+
+
Shares

राघव चड्डाबारे सौरभ भारद्वाज : आपले सांसद नबनाएको भए परिणितिसँग बिहे हुने थिएन

भारद्वाजले चड्डालाई कृतघ्नको आरोप लगाउँदै उनको विवाह समेत पार्टीले दिएको पदकै कारण सम्भव भएको टिप्पणी गरेका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम आदमी पार्टीका सात सांसदले भारतीय जनता पार्टीमा प्रवेश गरेपछि राजनीतिक गतिरोध उग्र बनेको छ।
  • राघव चड्डाले 'आप' लाई विषाक्त कार्यस्थल भनेका छन् र भ्रष्ट मानिसहरूको कब्जामा रहेको आरोप लगाएका छन्।
  • सौरभ भारद्वाजले चड्डालाई कृतघ्न भन्दै उनको विवाह पार्टीले दिएको पदकै कारण सम्भव भएको बताएका छन्।

१५ वैशाख, काठमाडौं । आम आदमी पार्टीबाट राज्य सभाका सात सांसदले सामूहिक रूपमा पार्टी त्याग गरी भारतीय जनता पार्टीमा प्रवेश गरेपछि सिर्जना भएको राजनीतिक गतिरोध यतिबेला निकै उग्र बनेको छ। यस प्रकरणमा विशेषगरी राघव चड्डा र ‘आप’ का नेता सौरभ भारद्वाजबीचको वाकयुद्धले व्यक्तिगत आक्षेपको रूप लिएको छ।

चड्डाले ‘आप’ को कार्यशैलीलाई ‘विषाक्त कार्यस्थल’ को संज्ञा दिँदै त्यहाँ काम गर्ने स्वतन्त्रता नभएको र पार्टी अहिले केही भ्रष्ट मानिसहरूको कब्जामा रहेको गम्भीर आरोप लगाएका छन्। उनले आफूले आफ्नो जीवनका १५ महत्वपूर्ण वर्ष पार्टीका लागि खर्चिएको तर अहिले संसदमा बोल्न र काम गर्न समेत रोक लगाइएकाले नयाँ बाटो रोज्नुपरेको स्पष्ट पारेका छन्।

चड्डाको यस आरोपको जवाफ दिँदै सौरभ भारद्वाजले उनको व्यक्तिगत जीवनमाथि नै प्रहार गरेका छन्। भारद्वाजले चड्डालाई कृतघ्नको आरोप लगाउँदै उनको विवाह समेत पार्टीले दिएको पदकै कारण सम्भव भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा भारद्वाजले चड्डालाई कृतघ्नको आरोप लगाउँदै भनेका छन्, ‘यदि तपाईंको विवाह आज परिणिति चोपडासँग हुन सक्यो भने, त्यो ‘आप’ ले तपाईंलाई राज्य सभा सांसद बनाएका कारण मात्र सम्भव भएको हो।’ उनको यो भनाइले यतिबेला भारतीय राजनीति र सामाजिक सञ्जालमा ठूलो बहस छेडिदिएको छ।

भारद्वाजले चड्डाको कदमलाई विश्वासघात भन्दै एउटा कर्मचारीले कम्पनी छोड्दा समेत पालना गर्ने न्यूनतम नैतिकता (नोटिस पिरियड) चड्डाले बिर्सिएको दाबी गरेका छन्।

राघव चड्डा र अभिनेत्री परिणिति चोपडाको विवाह सन् २०२३ सेप्टेम्बरमा राजस्थानमा भ सम्पन्न भएको थियो। त्यतिबेला सो विवाहमा ‘आप’ प्रमुख अरविन्द केजरीवाल र पञ्जाबका मुख्यमन्त्री भगवन्त मान समेत विशेष अतिथिका रूपमा सहभागी भएर चड्डालाई आशिर्वाद दिएका थिए। सोही सौहार्दपूर्ण सम्बन्ध अहिले दलीय अदलबदलसँगै व्यक्तिगत आक्षेपमा परिणत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?