News Summary
Generated by OK AI. Editorially reviewed.- पैसा सापटी दिने र फिर्ता माग्दा सम्बन्ध बिग्रिने समस्या प्रायः चिनजानका व्यक्तिसँग देखिन्छ।
हामी प्रायः चिनजानका व्यक्ति वा आफन्तहरूले कुनै समस्या देखाएर माग्दा पैसा सापटी दिने गर्छौँ । आवश्यक पर्दा हामी पनि लिन्छौँ । यो स्वभाविक हो । आखिर लेनदेन र एक-अर्कालाई गर्ने सहयोग नै मानव समुदायको अमूल्य विशेषता हो ।
समस्या त्यतिखेर आउँछ जब सापटी लगेको पैसा फिर्ता मागिन्छ । सापटी लगेको पैसा फिर्ता मागेकै कारण आफन्त वा नजिकको साथीसँग सम्बन्ध बिग्रिएको अनुभव प्राय धेरैसँग हुन्छ ।
हामीमध्ये धेरैजसो आफ्नै पैसा माग्न पनि हिचकिचाउँछौं । हामीलाई के भन्ने र के नभन्ने भन्ने थाहा हुँदैन । यस्तो अवस्थामा, हामी केवल त्यो व्यक्तिले फिर्ता गर्नेछ भन्ने आशा गर्छौं । बरू त्यो व्यक्तिलाई सापटी दिएकोमा पश्चाताप गरेर बसिरहेका हुन्छौँ ।
पैसा फिर्ता नगर्ने मान्छेले त्यसका लागि अनेक बहाना बनाइरहेको हुन्छ । हामी त्यसलाई विश्वास गरेर कुनै कडा कदम चाल्न पनि हिचकिचाइरहेका हुन्छौँ ।
एक दिन पक्कै देला भनेर हामी विश्वास गरिरहेका हुन्छौँ । तर पैसा फिर्ता नदिने व्यक्तिले अनुहारका भाव र केही शारीरिक हाउभाउले संकेत गरिरहेको हुन्छ । त्यो कुरा हामीलाई थाहा भइरहेको हुँदैन ।
सापटी फिर्ता मागिरहेका बेला अर्थात यसको विषयमा कुरा गरिरहेका बेला उनीहरूले केही शारीरिक संकेत तथा हाउभाउ देखाइरहेका हुन्छन् ।
१.आँखा यताउता घुमिरहनु
अनुहारले व्यक्तिको भावना मात्र होइन, उसको मनसाय पनि प्रकट गर्छ । त्यसैले, जब तपाईं कसैलाई पैसा सापटी दिनुहुन्छ र फिर्ता माग्नुहुन्छ, उसको आँखा हेर्नुहोस् । तपाईंले सम्भवतः उसको आँखा घुमिरहेको र असुविधाको संकेत देख्नुहुनेछ । ऋण तिर्न चाहनेहरूले शान्त र संयम भाव देखाउनेछन् ।
२.कस्सिएको ओठ
तपाईंले पैसा सापटी दिइरहनुभएको व्यक्तिलाई कहिले फिर्ता गर्नुहुन्छ ? भनेर सोध्नुहोस् अनि उनीहरूको ओठ हेर्नुहोस् । पैसा फिर्ता गर्न नचाहने व्यक्तिको ओठ कसिएको हुन्छ । यसले आन्तरिक प्रतिरोधलाई संकेत गर्दछ ।
३.बारम्बार घाँटी वा अनुहार छुने
जब तपाईं कसैसँग पैसा सापटी दिने बारेमा कुरा गर्दै हुनुहुन्छ भने कुनै न कुनै दिन त्यो पैसा फिर्ता गर्ने बारेमा पक्कै कुरा हुन्छ नै । त्यो समय पैसा सापटफ माग्ने व्यक्तिमा ध्यान दिनुहोस् ।
यदि तिनीहरूले बारम्बार आफ्नो अनुहार, नाक, चिउँडो वा घाँटी छुने गर्छन् भने, यो तनावको संकेत हो । यसले पैसा फिर्ता गर्नुपर्ने कुरा सोच्दा त्यो व्यक्तिले धेरै तनाव महसुस गर्छ भन्ने संकेत गरिरहेको हुन्छ ।
४. बनावटी मुस्कान
यदि कसैले पैसा फिर्ता गर्ने वाचा गर्छ, तर उनीहरूको मुस्कान जबरजस्ती वा नक्कली देखिन्छ भने, तिनीहरूले तपाईंको पैसा फिर्ता नगर्न सक्छन् ।
त्यो व्यक्तिले बाहिर प्रकट गरिरहेको अभिव्यक्ति र यसको भित्री मनसाय मेल खाँदैन भन्ने कुरा यसको बनावटी मुस्कानबाट संकेत मिल्छ ।
५.सबै कुरा अति गर्नु
कोही व्यक्तिले जे कुरामा पनि सहमति जनाउँछ र त्यसलाई नकार्न सक्दैन भने पनि त्यो पैसा फिर्ता नगर्ने व्यक्तिको संकेत हुन सक्छ । जे भने पनि हस्, हुन्छ मात्रै भन्ने व्यक्तिले पछि आउने परिस्थितिबारे खासै ध्यान दिएको हुँदैन । उ अहिले तपाईंलाई खुसी बनाएर फाइदा लिनेमा मात्रै उसको ध्यान केन्द्रित भएको हुन्छ ।
पैसा फिर्ता गर्ने वा सबै कुरामा हो भन्नुपर्दा धेरै टाउको हल्लाउनु तपाईंलाई मनाउने प्रयास हुन सक्छ।
पैसा फिर्ता पाउन के-के गर्ने ?
–यदि तपाईं कसैलाई पैसा सापटी वा उधारो दिँदै हुनुहुन्छ भने उसको पृष्ठभूमि र तिर्ने आधारबारे स्पस्ट हुनुहोस् ।
–सम्भव छ भने यसअघि उसले कारोबार गरेका व्यक्तिहरूसँग बुझ्नु राम्रो हुन्छ ।
–यदि रकम ठूलो छ भने कागज बनाएर मात्रै सापटी दिनु बुद्धिमानी हुन्छ ।
–पैसा दिँदा शर्त र समयसीमालाई स्पस्ट पार्नुहोस् ।
–यदि त्यो व्यक्तिले तिर्न आनाकानी गर्यो भने यो तरिकाले भए पनि उठाउँछु भनेर वैकल्पिक उपायबारे सोचेर मात्रै सापटी दिनुहोस् ।
ध्यान राख्नुहोस्– पैसा सापटी दिँदा प्रायः सम्बन्धहरू सुधार गर्नुको सट्टा बिग्रिन्छ, त्यसैले सबै कुरा स्पष्ट भएर मात्रै कसैलाई सापटी दिनुहोस् ।
प्रतिक्रिया 4