगै डेब्यू कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले छलफल गरे ।
देवकोटा थियटरमा अभिनेतासँगै निर्देशकका रुपमा काम गरिरहेका कलाकर्मी हुन् भने प्रशंसा जेनजी अभियन्तासँगै कन्टेन्ट क्रिएटरका रुपमा परिचित छिन् । यी दुवै आफ्नो डेब्यू फिल्मलाई लिएर निकै उत्साहित छन् ।
निर्माता खत्रीले भने, ‘हामीले आफ्ना काममार्फत आफूलाई झनै परिपक्व बनेको महसुस ‘लालीबजार’मा आइपुग्दा भएको छ । यसपटक हामीले एउटा समुदायको पृष्ठभूमिमा रहेर आमा र छोरीको कथालाई दर्शकसामु ल्याएका छौँ ।’
उनले अघि भने, ‘यसअघि ‘महापुरूष’मा हामीले बुवा र छोराको कथालाई देखाएका थियौँ । विषयवस्तुका हिसाबले हामीले निर्माण गरेका फिल्म मध्ये ‘लालीबजार’ उत्कृष्ट हो ।’
कार्यकारी निर्माता प्रदीप भट्टराईले फरक कथा ल्याउने तयारी गर्दै गर्दा तराईको एउटा आइडियामा काम गरिरहेको सम्झिए । ‘त्यसमा नै सल्लाह लिन हामीले निर्देशक यम थापालाई भेटेका थियौँ । सोही छलफलमा हामीले कथा खोजिरहेको र राम्रो कथा भेटमा निर्माण गर्ने बतायौं’ उनले भने ।
थापालाई निर्देशकीय जिम्मा दिनुको कारणबारे भट्टराईले अघि भने, ‘षट्कोण आट्र्सबाट बन्ने फिल्म मैले नै निर्देशन गरिरहेको छु, तर यो कथा यमजीको भएको र उहाँ बर्दियाकै भएकाले कथालाई न्याय गर्नुहुन्छ भन्ने विश्वासका साथ हामीले निर्देशनको जिम्मा दिएका हौँ ।’

अभिनेता तथा निर्माता बानियाँले विषयको गाम्भीर्यतालाई ध्यानमा राखेर फिल्म निर्माण गरेको बताए । ‘टलकजंग भर्सेस टुल्के’पछि आफूले यसमा खलपात्रको भूमिका निर्वाह गरेको उनले बताए ।
‘यसमा म शोषक र सामन्तको भूमिकामा अभिनय गरेकी छु । मलाई त्यो पात्र निर्वाह गर्दा नै गाह्रो भयो भने त्यहाँका दिदीबहिनीहरूले कसरी सहेर बस्नु भएको होला ? विषयको गम्भीरतालाई ध्यानमा राखेर हामीले फिल्म तयार गरेका छौँ’ उनले भने ।
वादी समुदायमा पुगेर अनुसन्धान गरिएको र पटकथा लेखिएको उनले बताए । उनले यो फिल्मलाई व्यवसायिक उद्देश्यले बनाइएको बताए ।
‘विषयको गम्भीरतालाई बुझेर हामीले काम गरेका छौँ । मैले फिल्म निर्वाह गरेको पात्र समाजमा हुनु हुँदैन, त्यस्ता पात्र धर्तीमा रहन लायक छैनन् । यो फिल्ममा काम गर्दा थाहा पाएँ, हामीले वा राज्यले ती समुदायसँग जतिपटक माफी मागे पनि कम हुन्छ’ उनले भने ।
अभिनेत्री खड्काले अडिसन दिएर आफू यो फिल्ममा छनोट भएको बताए । ‘मलाई आगामी धेरै वर्षसम्म कलाकारका रुपमा चिनाउने फिल्म ‘लालीबजार’ बन्नेमा विश्वस्त छु’ उनले भनिन्, ‘यो फिल्ममा कलाकार बन्न पाएकोमा मैले आफूलाई ‘लक्की’ मान्छु । ‘लुक टेस्ट’ का लागि अडिसन दिएर फिल्ममा छनोट भएकी हुँ ।’
आमा र छोरीको कथामा आधारित यो फिल्ममा आफूले वादी महिलाको भूमिका निर्वाह गरेको उनले बताइन् । ‘आफ्नो पात्रलाई तयार गर्न म आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी थिएँ । निकै उमेर हुनुभएका आमाहरूलाई भेटेर कुराकानी गरेकी थिएँ’ उनले भनिन्, ‘मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा ‘मधुवाला’ पात्र भएर बाँच्न पाएँ । मेरा लागि आगामी धेरै समयसम्म सम्झिने फिल्म बनेको छ ।’
अभिनेता देवकोटाले निर्माताले नाटक हेरेपछि आफूलाई नोटिस गरेको अनुभव सुनाए । षट्कोण आर्ट्स र स्वस्तिमा जस्ता कलाकारसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको उनले बताए । पत्रकार सम्मेलनमा डेब्यू कलाकार प्रशंसा सुवेदीले पनि आफ्नो अभिनय अनुभव बाँडिन् ।
प्रतिक्रिया 4