+
+
Shares

सगरमाथा आधार शिविरमाथिको ‘डेडलक’ खुल्यो, अघि बढे आइसफल डाक्टर

अनुभवी र विशेषज्ञ आरोहीहरू (आइसफल डाक्टर) को टोली यसपालि वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने रुटमा डोरी र भर्‍याङ टाँग्न अप्रिल पहिलो साता आधार शिविर पुगेका थिए ।

अच्युत पुरी अच्युत पुरी
२०८३ वैशाख १५ गते १५:०२
Photo Credit : तस्वीर स्राेत : सेभेन समिट ट्रेक्स

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा आरोहणका लागि आइसफल डाक्टरहरू करिब तीन सातादेखि आधार शिविरमाथि रोकिएका थिए।
  • खुम्बु आइसफलमा ठूलो हिउँको ढिस्कोले बाटो अवरुद्ध भएपछि प्राकृतिक रूपमा पग्लिन पर्खाइमा बसेका थिए।
  • सरकारले सगरमाथा आरोहण मार्गमा सुरक्षित बाटो निर्माणका लागि पर्वतारोहण संघलाई अनुमति दिएको छ।

१५ वैशाख, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा नियमित रुटबाट बाटो बनाउन गएका ‘आइसफल डाक्टर’ हरू झन्डै तीन सातादेखि आधार शिविरमाथि रोकिन पुगे ।

यसपालि वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन गएका आइसफल डाक्टरहरू आधार शिविरबाट माथि र क्याम्प १ बीचको खुम्बु आइसफलमा झरेको हिउँको ठूलो ढिस्कोका कारण रोकिएका थिए ।

त्यो ढिस्को हटाउन असम्भव भएपछि प्राकृतिक रूपमा पग्लिने पर्खाइमा बसे । तर, पर्खाइ करिब तीन साता बित्यो ।

‘खुम्बु आइसफलमा रहेको डेडलक आज खुलेको छ,’ पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषिराम भण्डारीले भने, ‘प्राकृतिक रूपमा रहेको अवरोध हटेपछि आइसफल डाक्टरहरू क्याम्प १ बाट क्याम्प २ तिर अगाडि बढेका छन्, यो खुसीको खबर हो ।’

अनुभवी र विशेषज्ञ आरोहीहरू (आइसफल डाक्टर) को टोली यसपालि वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने रुटमा डोरी र भर्‍याङ टाँग्न अप्रिल पहिलो साता आधार शिविर पुगेका थिए ।

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार क्याम्प १  नपुग्दै बरफका ठूला ढिक्का (सर्‍याक) ले बाटो रोकेको थियो । जुन यस रुटको जोखिमपूर्ण मानिने खुम्बु आइसफल क्षेत्रमा पर्छ ।

सरकारले सगरमाथामा आरोहण रुट बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र पर्वतारोहण सञ्चालक संघलाई जिम्मा दिने गर्छ ।

त्यसमध्ये आधार शिविरबाट दोस्रो शिविरसम्म एसपीसीसी र त्यसमाथि संघका आइसफल डाक्टर बाटो बनाउन खटिने गर्छन् । तर, यस पटक क्याम्प १ मा नै नपुगी अवरोध आएपछि नेपाल सरकारले खुम्बु आइसफलमा सुरक्षित बाटो निर्माण र डोरी टाग्ने कार्यका लागि पर्वतारोहण संघलाई समेत खटिन अनुमति प्रदान गरेको थियो ।

पर्यटन विभागका अनुसार ११ वैशाखको मन्त्रीस्तरीय निर्णयले सगरमाथा, ल्होत्से र नुप्त्से शिखर आरोहण मार्गमा पर्ने खुम्बु आइसफलमा सुरक्षित बाटो निर्माण तथा डोरी टाँग्ने काम यथाशीघ्र सम्पन्न गर्न संघलाई समेत अनुमति प्रदान गरेको थियोे ।

एनएमएका अध्यक्ष शेर्पाका अनुसार सरकारको अनुमतिपछि संयुक्त टोली परिचालन भई बाटो बनाउन खटिएको छ ।

यस रुटबाट आरोहण गरिने सर्वोच्च शिखर सगरमाथा सहित ल्होत्से र नुप्त्सेमा सामान्यतया जेठ पहिलो सातादेखि आरोहण सुरु भई दोस्रो साताभित्र सक्ने गरी आरोहण गतिविधि हुने गर्छ ।

त्यसअघि नै आरोहण काममा अभ्यस्त हुन र पूर्वतयारीका लागि अहिले सयौँ आरोही र नेपाली सहयोगी कर्मचारी सगरमाथा आधार शिविर पुगिसकेका छन् ।

पर्यटन विभागको पछिल्लो तथ्यांक अनुसार यस वर्ष सगरमाथाका लागि मात्र ४२ समूहका ४ सय २५ आरोहीले अनुमति लिएका छन् । जसमध्ये ९७ महिला छन् ।

नुप्त्सेमा ४ समूहका ४२ आरोहीले अनुमति लिएको विभागले जनाएको छ । ल्होत्सेमा ९ समूहका १ सय ११ आरोहीले अनुमति लिएको तथ्यांक छ ।

यी तीन वटै हिमाल आरोहणपूर्व आधार शिविर भने सगरमाथा नै हो । आरोही, नेपाली शेर्पा, सहयोगी कर्मचारी र नियामक निकायका कर्मचारी सहित ठूलो संख्यामा आरोही यतिबेला आधार शिविरमा रहेको संघ अध्यक्ष शेर्पाले जानकारी दिए ।

आधार शिविरमा विभागले फिल्ड कार्यालय स्थापना

उता, पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । पर्वतारोहण अनुगमन तथा सहजीकरण गर्ने उद्देश्यले विभागले कर्मचारी सहित फिल्ड कार्यालय स्थापना गरेको हो ।

यस वर्ष विभागले सगरमाथा सहित २९ हिमालमा अहिलेसम्म ९ सय ९६ आरोहीलाई आरोहण अनुमति दिएको छ । अन्य मूख्य हिमालमा भने आरोहण सुरु भइसकेको छ । यस वर्ष सरकारले ६० सम्पर्क अधिकृतलाई आरोहण नियमन, व्यवस्थापन र सहजीकरणको प्रयोजनमा खटाएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?