News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
- मनमोहन स्मृति प्रतिष्ठानले ललितपुर सानेपास्थित शालिकमा माल्यार्पणसहित सभा र राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गरेको थियो।
- प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीक र भारतीय स्वतन्त्रता सङ्ग्रामका सहभागी बताए।
१३ वैशाख, काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको २७ औं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आइतबार ललितपुरको सानेपास्थित उनको शालिकमा माल्यार्पणसहित सभा आयोजना गरेको थियो भने प्रतिष्ठानले काठमाडौंमा मनमोहन स्मृति राष्ट्रव्यापी कविता प्रतियोगिता कार्यक्रमको आयोजना गरेको थियो ।
राष्ट्रव्यापी कविता प्रतियोगिता कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीकका रूपमा रहेको बताए ।
नेता पोखरेलले अधिकारी नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दाअघिदेखि नै आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै भारतमा रहँदा भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भई उहाँले जेलजीवनसमेत बिताएको स्मरण गरे ।
नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।
प्रतिक्रिया 4