News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको मिनियापोलिस भेट्रान हस्पिटलका डाक्टर माइकल लेभीटले गरेको अध्ययनले पुरुषहरूले बढी मात्रामा अपानवायु छाड्ने तर महिलाहरूको वायु बढी दुर्गन्धित हुने खुलासा गरेको छ।
- महिलाहरूको वायुमा हाइड्रोजन सल्फाइडको मात्रा पुरुषहरूको तुलनामा बढी पाइन्छ, जसले दुर्गन्ध पैदा गर्ने मुख्य भूमिका खेल्छ।
- हवाई जहाजको उचाइमा हावाको दबाब कम हुँदा आन्द्रामा रहेको ग्यास फैलिन्छ र बढी पाद आउँछ, जुन भौतिक विज्ञानको नियम हो।
महिला हुन् कि पुरुष सबैले पेटमा बनेको ग्यास मलद्वारबाट छाड्नु सामान्य जैविक क्रिया हो । तर यी दुईमध्ये कसले धेरै अपानवायु छाड्छन् होला अनि कसको वायु बढी दुर्गन्धित हुन्छ होला ? एक वैज्ञानिक अध्ययनले यसबारे रोचक खुलासा गरेको छ ।
वाशिङटन पोस्टले उधृत गरेको एक अनुसन्धान अनुसार पुरुषहरूले बढी मात्रामा वायु निकाल्छन् तर महिलाहरूको वायु चाहिँ अधिक दुर्गन्धित हुन्छ । महिलाहरूको पादमा हाइड्रोजन सल्फाइडको मात्रा बढी हुने भएकाले त्यसको गन्ध धेरै कडा हुने निष्कर्ष वैज्ञानिकहरूको छ।
हाम्रो शरीरमा दैनिक रूपमा खाना पच्ने प्रक्रिया चलिरहन्छ । पेट र आन्द्रामा रहेका ब्याक्टेरियाले खानालाई टुक्र्याउने काम गर्छन् । यस प्रक्रियामा ग्यास उत्पन्न हुन्छ । अधिकांश ग्यास गन्धरहित हुन्छन्, जस्तै नाइट्रोजन, कार्बन डाइअक्साइड, अक्सिजन र हाइड्रोजन । तर केही ग्यासमा सल्फर हुन्छ, जसले दुर्गन्ध पैदा गर्छ । सबैभन्दा मुख्य दुर्गन्धयुक्त ग्यास हाइड्रोजन सल्फाइड हो, जसले कुहिएको अण्डाजस्तो गन्ध उत्पन्न गर्छ ।
औसतमा एकजना मानिसले दिनमा १० देखि २३ पटकसम्म अपानवायु छाड्दछ । यसमा हरेक पटक थोरै-थोरै मात्रामा ग्यास निस्किन्छ । तर हरेक ग्यासको गन्ध र मात्रा चाहिँ फरक-फरक हुन सक्छ । ग्यासको गन्ध तथा मात्रा हामीले खाएको खानेकुरा, आन्द्रामा रहेका ब्याक्टेरिया र शरीरको बनावटमा निर्भर गर्छ ।
वैज्ञानिकका अनुसार हाइड्रोजन सल्फाइड थोरै मात्रामा शरीरका लागि फाइदाजनक पनि हुन सक्छ । केही अध्ययनहरूका अनुसार यो ग्यासले रगतका नसाहरूलाई आराम दिन तथा शरीरमा इन्फ्लामेसन कम गर्न मद्दत गर्न सक्छ । तर धेरै मात्रामा हुँदा यसले दुर्गन्ध पैदा गर्छ ।
वायुको लैंगिक भेद छुट्टाउने रोचक अध्ययन
अमेरिकाको मिनियापोलिस भेट्रान हस्पिटलका डाक्टर माइकल लेभीटले यस विषयमा अनुसन्धान गरेका थिए । उनलाई किङ अफ फार्ट्स अर्थात पादका राजा पनि भनिन्छ । उनलाई यसो भन्नुको खास कारण चाहिँ उनले पादका विषयमा धेरै अध्ययन गरेका छन् । उनको यस अध्ययनमा महिला र पुरुष गरी १६ जना स्वस्थ व्यक्तिहरूलाई सहभागी गराइएको थियो।
त्यसक्रममा ती मानिसहरूलाई पेटमा धेरै ग्यास बनाउने गेडागुडीका साथै पेटको चाल बढाएर धेरै ग्यास पैदा गर्ने ल्याक्सेटिभ औषधि खुवाइयो । त्यसपछि उनीहरूको मलद्वारमा रेक्टल ट्युब नामक एउटा विशेष प्रणाली जडान गरियो । जसले ग्यासलाई एउटा झोलामा संकलन गर्थ्यो । यसरी ती मानिसले छाडेको सम्पूर्ण अपानवायु संकलन गरियो।
त्यसरी संकलन गरिएका ग्यासका नमूनामा हाइड्रोजन सल्फाइडको मात्रा मापन गरियो । अनि दुई जना जाँचकर्तालाई हरेक ग्यास सुँघेर मूल्याङ्कन गर्न लगाइयो । जाँचकर्ताले ती ग्यासका नमूनालाई त्यसको गन्धको आधारमा ० देखि ८ सम्मको स्केल दिए । जसबाट प्राप्त नतिजा आश्चर्यजनक थियो।
वास्तवमा महिलाहरूको ग्यासमा हाइड्रोजन सल्फाइडको मात्रा पुरुषहरूको तुलनामा निकै बढी पाइयो । सुघेर जाँच गर्नेहरूले महिलाहरूको ग्यासलाई बढी दुर्गन्धयुक्त र तिखो गन्ध भएको बताए । यसको अर्थ महिलाहरूको ग्यास पुरुषको तुलनामा बढी दुर्गन्धित हुन्छ ।
पुरुषहरूको ग्यासमा के विशेषता हुन्छ ?
अध्ययनमा अर्को महत्वपूर्ण कुरा पनि देखियो । त्यो के भने पुरुषहरूले बढी मात्रामा ग्यास निकाल्छन् । प्रत्येक पटक ग्यास निस्कँदा पुरुषहरूको ग्यासको मात्रा महिलाहरूको भन्दा बढी थियो, झन्डै आधा कप जति ।
यसको अर्थ के हो भने महिलाहरूको ग्यासमा दुर्गन्ध पैदा गर्ने तत्वहरू बढी मात्रामा हुन्छन् । तर पुरुषहरूमा चाहिँ ग्यासको मात्रा नै बढी हुने भएकाले दुर्गन्ध कम महसुस हुन्छ ।
महिलाहरूमा हाइड्रोजन सल्फाइड किन बढी हुन्छ ?
वैज्ञानिकहरूका अनुसार महिलाको वायुमा हाइड्रोजन सल्फाइडको मात्रा बढी हुनुमा आन्द्रामा रहेका ब्याक्टेरिया, हर्मोन र खानपानको बानी प्रमुख कारण हुनसक्छ । महिलाहरूको शरीरमा हुने कतिपय ब्याक्टेरियाले सल्फरयुक्त पदार्थहरूलाई बढी सजिलैसँग टुक्र्याउँछन् । साथै महिलाहरूले तरकारी वा प्रोटिनयुक्त खाना जस्ता केही खाद्य पदार्थहरू फरक तरिकाले पचाउने गरेको पनि कतिपय अध्ययनहरूमा देखिएको छ । तर यस्तो अन्तर हरेक व्यक्तिमा फरक-फरक हुन सक्छ । त्यसैले खानपानको प्रभाव नै सबैभन्दा ठूलो हुन्छ । अर्थात् ब्रोकाउली, गेडागुडी, अण्डा वा मासु बढी खाँदा वायुको गन्ध बढ्न सक्छ ।
हवाई जहाजमा किन बढी पाद आउँछ ?
यस विषयमा पनि रोचक खुलासा भएको छ । हवाई जहाज उचाइमा पुग्दा हावाको दबाब कम हुन्छ । यसले आन्द्रामा पहिल्यैबाट रहेको ग्यासलाई फैलाउँछ र बाहिर निकाल्छ ।
सोही कारणले उडानका बेला धेरै मानिसहरूले बढी ग्यास भएको महसुस गर्छन् वा असहज अनुभव गर्छन् । यो कुनै रोग होइन, केवल भौतिक विज्ञानको नियमको परिणाम हो।
प्रतिक्रिया 4