+
+
Shares

वैदेशिक रोजगार व्यवसायी संघमा महासचिवसहित ११ जनाले दिए सामूहिक राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश बस्नेतसहित ११ जना पदाधिकारी र सदस्यले सामूहिक राजीनामा दिएका छन्।
  • राजीनामा दिनेहरू अध्यक्ष भुवनसिंह गुरूङको कार्यशैली व्यक्तिगत र निजी कम्पनीको शैलीमा झल्किएको आरोप लगाएका छन्।
  • राजीनामा दिनेहरूले निर्णय प्रक्रिया निष्पक्ष नभएको, राजनीतिक प्रभाव हावी भएको र नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन्।

१४ वैशाख, काठमाडौं ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिवसहित ११ जना पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएका छन् । संघभित्र विवाद चर्किँदै गएपछि महासचिव महेश बस्नेतसहित ५ जना पदाधिकारी र ६ जना सदस्यले सामुहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरूमा प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष बैकुण्ठ प्रसाद पौडेल, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिँजाली, सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरूङ, रमा खड्का र देवीप्रसाद गिरी रहेका छन् ।

संघका बहुमत पदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन् । ७ जना पदाधिकारीमध्ये ५ जना र १० जना निर्वाचित सदस्यहरूमध्ये ६ जनाले राजीनामा दिएका हुन् ।

उनीहरूले अध्यक्ष भुवनसिंह गुरूङको कार्यशैली संस्थागतभन्दा व्यक्तिगत हावी भई निजी कम्पनीको शैलीमा झल्किएको आरोप लगाएका छन्। यसअघि महासचिव सहितको कार्यसमिति बैठकले अध्यक्ष गुरूङलाई स्पष्टीकरण सोधेको थियो । लगत्तै अध्यक्षले नै महासचिवलाई स्पष्टीकरण सोधेका थिए ।

पटक पटक आन्तरिक रूपमा ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएपछि आफूहरूले सामूहिक राजीनामा दिएको महासचिव बस्नेतले बताए ।

निर्णय प्रक्रिया निष्पक्ष, पारदर्शी र सामूहिक नभएको, सरकारी निकाय, व्यवसायी, कार्यसमिति तथा सरोकारवालासँग समन्वयकारी भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको, संघभित्र स्वार्थ केन्द्रित तथा राजनीतिक प्रभाव हावी भएको लगायतका आरोप उनीहरूले लगाएका छन् ।

संघको विधानअनुसार अपेक्षित क्षमता र एकताका साथ काम गर्न कठिन भएको निष्कर्ष निकालेका छन् । यस्तो अवस्थामा पदमा यथावत रुपमा बस्न नसकिने भन्दै फ्रेस म्यान्डेट लिएर नयाँ नेतृत्व तथा कार्यसमिति चयन गर्नु संस्थाको हितमा हुने राजीनामा दिएकाहरूको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?