+
+
Shares

दुर्गमका दु:ख : बोराका झोलामा किताब-कापी

हुम्ला मासपुरका अधिकांश बालकालिका ब्याग, कापी, कलम, किताब जस्ता सामान्य विद्यालय सामग्री नहुँदा अभावै अभावमा विद्यालय जान बाध्य छन्।

नरजन तामाङ नरजन तामाङ
२०८३ वैशाख १३ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्ला ताजाँकोट गाउँपालिका-३ मासपुरका बालबालिकाले झोला नहुँदा कापी-किताब हातमा च्यापेर वा बोराको झोलामा राखेर विद्यालय जान बाध्य छन्।
  • मासपुरका अधिकांश बालबालिकाले आर्थिक अभावका कारण विद्यालय सामग्री नपाएर विद्यालय जान कठिनाइ भोगिरहेका छन्।
  • स्थानियहरूले दुर्गम क्षेत्रका सडक, स्वास्थ्य र शिक्षा सेवामा पहुँच नहुँदा बालबालिकाको विद्यालय सामग्री अभाव भएको भन्दै राज्यको ध्यानाकर्षण गराउनुपर्ने बताएका छन्।

१३ वैशाख, हुम्ला । बिहान ११ बजिसकेको थियो । हुम्ला ताजाँकोट गाउँपालिका-३ मासपुरकी १० वर्षीया सरिता रोकाया बल्ल विद्यालय जाँदै थिइन् ।

गाउँकै बानादेव आधारभूत विद्यालयमा पढ्ने सरिताले हातमा किताब-कापी च्यापेकी थिइन् भने गलामा पहेँलो पोते अनि शरीरमा आमाको कुर्ता पहिरिएकी थिइन् ।

उनका केही साथीहरू त झोला नहुँदा कापी-किताब कपडामा बेरेर विद्यालयतर्फ गइरहेका थिए ।

७ वर्षीय लोकराज बुढाको पिठ्युमा भने चामलको बोराबाट बनाइएको झोला थियो । उनी त्यही झोलामा कापी-किताब हालेर विद्यालय जाँदै थिए।

यी त केही उदाहरण मात्र हुन् । हुम्ला मासपुरका अधिकांश बालकालिका ब्याग, कापी, कलम, किताब जस्ता सामान्य विद्यालय सामग्री नहुँदा अभावै अभावमा विद्यालय जान बाध्य छन्।

कक्षा ३ मा अध्ययनरत सरिता झोला नभएपछि कापी-किताब हातमै च्यापेर विद्यालय जाने गरेको बताउँछिन् ।

कक्षा १ मा अध्यनरत लोकराजले बुबाले चामलको बोराको झोला बनाइदिएपछि त्यसैमा कापी-किताब राख्ने गरेको बताए।

झोला किन्ने अवस्था नभएकोले बोराको झोला बनाएर बच्चालाई स्कुल पठाउने गरेको लोकराजका बुवा रूपलाल बुढाले बताए । उनले भने, ‘झोला किन्ने अवस्था छैन । घरमै भएको बोराबाट झोला सिलाएर बच्चालाई कापी-किताब हालिदिने गरेको छु,’ उनले भने ।

मासपुर गाउँका नागरिकको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले अधिकांश बालबालिकाले कापी-किताब त हातमै च्यापेर कि त बोराको झोलामा हालेर विद्यालय जानेको रूपलालको भनाइ छ ।

यहाँका अधिकांश बालबालिकालाई विद्यालय सामग्रीको अभाव रहेको बानादेव आधारभूत विद्यालय मासपुरका प्रधानाध्यापक खडक सिंहले बताए ।

उनले भने, ‘धेरैजसो स्थानीयवासीको आर्थिक अवस्था अत्यन्त कमजोर छ । त्यसैले बोराको झोलामा कापी-किताब बोकेर विद्यालय आउँछन् । कतिले त हातैमा च्यापेर पनि आउँछन् ।’

दुर्गम क्षेत्रमा सडक, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवामा पहुँच नभएका कारण पनि यस्तो अवस्था सिर्जना भएको स्थानीयहरूको भनाइ छ। यसतर्फ राज्यको ध्यान जानुपर्ने उनीहरू बताउँछन् ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?