News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले विद्यार्थी राजनीतिलाई प्रतिबन्ध गर्न खोज्नु अलोकतान्त्रिक र फासीवादी कदम हो ।
- विद्यार्थी संगठनप्रति गर्न लागेको हस्तक्षेपहरूबाट सरकार पछि हट्नु यस घडीमा मुलुकको हितमा हुनेछ।
- विद्यार्थी संगठनले पनि अपराधबोध गर्दै माफी माग्नुपर्छ र दलहरूले गुन्डागर्दी, हप्ताअसुली र आगजनीप्रति शून्य सहनशीलता अपनाउन प्रतिबद्धता जनाउनुपर्छ।
- विचारको आधारमा संगठित हुने हरकोही नागरिकको अधिकार छिन्न बालेन सरकारलाई संविधानले रोक्छ। राष्ट्रसंघीय अनुबन्ध र घोषणाहरूले त बालेन सरकारलाई खुर्मुर्याउँछन् नै।
गुरुलाई धम्क्याउने मात्र नभई रड र खुकुरी हानेर मर्यो भनेर नालीमा फाल्नेको विद्यार्थी संगठन, प्रश्नपत्र कडा भयो भनेर पुस्तकालय जलाउनेहरूको संगठन, सीटीईभीटी/प्राविधिक कलेजमा भर्ना गराएर रकम असुल्नेहरूको संगठन, दरबारमार्ग/ठमेलमा हप्तावारी असुल्नेहरूको विद्यार्थी संगठन।
यस्ता संगठनहरूलाई बन्देज नगरेर के पुलपुल्याएर राख्ने? धेरैले भनिरहेका छन्– ठीक गर्यौ सरकार।
के बालेन सरकारले ठीक गरेकै हो?
यो लेखिरहँदा म ४७ वर्षअघि ‘विद्यार्थी युनियन खोल्न देऊ’को नारा लगाउँदै सडकमा निस्केको सम्झँदैछु। ‘विद्यार्थी युनियन’ कसरी प्राप्त भयो ? यसको पूराका पूरा समयसारिणी मैले बिर्सेको छैन।
यहाँ यति भन्छु– ‘विद्यार्थी युनियन’ को माग राखेर जुलुसमा निस्केको हाम्रो पुस्ताले नै पञ्चायती कालरात्रिको युगमा कलेजभित्र ‘स्वतन्त्र विद्यार्थी युनियन’ र राजनीतिमा ‘राष्ट्रिय विद्यार्थी युनियन’ खोल्नेसम्म अधिकार प्राप्त गरेको थियो। समयक्रममा यही राष्ट्रिय विद्यार्थी युनियनले नेपाली राजनीतिमा ल्याउन महत्वपूर्ण योगदान गरेको हो। त्यो स्पष्ट तथा उज्यालो छ र आजका दिनमा समेत गर्वका साथ महिमा गाउन सकिन्छ।
तर इतिहास सुमसुम्याएर नहुने रहेछ। हिजो हामीले युनियनको माग गरेका थियौं भनेर नहुने रहेछ। हामीले हेर्दाहेर्दै मूलधारसँग नजिक भनिने विद्यार्थी संगठनहरू करीब करीब हामीले लखेटेका ‘मण्डले’ संगठन जस्ता भइसकेका थिए। तिनको नेतृत्व विद्यार्थीका थिएनन्, ती पार्टीका पनि थिएनन्– ती नेताका लठैत जस्ता भए।
ती कलेजभित्र विद्यार्थीको कर्ममा रहेनन् र जनतासँग विनम्र भएनन्। संगठनको नेतृत्व नै राजनीति र वैचारिकीप्रति कुनै प्रतिबद्धता नभएका निष्ठाहीन र नैतिक–आचारहीन झुण्ड भइसकेको देखिन्थ्यो। संगठनको कार्यजिम्मेवारी लिन ‘आकर्षक क्षेत्र’का लागि ग्याङ फाइट भएको सुनिन्थ्यो।
चन्दा असुलीका कारण मध्यमस्तरीय उद्यमीहरू र प्राइभेट स्कूल तथा प्राविधिक कलेजहरू, विभिन्न धन्दाका कारण सज्जन प्रहरी अधिकृतहरू र बौद्धिक/शैक्षिक जगत सबै विद्यार्थी–नेतृत्वबाट आजित भइसकेका थिए। विद्यार्थी नेतृत्वप्रति तिनकै माउ पार्टीका प्रदेश तथा जिल्ला संगठनहरू समेत क्रुद्ध थिए। तिनीहरू पार्टीको विस्तार र राजनीतिमा सहयोगी भन्दा भार बनिरहेका थिए।
यसरी विद्यार्थी संगठनको नाममा शैक्षिक क्षेत्रभित्र र बाहिर भइरहेका कुकार्य र अपराधका विरुद्ध अघिल्ला सरकारहरूले नै सख्त कारबाही र प्रभावकारी नियन्त्रण गर्नु जरूरी थियो। जुन काम बालेन सरकारले गर्न चाहेको देखियो। यस हिसाबले बालेन सरकारको प्रयास ठीकै हो जस्तो लाग्छ।
त्यसैले बालेन सरकारको आवश्यक भन्दा ठूलो मार देख्दादेख्दै पनि शहर चुपचाप छ, विभिन्न नामधारी विश्वविद्यालयका उपकुलपतिहरूले शैक्षिक जगतको स्वायत्ततामाथिको आक्रमणलाई दस्तखतसहित समर्थन गरेका छन्, विद्यार्थी संगठनहरू दिउँसो विरोध गर्न नसकेर साँझ मास्क लाएर छड्के जुलुसमा कुदिरहेका छन्। तर यस्तो दृश्यलाई बालेन सरकारले आफ्नो प्रयासको समर्थन र जित ठानेको हुनसक्छ, आम समुदायले विद्यार्थी संगठन र आन्दोलनको औचित्य समाप्त भएको बुझेका छन्। तर ती दुवै भ्रममा छन्। विद्यार्थी संगठन र आन्दोलनको औचित्य नवौं चिरञ्जीवी जत्तिकै राजनीतिभित्र सुषुप्तावस्थामा रहेको हुन्छ।
विद्यार्थी संगठन र आन्दोलनको औचित्य
इतिहासमा संगठन बन्छन्, लोप हुन्छन्। नेपालमै पनि अखिल नेपाल विद्यार्थी फेडरेशन थियो। त्यसले आफ्नो समयमा शैक्षिक आन्दोलन गरेको थियो; राष्ट्रियताका पक्षमा, महङ्गी विरुद्धमा ठूला–ठूला आन्दोलन चलाएको थियो। तर आज त्यो संगठन नै छैन तर त्यसको लोपसँगै अरू आए अरूले विद्यार्थी आन्दोलन हाँके।

संगठनलाई बन्देज गर्न सकिन्छ र कलेज हाता बाहिर खेद्न सकिएला तर आन्दोलन भने भुसको आगो जस्तै केही अवधि गुम्सिएर बस्छ। जब मुद्दाको फिलिङ्गो सुकेको मुढामा पुग्छ, तब तानाशाहका दरबारका दलिनलाई टिप्छ। यसबेला संगठनको जरुरत पर्दैन, असंगठित विद्यार्थी जत्थाले नै सिंहदरबार र सर्वोच्च अदालत जलाइदिन सक्छ।
संगठनको नेतृत्व असल भयो भने विद्यार्थीलाई ‘पहिला पढाइमा ध्यान देऊ’ भन्छ, ‘असल बन’ भन्छ, ‘उद्देश्यप्रति एकाग्रचित्त लगाऊ’ भन्छ। यसले विद्यार्थीका आवश्यकताबारे सरोकार पक्षसँग अनुनय र मोलमोलाइ गर्छ। २०३५/३६ सालताका अनेरास्ववियू र नेविसंघ यसैमा दत्तचित्त थिए भनेर म दावा गर्न सक्छु।
विद्यार्थी आन्दोलन कलेजभित्र सीमित हुँदैनन्। यसले कुनै पनि समयमा आफ्नो घेरा नाघ्छ, नाघ्छ। त्यसैले विद्यार्थी आन्दोलनहरू समयले करवट बदलिएसँगै शैक्षिकदेखि राजनैतिक मुद्दाहरूमा हुने गर्दछन्। यसले पेट्रोलको भाउ बढ्दा जुलुस निकाल्छ, निर्मला काण्डका हत्यारालाई गिरफ्तार गर भन्छ। यसले कहिलेकाहीं बङ्क गरेर क्रिकेट हेर्न या फुटबल खेल हेर्छ। माइतीघरको पिकेटिङ हेर्छ। यसलाई मनोरञ्जनका लागि आन्दोलन भने हुन्छ। शासकहरूले भने जसरी विद्यार्थी आफ्ना प्रत्यक्ष सरोकारका मुद्दाहरूमा मात्र सीमित रहँदैनन्। नेपालमै पनि अनेकौं विद्यार्थी आन्दोलनले अप्रत्यक्ष सरोकारलाई उछालेर शासकलाई सम्झौताको टेबलमा ल्याएका छन्।
जस्तो कि जयतु संस्कृतम् छात्र आन्दोलन २००४ मूलत: शिक्षाको आधुनिकीकरणका लागि थियो तर यसको दमनसँगै २००७ को क्रान्तिका लागि पृष्ठभूमि र जनशक्ति तयार गरिदियो। २०३५/३६ को विद्यार्थी आन्दोलन ‘युनियन खुला गर’ भन्ने मागसहितको शैक्षिक माग हुँदै जनमत संग्रह हुने राजनैतिक कदमसम्म पुग्यो। पाकिस्तानका जुल्फीकर अलि भुट्टोको फाँसी विरुद्धको प्रदर्शनले नेपालका राजाको सिंहासनमा पहिलो मार हान्यो।
यसरी नै संगठनको असल नेतृत्वले असल विद्यार्थी उदाहरण बन्ने प्रयास गर्छ। यस्तो नेतृत्व गुण्डागर्दी, हत्या र बलात्कारको विरोधमा उत्रन्छ। यसरी उत्रन नैतिक नेतृत्व हुनुपर्छ। यसले नै आम विद्यार्थीलाई नैतिक आन्दोलनमा सहभागी बनाइरहेको हुन्छ।
विद्यार्थी संगठनको नेतृत्व समाजकै उत्पादन हो– जस्तो राजनैतिक नेतृत्व हुन्छ त्यस्तै हुन्छ। होचि मिन्ह, गान्धी, माओ, बीपी, पुष्पलाल जस्ता सादगी र अध्ययनशील नेताहरूको अवधिमा विद्यार्थी नेतृत्व त्यस्तै हुन प्रयासरत थियो भने। आज आजकै जस्ता नेताहरूका प्रतिरूप विद्यार्थी संगठनमा देखिन्छन्। त्यसै कारण विद्यार्थी नेतृत्व नेपालको नक्साको केक काट्नेदेखि डोजर लगाएर चमेलीको घरबार उठाउनेसम्मका हर्कतहरूमा ताली पड्काइरहेको हुन्छ।
आन्दोलनका उद्देश्यहरू सहभागीका समूहहरू बीच भिन्न हुन्छन्। जेनजी प्रदर्शनकै उदाहरण लिउँ त। यस प्रदर्शनका अधिकांश कर्ता/खेलाडीहरू विद्यार्थी नै थिए। ‘सामाजिक सञ्जालको बन्द’ एक मुद्दा थियो तर असंगठित विद्यार्थीका सरोकारहरू भिन्न–भिन्न थिए– कसैले शैक्षिक मागको रूपमा बुझे भने कसैमा उपार्जनको प्लेटफर्म खोसिने भय थियो जुन आर्थिक माग थियो र कोही मनोरञ्जनका रूपमा बङ्क गर्दै आइपुगेका थिए। तर जेनजी प्रदर्शनलाई हाइज्याक गर्नेहरूले राजनैतिक मुद्दा बनाएर बडो उपद्रव र विध्वंस गरेर सरकारलाई खेदे।
यी दृष्टान्तहरूलाई केलाउँदा नेपालको विद्यार्थी आन्दोलनले शैक्षिक सुधार, हक–अधिकारको प्राप्ति वा सामाजिक–राजनीतिक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ नै। यो कलेजभित्र जकडिएर मात्र र शैक्षिक मागहरूमा मात्र खुम्चिएर नरहेको पनि देखिन्छ। यसले शैक्षिकदेखि राजनैतिक मागहरू बोकेर हिंडेको छ। त्यसैले अब पनि विद्यार्थी आन्दोलन १. शैक्षिक, २. राजनैतिक, ३. आर्थिक र ४. नैतिकताका मुद्दाहरू लिएर समाजमा रहिरहन्छ। यी ४ मुद्दाहरू नै विद्यार्थी आन्दोलनको मुख्य क्षेत्र र दायरा हुन्। यस्ता आन्दोलनलाई अराजकतामा भट्किन र दायरा भन्दा पर पुग्न नदिन विद्यार्थी संगठन चाहिन्छ चाहिन्छ। त्यसलाई हाँक्ने युवावर्गको नेतृत्व समाजमा छ– रहन्छ।
विद्यार्थी आन्दोलन हाँक्ने हर्मोन र न्यूरोट्रान्समिटरहरू
विद्यार्थी आन्दोलन १० देखि ३० वर्षका युवावर्गले हाँकेको हामी देख्न सक्छौं। राम्ररी नियाल्दा आम विद्यार्थी शैक्षिक हड्तालमा समेत सहभागी हुने गरेको पाइँदैन। त्यसैले विद्यार्थी आन्दोलनलाई नबुझ्नेहरूले यसलाई ‘मुठ्ठीभर विद्यार्थी’को भन्ने गर्दछन्।
निश्चय नै ‘मुठ्ठीभर विद्यार्थी’ सामेल हुन्छन्। तर जो सामेल हुने गर्छन् – तिनीहरू दु:साहस, जोस र बलले मदमत्त हुन्छन्। तिनीहरू बाउआमाबाट मात्र स्वतन्त्र हुन होइन समाजका किल्ला भत्काउँदै आफ्नो झण्डा गाड्न आइपुगेका हुन्छन्। तिनीहरूले यसैक्रममा समाजभित्र आफ्ना स्वत्व (सेल्फहुड/पहिचान) उत्खनन्, निर्माण र स्थापना गर्छन्।
तिनीहरूलाई स्वत्व उत्खनन तथा निर्माण गर्न र स्थापित हुनलाई दुई तत्वहरूले निर्देश र नियन्त्रण गरिरहेका हुन्छन्। ती हुन्– व्यक्तिको जैविक तत्व र समाजको वर्गीय तत्व।
व्यक्तिको जैविक तत्व
युवावर्ग घर र कलेजको कम्पाउन्डबाट बाहिर चियाउन नपाएको बेला नै त्यसले आफ्नो स्वत्वको उत्खनन या खोज गरिरहेका हुन्छन्। त्यहाँ साथीसङ्गीसँग वादविवाद गर्छन्, च्याट गर्लान् या त्यहाँका गतिविधिमा भाग लिन्छन्। सामाजिक हुने प्रक्रियामा र्याप हान्लान्, त्यसमा चित्त नबुझाउलान्, विद्यार्थी आन्दोलनमा लाग्लान् या कुनै दलीय विद्यार्थी संगठनमा भाग लिन्छन् र समाजमा छुट्टै पहिचान स्थापना गर्न विद्यार्थी आन्दोलन हुँदै राष्ट्रिय राजनीतिमा आइपुग्छन्।
यसरी स्वत्व खोज्दै आइपुग्न कुरकुरेदेखि बैंस अवधिमा अत्यधिक सक्रिय भएका जैविक क्रियाहरूले निर्देश र नियन्त्रण गरिरहेका हुन्छन्। जुन व्यक्तिको मस्तिष्क सहित प्रजनन अङ्गमा रहेका ग्रन्थीहरूका शारीरिक क्रियाबाट पैदा भइरहेका तत्वहरूले गर्ने गर्दछन्।
डोपामिन न्यूरोट्रान्समिटरले स्वत्वको उत्खनन, नयाँ कार्य/विचारहरूतर्फ आकृष्ट गराउँछ, रोजाइ र क्षमता पनि बुझाउन थाल्छ। एड्रिनालिन न्यूरोट्रान्समिटरले तत्काल आइपरेका समस्यासँग लड्ने–भिड्ने आँट दिन्छ। क्रियारत प्रजनन अङ्गले टेस्टोस्टेरोन, पाचन प्रणालीबाट सेरोटोनिन जस्ता हर्मोनहरू र एड्रिनल ग्रन्थीबाट कर्टिसोल (स्टेर्वाइड) रसाउँछन्। यी सबैले समाजमा आफ्नो स्थानमा टिक्न र आफ्नो हैसियत (स्टाटस) निर्माण गर्न निरन्तर आँट दिइरहन्छन्।
यी न्यूरोट्रान्समिटर र हर्मोनहरू सबै उमेरका महिला पुरुषमा उत्पन्न हुन्छन् तर बैंसमा अत्यधिक मात्रामा हुन्छन्। यही भएर युवावर्गका सदस्यहरू दुस्साहस, जोस र बलले मदमत्त हुन्छन्। तिनीहरू बाउआमाबाट मात्र स्वतन्त्र हुन होइन समाजका युवा वर्ग बीच खास स्थान प्राप्त गर्ने महत्वाकाङ्क्षामा आइपुगेका हुन्छन्। त्यसैले तिनीहरूसँग त्यसैअनुरुप व्यवहार गर्नुपर्छ। अनि बुझ्नुपर्छ– तिनीहरूको वेग रोक्न सक्ने कुनै अदालत, पुलिस र सरकारको तागत हुँदैन।
समाजको वर्गीय तत्व
विद्यार्थी आन्दोलनको वर्गीय तत्वको चर्चा गर्न कुनै सन्दर्भसूची पेश गर्न सकिंदैन। यसरी नै यस आन्दोलनमा समाजका कुन वर्गका सहभागी बन्छन् र अगुवा को बन्छन् भन्ने आधिकारिक रूपमा दावा गर्न सकिंदैन। तर म करिब ५० वर्ष बीच कहिले सहभागी, कहिले अगुवा र कहिले दर्शक रहँदाको (अनुभवजन्य प्रमाण नभनी) प्रशोधित विचार या रेफ्लेक्सनबाट भन्न सक्छु– हरेक विद्यार्थी आन्दोलनको अगुवाइ उच्च मध्यम या मध्यम वर्गका युवावर्गले लिने गरेको देखिन्छ।
ती राजधानी भन्दा बाहिरका र मुलुकका नगर तथा समाजबाट आएका देखिन्छन्। यसका लागि म २०३३–३५ सालभित्रको मेडिसिन क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय मित्रहरूको पृष्ठभूमि स्मरणमा ल्याउँदैछु। ती उच्च मध्यमका नभए पनि उनका दाजुबाउहरू राजनीतिमा लागेका मध्यम वर्गका थिए। जो अधिकांश अहिले नेपालको राजनीतिमा हावी छन्।
२०३६ सालको विद्यार्थी आन्दोलनले स्वतन्त्र विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी युनियन बनाउने छुट पाएपछि अगुवाहरू पेशेवार बन्न थालेको देखिन्छ। यसो हुनुको कारण नेपालका प्रतिबन्धित राजनैतिक पार्टीले यसैबाट राजनीतिक आन्दोलन चलाउने एक फोरमको रूपमा विकास गरेका थिए। त्यसको नेतृत्वमा पनि उच्च तथा मध्यम वर्गको बाहुल्य थियो।
नेतृत्वको कार्यकाल बढाउन कुनै न कुनै उपायबाट कलेजमा आवद्ध हुने गरेका देखिन्थे। जस्तो कि एक विषयमा उत्तीर्ण भएपछि अर्को विषयमा भर्ना भएका हुन्थे। हाल पनि यस्तो प्रचलन रहेको सुनेको छु।
अघिका आन्दोलनमा झैं यस अवधिका आन्दोलनमा पनि कानून, विज्ञान र प्राविधिक कलेजका विद्यार्थी अग्रिम पङ्तिमा देखिएका छन्। चाहे तिनीहरूको उच्च शिक्षा अन्य विषयमा भएको भने पनि कलेजमा प्रवेश यी विषयहरूबाट भएको देखिन्छ। तर यी विषय नभएका स्थानहरू या केही अपवादका रूपमा नेतृत्व सामाजिक विज्ञानको हुने नै भइहाल्यो। कानून, विज्ञान र प्राविधिक कलेजहरूमा उच्च मध्यम तथा मध्यम वर्गको सुगम पहुँच भएकाले यसो भएको हुन सक्छ।
सामाजिक आर्थिक रूपले विपन्न वर्गका विद्यार्थी केही अपवादमा नेतृत्वमा देखिए पनि आम संख्या आन्दोलनमा दर्शकहरूका रूपमा सहभागी भएका देखिन्छन्।
माथि प्रस्तुत मेरो प्रशोधित विचारलाई अनुभवजन्य प्रमाण जुटाउन जेनजी प्रदर्शन र यसका कर्ता/अगुवाहरूबारे अध्ययन गर्न सान्दर्भिक हुन सक्छ। जसरी ओली/आरजू सरकारले उच्च मध्यम/मध्यम वर्गको अगुवाइमा भएको जेनजीको वेग रोक्न सकेन। त्यसरी नै यो बालेन सरकारका लागि युवा विद्यार्थी आन्दोलनको अगुवाइ गरिरहेका संगठनहरूको क्षेत्र र दायरा रोक्न असम्भव छ।
किन असम्भव छ र प्रत्युत्पादक हुनेछ ?
विद्यार्थी संगठनहरूको क्षेत्र र दायरा रोक्न बालेन सरकारले ऐन र नियमावली संशोधन गर्ने निर्णय नै गरेको छ। जुन यो एकमना सरकारले सक्छ। तर विचारको आधारमा संगठित हुने हरकोही नागरिकको अधिकार छिन्न नेपालको संविधान २०७२ ले रोक्छ। राष्ट्रसंघीय अनुबन्ध र घोषणाहरूले त बालेन सरकारलाई खुर्मुर्याउँछन् नै।
विद्यार्थी जैविक क्रियाका कारण स्वत्व स्थापित गर्न समाज र संगठनहरूमा आइपुगेका हुन्छन्। तिनीहरूको गन्तव्य बालेन सरकारका फर्मान र लाठीहरूको प्रहारबाट रोकिंदैन। विद्यार्थी संगठनलाई कलेज हाताबाट बाहिर निकाल्नासाथ सडकमा आइपुग्छ त्यसलाई दमन गर्न प्रधानमन्त्रीले सुरक्षा निकायलाई आदेश नै दिइसकेका छन्। यो ‘विद्यार्थी भिडन्तमा आऊ’ भन्ने फरमान हो। यसले सडक र बस्तीमा अशान्ति र भय सिर्जना गर्नेछ।
सडक र बस्तीमा अशान्ति र भय सिर्जना भएमा समाजमा हस्तक्षेप बढाउँदै गरेको मध्यमवर्ग समेत शुरुमा विद्यार्थीको पक्षमा देखा नपरे पनि केही समयपछि सरकारको विरोधमा उत्रनेछ। त्यसमाथि रुष्ट विद्यार्थी संगठनहरूले ‘मर्ता, क्या नही कर्ता’ भने जसरी उद्योगी/व्यवसायीमाथि बढाएको अनुसन्धानलाई क्रीडास्थल बनाउन सक्छन्। यहीबेला ‘युवाहरूले रोजगारी आफैं सिर्जना गर्ने हो सरकारले सक्दैन’ भनेको सुनिंदैछ। यसले बेरोजगारी युवकहरू विद्यार्थी आन्दोलनमा मिसिन सक्छन्। यी कुराहरू सरकारले हेक्कामा राख्नुपर्छ।
अब के गर्ने ?
विद्यार्थी संगठनहरूले अपराधबोध गर्दै माफी माग्नुपर्छ र दलहरूले विद्यार्थी संगठनको नाममा गुन्डागर्दी, हप्ताअसुली र सार्वजनिक सम्पत्तिमा आगजनी गर्नेहरूप्रति शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाउनुपर्छ।
यसैगरी, सरकार विद्यार्थी संगठनप्रति गर्न लागेको हस्तक्षेपहरूबाट पछि हट्नु यस घडीमा मुलुकको हित हुन्छ। तर मेरो सुझाव सरकारप्रति मेरो पूर्वाग्रह ठानिन सक्छ। यसकारण वर्तमान सरकारका सदस्यहरूका सहयात्री रहेका वैकल्पिक राजनैतिक आन्दोलनका एक चर्चित अगुवा डम्बर खतिवडाको फेसबुकमा राखिएको सुझाव पस्कन्छु। जुन सरकारका लागि पूर्वाग्रहरहित सुझाव हुन सक्छ।
भन्छन्– ‘विद्यार्थी भ्रातृ संगठन बनाउने वा नबनाउने सरकारको निर्णयाधिकारको विषय हैन, दलको क्षेत्राधिकार हो। चाहनेले बनाउन्, नचाहने दलले नबनाउन् तर स्ववियू निर्वाचन व्यक्ति मतदाता र उम्मेदवार हुने प्रणालीमा होस्। निर्वाचित स्ववियूको राष्ट्रिय परिषद् होस्। त्यही नै साझा विद्यार्थी संगठन हो। बालेन सरकारले विद्यार्थी राजनीति नै प्रतिबन्ध गर्न खोजेको हो भने त्यो अलोकतान्त्रिक र फासीवादी कदम हो– सख्त विरोध हुनुपर्छ। पहिलो कुरा– सरकारले गर्न के खोजेको हो– त्यो स्पष्ट गर…।’
(भट्टराई, २०३५/३६ को विद्यार्थी आन्दोलनका अगुवा र अनेरास्वियूको प्रचार विभागका प्रमुख हुन्।)
प्रतिक्रिया 4