News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीएफसी फाइनान्सले सिप्रदीविरुद्ध ३ विकेटले जित दर्ता गर्दै टेकस्पायर कर्पोरेट लिग टी-१० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
- क्लाउड फ्याक्ट्रीले टेक्स्पायरलाई ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
- एनसेलले सुबिसुलाई ३ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने सुबिसुले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ।
१५ वैशाख, काठमाडौं । टेकस्पायर कर्पोरेट लिग टी-१० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा आईसीएफसी फाइनान्सले रोमाञ्चक जित दर्ता गरेको छ । सिप्रदी विरुद्ध आईसीएफसी फाइनान्स ३ विकेटले विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको सिप्रदीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । टोलीका लागि शैलेन्द्र नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ४९ रन बनाए भने निराजन केसीले अविजित ३६ रन थपे । युगेश न्यौपानेले ३२ रनको योगदान दिए ।
१३८ रनको लक्ष्य पछ्याएको आईसीएफसी फाइनान्सले ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । टोलीका लागि सुरज तिमल्सिनाले शानदार ब्याटिङ गर्दै अविजित ७३ रन बनाए, जुन जितको मुख्य आधार बन्यो । साथै सुभाष भण्डारीले १६ र अरविन्द रानाले ११ रनको योगदान दिए ।
यो जितसँगै आईसीएफसी फाइनान्सले प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिप्रदी भने प्रतियोगिताबाट बाहिरिएको छ ।
दोस्रो खेलमा क्लाउड फ्याक्ट्रीले ३ विकेटले जित हात पारेको छ । अन्तिमसम्म तनावपूर्ण बनेको खेलमा क्लाउड फ्याक्ट्रीले लक्ष्य पछ्याउँदै उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो ।
पहिले ब्याटिङ गरेको टेक्स्पायरले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएको थियो । टेक्स्पायरका लागि हृषभ पोखरेलले सर्वाधिक २० रन बनाए भने बिजय बाबु रेग्मीले १३ रनको योगदान दिए । अतिरिक्त रनबाट पनि टोलीले राम्रो सहयोग पायो।
७० रनको लक्ष्य पछ्याएको क्लाउड फ्याक्ट्रीले ७.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । चन्द्र गुरुङले महत्वपूर्ण १७ रन बनाए भने सुबोध धुंगेलले तीव्र गतिमा १३ रन जोड्दै टोलीलाई जिततर्फ अघि बढाए । अन्त्यतिर रतिश श्रेष्ठ र बिराज काफ्ले नटआउट रहँदै जित सुरक्षित गरे ।
बलिङतर्फ टेक्स्पायरका बलरहरूले प्रयास गरे पनि अन्तिम समयमा दबाब सम्हाल्न नसक्दा खेल क्लाउड फ्याक्ट्रीको पक्षमा गयो । यस जितसँगै क्लाउड फ्याक्ट्री सेमिफाइनलमा प्रवेश गरेको छ भने टेक्स्पायर लिगबाट बाहिरिएको छ।
आज भएको तेस्रो खेलमा एनसेलले सुबिसुविरुद्ध ३ विकेटको जित हात पारेको छ । अन्तिम ओभरसम्म पुगेको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।
पहिले ब्याटिङ गरेको सुबिसुले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । सुबिसुका लागि दमन चन्दले अविजित ३५ रनको उत्कृष्ट पारी खेले भने विवेक कुमार यादवले १६ रनको योगदान दिए ।
८४ रनको लक्ष्य पछ्याएको एनसेलका लागि समाज पौडेलले विस्फोटक ब्याटिङ गर्दै १९ बलमा ३७ रन बनाए । साथै सौरभ शाहले २५ रन जोड्दै टोलीलाई जिततर्फ अघि बढाए ।
यस जितसँगै एनसेल सेमिफाइनलमा प्रवेश गरेको छ । सुबिसुले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । सेमिफाइनल र फाइनल खेल भोलि हुनेछ ।
प्रतिक्रिया 4