+
+
Shares

होल्डिङ सेन्टरबाट परीक्षा केन्द्र धाइरहेकी विद्यार्थी

‘कता जाने, के गर्ने सोच्न सकेको छैन । बुबा ममीसँग पैसा छैन । अब कसरी पढ्ने ?,’ उनको प्रश्न छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ वैशाख १३ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुकुमवासी बस्तीमा डोजर चल्दा १७ वर्षीया विद्यार्थीले परीक्षा दिँदै पनि पढाइमा असर परेको गुनासो गरिन्।
  • परिवारले ऋण गरेर कलेजको ५० हजार भर्ना तिरेको र तीन लाख खर्च हुने भन्दै पढाइको चिन्ता व्यक्त गरिन्।
  • सरकारले अस्थायी आश्रममा बसोबासको व्यवस्था गरेको भए पनि स्थायी बसोबास र शिक्षा हक सुनिश्चित हुन सकेको छैन।

१३ वैशाख, काठमाडौं । ‘अब कलेज पढौ कि नपढौ भएको छ,’ आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको होल्डिङ सेन्टरमा पुगेकी सुकुमवासी बस्तीकी १७ वर्षीया एक विद्यार्थीले गुनासो गरिन् । काठमाडौं शान्तिनगर–गैरीगाउँ सुकुमवासी बस्तीमा जन्मिएकी उनी स्नातक तहमा कम्प्युटर एप्लिकेसन (बीसीए) पहिलो वर्षको परीक्षा दिइरहेकी छन् ।

परीक्षाकै समयमा बस्तीमा डोजर चल्यो । ‘फाइलन परीक्षा हो । परीक्षा सकाएर यहाँ आएको हुँ । लेख्न त लेखेको छु । तर हिजोदेखि रोको रै छु,’ घरमा डोजर चलेपछि उनको पढाइमा पनि असर परेको छ ।

होल्डिङ सेन्टरमा पुग्दा पनि उनले झोला भिरिरहेकी थिइन् । एक हातले ९ वर्षको भाइलाई समातेकी थिइन् । यो समय उनले परीक्षाको तयारी गर्नुपर्ने हो । तर कहाँ बसेर पढ्ने अत्तोपत्तो छैन । आइतबार साँझ रंगशालामा उनलाई सुरक्षाकर्मीले खाना दिए । तर खानै मन गरिनन् ।

उनका बुबाले एउटा कोठो खोजेर सामान त राखे । तर चार जनाको परिवार त्यो कोठामा अटाएनन् । बस्ने ठाउँ नभएपछि उनलाई पढाइको चिन्ताले सताएको छ । ‘पढ्नु त पर्छ । तर कसरी पढ्ने थाहा छैन,’ आँसु झार्दै उनले भनिन्, ‘बुबा–आमाले संघर्ष गरेर पढाउनु भएको छ ।’

उनका बुबाले घरमा रंग लगाउने र आमाले अरुको घरमा गएर काम गर्ने गरेकी छिन् । ‘कहिलेकाहिँ ममीले सडक सफा गर्न पनि जानु हुन्छ । बुबा ममीले अब कसरी मेरो पढाइ खर्च जुटाउनु हुन्छ ?,’ उनले प्रश्न गरिन्, ‘कलेजको पूरै पढाइ सक्न तीन लाख रुपैयाँ लाग्छ, अब कसरी तिर्ने ?’

परिवारले उनलाई ऋण गरेर पढाइ रहेको छ ।  ‘भर्ना गर्दा सुरुमा ५० हजार तिर्नु परेको थियो । त्यो रकम जुटाउन ऋण लिनुपरेको हो,’ उनले भनिन्, ‘पहिला ३० हजारमा हुन्छ भनेको थियो । तर कलेजले ५० हजार चाहिन्छ भन्यो । ऋण लिएर तिरेको हो ।’

कलेजको आन्तरिक परीक्षामा दोस्रो भएकी उनी फाइनल परीक्षा कस्तो हुने हो भन्ने चिन्तामा छिन् । ‘कता जाने, के गर्ने सोच्न सकेको छैन । बुबा ममीसँग पैसा छैन । अब कसरी पढ्ने ?,’ उनको प्रश्न छ ।

विद्यालय जाने उमेर समूहका अरु बालबालिका पनि होल्डिङ सेन्टरमा थिए । कोही खेलिरहेका छन् । कोही पानी परेकाले सामान मिलाउँदै छन् । एकातिर वर्षौदेखि बस्दै आएको घर भत्कियो । अर्कोतिर छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता अभिभावकलाई थपिएको छ ।

नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । यही वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन हुँदै सुरु हुदै छ । जहाँ बसेर पढिरहेका थिए त्यो ठाउँमा बसोबास नै नरहेपछि अब कहाँ लगेर पढाउने भनेर अनुत्तरित छन्, अभिभावक ।

थापाथली र शान्तिनगर–गैरीगाउँका भूमिहीनहरूलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । तर स्थायी रुपमा सरकारले बस्न दिने स्थान कहाँ हो ? थाहा छैन ।

अस्थायी आश्रममा रहेकी एक महिलाले बच्चाको पढाईबारे चिन्ता राखिन् ।  कक्षा ५ मा पढ्ने छोरालाई कहाँ पढाउने भन्ने उनलाई नै थाहा छैन । ‘हामी कहाँ बस्ने ठेगान छैन । ५ कक्षामा पढ्ने छोरालाई स्कुल भर्ना गर्नुपर्ने छ । अब नयाँ ठाउँमा के कस्तो हुने हो ?,’ उनले भनिन् ।

संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने भनेको छ । त्यतिमात्र होइन, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनेको छ । तर सुकुमवासी बस्तीका अभिभावक आफ्ना छोराछोरी पढ्ने अवसरबाट वञ्चित हुने त होइन भनेर प्रश्न गरिरहेका छन् ।

संविधानमा अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षाको हक हुने भनिएको छ । सुकुमवासी बस्तीका  विपन्न र गरिब परिवारका बालबालिकाको शिक्षा पाउने संवैधानिक हक भने सुनिश्चित हुन सकेको छैन ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?