७ असोज, इन्चोन । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली खेलकुदमा नेपाली खेलाडीहरुको निराशाजनक प्रदर्शन जारी छ । उसुमा नेपालको पदकको आशा सकिएको छ ।
अन्तिम आशाका रुपमा रहेका आङ्गबाबु लामा ताइजिझानमा पुछारमा रहे । लामाले ८.२ स्कोर गर्दै चौधौं भएका हुन् । यसअघि दावेदार झरना गुरुङ्ग र चाहना बम्जन पनि क्वार्टरफाइनलबाटै बाहिरिएका थिए ।
पौडीको पुरुष ५० मिटर फ्रिस्टाइलमा शिरीष गुरुङ र मिराज प्रजापतिले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । एउटै समूहमा रहेका उनीहरु हिट चरणबाटै बाहिरिए ।
शिरीष निर्धारित दूरी २७ दशमलव २३ सेकेन्डमा पूरा गर्दै व्यक्तिगत प्रदर्शनमा शुन्य दशमलव शुन्य दुई सेकेन्डले सुधार्ने क्रममा चौथो भए । मिराजले २८ दशमलव ०८ सेकेन्डमा दूरी सकाउँदै छैटौं हुने क्रममा पहिलेको व्यक्तिगत प्रदर्शनलाईसमेत भेटाउन सकेनन् ।
मिराजले यसअघि २७ दशमलव २३ सेकेन्डमा पौडिएका थिए । यो स्पर्धामा चित्रबहादुर गुरुङको नाममा २६ दशमलव ३४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।
मंगलबारदेखि आर्चरी पनि सुरु भएको छ । महिलातर्फको रिकर्भ इन्डिभिजुअल र्याङकिङ राउण्डमा नेपाली खेलाडीहरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
कृष्णमाया स्याङ्तानले ५ सय ९२ स्कोर गर्दै चौवालिसौं स्थानमा समेटिइन् । त्यसैगरी ५ सय ८४ स्कोर बटुलेकी आइसा तामाङ्ग छयालिसौं, ५ सय ४० स्कोरका साथ मोनिका रानामगर त्रिपन्नौं तथा रेनु लामा ५ सय १ स्कोरका साथ छपन्नौं अर्थात् पुछारमा रहिन् ।
पुरुषतर्फको रिकर्भ इन्डिभिजुअल र्याङकिङ राउण्ड भएको छ ।
फेन्सिङ्गमा पुरुष टिममा नेपाल विश्व नम्बर एक दक्षिण कोरियासँग पराजित भएको छ । नेपाल ४५/११ ले पराजित भयो । यसअघि भएको एकलतर्फ पहिलो पटक सहभागीता जनाएको नेपालले खराव प्रदर्शन गरेको थियो ।
एसियाली खेलकुदमा पहिलो पटक सहभागी महिला बास्केटबलले पनि उल्लेखनीय प्रदर्शन गर्न सकेन । नेपाल काजखस्तानसँग १०६/३५ ले पराजित भयो । पहिलो क्वार्टरमा २९ स्कोर बुझाएर ४ स्कोरमात्र गर्न सकेको नेपालले त्यसपछि तुलनात्मक रुपले सुधार गर्यो ।
पहिलो पटक एशियाली खेलकुदमा प्रतिस्पर्धा गरेको महिला टिम काजखस्तानसँग कमजोर शारीरिक र मानसिक रुपमा कमजोर देखियो । अनुषा मल्लले सर्वाधिक १२ स्कोर गरिन् ।
प्रीति तुलाचनले १० तथा स्नेहा श्रेष्ठले ७ स्कोर गरिन् । यसै गरि काजाखस्तानकी अन्ना भिनोकुरोभाले २१ र ओल्गा अब्देरुपोभाले १७ स्कोर गरे ।
जुडोमा हारको श्रृंखला जारी
पदकको आशा गरिएको जुडोमा नेपालले फेरि पनि हारको श्रृंखलालाई जारी राखेको छ । पुरुषको टिम छनोट चरणमा नेपाल साउदी अरेबियासंग ४/१ ले पराजित भयो ।
६६ किलो माथिमा सरोज महर्जन आइसा हसन मज्रासीसँग, ७३ केजीमा रमेश मगर सुलैमान फहाद हमदसँग तथा श्रीराम मकाजु नैफअमर माज्युसँग पराजित भए । ८१ किलोमा नेपालले बाइ दिएको थियो । ९० किलोमाथि राजन जोशीले बाइ पाएर एक अंक जोडेका थिए ।
गत शुक्रबार उद्घाटन भएको एसियाडमा नेपालले २५ खेलमा सहभागीता जनाए पनि अहिलेसम्म एउटा पनि पदक जित्न सकेको छैन । पदक तालिकामा चीन २९ स्वर्णपदकसहित ६२ पदक बटुल्दै शीर्ष स्थानमा छ ।
त्यसैगरी १४ स्वर्णसहित ४६ पदकबाट आयोजक दक्षिण कोरिया दोस्रो तथा १३ स्वर्णसहित ४२ पदकको जापान तेस्रो स्थानमा छ ।