News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत रूपमा भीष्मराज आङदेम्बेलाई चयन गरेको छ।
- संसदीय दलको नेता चयनमा गुटगत समस्या हटाउन सर्वसम्मत प्रक्रिया अपनाइएको थियो।
- सभापति गगन थापाले निर्णय ढिलो हुनु लाचार भएर नभई सबै पक्षसँग संवादका कारण भएको बताएका छन्।
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदमा प्रतिनिधित्वको संख्या घटेको बेला पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बेको भूमिका भने संसदीय दलको नेताका रुपमा विस्तारित भएको छ ।
आङदेम्बेलाई संसदीय दलको नेता सर्वसम्मत बनाउन भने कांग्रेसभित्र लामो गृहकार्यले सम्भव भएको छ । नेताहरु अर्जुन नरसिंह केसी, आङ्देम्बे, मोहन आचार्य लगायत संसदीय दलको नेताका मूख्य आकांक्षी थिए । पार्टीमा शीर्ष तहको नेता, विगतमा सांसद एवं मन्त्री बनेको अनुभव लगायतले अर्जुनरसिंह केसीले संसदीय दलको नेताको स्वभाविक दाबेदार थिए ।
केसीले संसदीय दलको नेता दाबेदार रहेको सार्वजनिक रुपमा भनिरहेकै पनि थिए । केसी नै अगाडी सरेको अवस्थामा संसदीय दलको नेतामा उनलाई समर्थन गर्न आङदेम्बे समेत तयार हुने अवस्था थियो । कांग्रेसका एक पदाधिकारीले भने,‘अर्जुननरसिंह दाइ संसदीय दलको नेता बन्ने भए मेरो दाबी नहुने भीष्म दाइले भन्नु भएकै थियो ।’
प्रतिनिधि सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने नेताहरूमा शीर्ष स्थानमा रहेका केसीलाई बनाउँदा सभापति गगन थापा र उनको नाम जोडेर ‘परिवारवाद’ को आरोप लाग्ने भयो । पार्टी सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू केसीलाई दाबी छोडेर सर्वसम्मत्को वातावरण बनाउन लागे । संसदीय दलको नेताको दाबीबाट पछि हट्न केसी तयार भए ।
संसदीय दलको नेता चयन गर्नका लागि बनेको कार्यदलका नेताहरूले पनि केसीसँग छलफल गरेका थिए । केसीले शीर्ष नेताहरूसँग प्रक्रिया पुरा गरेर चयन गर्न आग्रह गरे । केसीकै सुझाव अनुसार उपसभापति शर्माको नेतृत्वमा संसदीय दल छनोटका लागि संवाद गर्न समिति बनाइएको थियो । शर्मा संयोजक रहेको उक्त समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य थिए ।
संसद्मा संख्यात्मक रुपमा कमजोर रहेको बेला प्रखर व्यक्ति संसदीय दलको नेता बन्नुपर्नेमा नेताहरू एकमत थिए । अनुभव र परिवक्वताले केसी वा आङ्देम्बेको नाम बढी चर्चामा थियो । नयाँ परिवेश अनुसार युवा पुस्ताबाट संसदीय दलको नेता बनाउनुपर्ने विचार पनि प्रवाह भइरहेका थिए । अर्कोतर्फ, ३ पटक लगातार प्रतिनिधिमा निर्वाचित भएका मोहन आचार्य बनाउनुपर्ने तर्क पनि आइरहेका थिए ।
केसी नहुने हकमा शीर्ष नेता, परिपक्वता, जनजाति लगायतका कारणले आङ्देम्बे संसदीय दलको नेताको आकांक्षीमा अरुभन्दा अघि देखिए ।
संसदीय दलको नेता आङदेम्बेलाई बनाउँदा गुटको राजनीतिको पनि अन्त्य हुने बुझाई पनि पार्टी नेताहरूमा थियो । निर्वाचन नगरेर सर्वसम्मत गर्नुको कारण प्रष्टाउँदै शीर्ष तहका एक नेताले भने,‘संसदीय दलको चुनाव भए गुटको दोकान जारी रहने एउटा समूहलाई लागेको थियो । उनीहरूको चाहना बन्द भयो ।’

संसदीय दलको चुनावमा पार्टी सभापति हाबी हुने कांग्रेसमा विगतदेखिको परम्परा छ । समानुपातिक उम्मेदवारको टिकटमा पूर्वसभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेपनि चुनावपछि नामावली नयाँ सभापति थापाले पठाएका थिए । समानुपातिकमा देउवाले बनाएका उम्मेदवार बढी हुने र पूर्वसंस्थापन पक्षबाट प्रत्यक्षमा जितेका केही अनुहार छन् । संसदीय दलको चुनाव हुँदा हाल सभापति थापा पक्षलाई नै अहसज हुने आशंका पनि पार्टीभित्र थियो । एक पदाधिकारीले भने,‘सभापतिले जसलाई चाह्यो त्यो व्यक्ति चुनाव भएपनि चयन हुने नै थिए । चुनाव गराउन नखोजेकै हो । गुटगत समस्या हटाउन हामी सर्वसम्मतको बाटोमा जानु पर्ने नै थियो ।
यो बीचमा आकांक्षीहरूबीच समेत एक आपसमा छलफल गरेको नेताहरूले जानकारी गराए । आकांक्षीहरू केसी, आङदेम्बे र आचार्यले एक आपसमा छुट्टाछुट्टै कुरा गरेका थिए । उपसभापति शर्मा नेतृत्वको समितिले अर्का आकांक्षी आचार्यलाई पनि आङदेम्बेको नाममा राजी गरायो ।
कांग्रेस नेताहरूका अनुसार आङ्देम्बेलाई संसदीय दलको नेता बनाउनका लागि उनले विगतमा खेलेको भूमिकाले पनि काम गरेको छ ।
पूर्वसभापति देउवाको पक्षमा विगतमा उनी रहेपनि समन्वयकारी नेताको भूमिका खेलेको नेताहरू बताउँछन् । विशेष महाधिवेशनको विरुद्दमा देउवा पक्षका कतिपय नेताहरू खरो उत्रिँदा उनी विरोधमा लागेनन् ।
समानुपातिक सांसद चुनिएर संसदमा दलको तर्फबाट बोल्ने क्रममा उनले विशेष महाधिवेशनको अपनत्व लिएका थिए । जेजनी आन्दोलनको माग अनुसार नै पार्टी रुपान्तरणका लागि विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याएको तर जनतालाई बुझाउन कांग्रेसलाई समय पर्याप्त नभएको आङ्देम्बेले बताएका थिए । दुईदिन अघि स्टाटस लेखेर आफू कुनै समूहमा नरहेको र सभापति थापाको स्पिरिट अनुसार कार्य गर्ने आङदेम्बेले बताएका थिए ।
प्रतिनिधि सभाका छवटा दल मध्ये सबैभन्दा ढिलो संसदीय दलको नेता चयन गर्ने दल कांग्रेस बनेको छ । संसदीय दलको नेता चयन ढिलो गर्दा कांग्रेसभित्र र बाहिरबाट नयाँ नेतृत्वप्रति प्रश्न उठेका थिए । निर्णयलाई परिपक्व बनाउनका लागि संसदीय दलको नेता ढिलो चयन गरिएको सभापति थापा बताउँछन् । संसदीय दलको नेता ढिलो चयन हुनुमा लाचारीका कारणले नभएको सभापति थापाको तर्क छ । यसपटक सांसदहरूको चाहना नै सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा रहेको हुँदा त्यसैको लागि बढी छलफल गरिएको थापा बताउँछन् ।
‘हाम्रो पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक हो, तर यस पटक धेरै जसो सांसदहरूको चाहना सर्वसम्मत नेतृत्व चयन होस् भन्ने थियो । पार्टीभित्र प्रतिस्पर्धा गराउन सजिलो छ, तर सर्वसम्मत गराउन धेरै गार्हो छ,’ सभापति थापाले संसदीय दलको नेता चयन गरेपछि भने, ‘तपाईंहरूले बाहिर ढिलो भयो भनिरहँदा हामी भित्र निर्णयलाई परिपक्व बनाउँदै थियौँ । यो ढिलाइ अल्छि गरेर वा लाचार भएर भएको होइन । सबै पक्षसँग संवाद र छलफल गर्नुपर्ने भएकाले केही समय लागेको हो ।’
प्रतिक्रिया 4