News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा वृद्ध महिलाबाट गरगहना चोरी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
- गिरोहले घर भाडामा खोज्ने निहुँमा वृद्ध महिलाको रेकी गरी सिक्री थुत्ने र मोटरसाइकलमा फरार हुने गरेको पाइएको छ।
- पक्राउ परेकाहरूले चोरीको मोटरसाइकल प्रयोग गरी दैनिक योजना बनाएर लुटपाट गर्ने गरेको प्रहरीले बताएको छ।
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा वृद्ध महिलाले लगाएका गरगहना चोर्ने गिरोह सक्रिय रहेको भेटिएको छ ।
वृद्ध महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटका डीएसपी एजिला गिरीको कमान्डको टोलीले यो समूहका चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–३ का २६ वर्षीय बिमल तामाङ, २१ वर्षीय सविन तामाङ, २१ वर्षीय सुजन तामाङ र नुवाकोटकै बिदुर नगरपालिका–१ का ४४ वर्षीय सतिश अमात्य छन् ।
यो समूहले घर भाडामा खोज्ने निहुँ बनाएर वृद्ध महिलाको रेकी गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । ‘कोठा भाडामा खोज्ने निहुँ गरगहना लगाएका वृद्ध महिलाको रेकी गर्ने र लुटेर हिँड्ने प्रवृत्ति देखिन्छ,’ एसएसपी थापाले भने ।

दैनिकजसो एउटै शैलीमा लुटपाट हुने गरेको सूचना प्रहरीकोमा आएपछि अनुसन्धान अघि बढाइएको थियो । सो क्रममा प्रहरीले सीसीक्यामेरा फुटेजको आधारमा लुटेरा समूहको पहिचान गरी पक्राउ गरेको हो ।
यसरी लुट्ने समूहले चोरीको मोटरसाइकल प्रयोग गर्ने खुलेको छ । चोरीकै मोटरसाइकलमा दुई जना सवार हुने र पछाडि बस्नेले गरगहना थुतेर भाग्ने गरेको पाइएको छ ।
केही मोटरसाइकलको भने नम्बर प्लेटसमेत परिवर्तन गरेको पाइएको छ । दैनिक योजना बनाएर लुटपाट गर्ने पाइएको छ ।
गत १२ चैतको दिउँसो १ बजेतिर चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ फनपार्कस्थित बाटोमा हिँडिरहेकी एक महिलाको साढे एक तोलाको गलाको सिक्री मोटरसाइकलमा आएको समूहले लुटेर फरार भएको थियो ।
सीसीक्यामेराको फुटेजमा एनएस १६० सीसीको पल्सर मोटरसाइकलमा सवार रहेको देखिए पनि नम्बर भने खुलेको थिएन । मंगोलियन वर्णका मान्छेले लुट्दै मच्छेगाउँतर्फ फरार भएको देखिएको थियो ।

पछि उनीहरूको पहिचान गरेर वृत्त थानकोटले पक्राउ गरेको हो ।
गत १९ चैत दिउँसो साढे ३ बजेतिर कीर्तिपुर नगरपालिका–४ मानेडाँडामा मोटरसाइकलमा आएका दुई व्यक्तिले ७३ वर्षीया महिलाले गलामा लगाएको करिब १ तोलाको सुनको सिक्री लुटेर फरार भए । अघिल्लो घटनाकै जस्तो शैली यो घटनामा पनि देखियो ।
यसको एक घण्टापछि चन्द्रागिरि नगरपालिका–१३ नैकापमा बाटोमा हिँडिरहेकी ७० वर्षीया महिलाले गलामा लगाएको करिब डेढ तोलाको सुनको सिक्री थुत्यो । मोटरसाइकलमा आएका दुई जनाको समूहले सिक्री थुत्दा आधा भने चुँडिएर घाँटीमै छुटेको थियो । सिक्री लुटेर यो समूह रामकोटतर्फ फरार भएको थियो ।
६ वैशाख दिउँसो साढे १ बजेतिर नागार्जुन नगरपालिकाको रामकोटमा नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई जनाले ५५ वर्षकी महिलाले गलामा लगाएको एक तोलाको सुनको सिक्री थुतेर फरार भए ।

सोही दिनको दिउँसो साढे ४ बजेतिर चन्द्रागिरि नगरपालिका–७ घुमाउनेमा एक महिलाले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर फरार भयो ।
गत १५ चैतको दिउँसो करिब ४ बजेतिर महाराजगञ्ज सुकेधारामा मोटरसाइकलमा सवार चार जनाको समूहले एक युवकमाथि आक्रमण गरे । उनीसँग भएको १५ प्रो म्याक्स आइफोन, एटीएम, पर्स लुटपाट गरेर लगेको थियो ।
अहिले पक्राउ गरेको गिरोह यो सबै घटनामा संलग्न रहेको पाइएको एसएसपी थापाले बताए । ‘महिलाका गलाको सिक्री थुत्नेदेखि कुटपिट गर्दै लुट्नेसम्मको घटनामा उनीहरूको संलग्नता देखिन्छ,’ एसएसपी थापा भन्छन् ।
यी सबै घटना एउटै प्रकृतिको देखिएको छ । यो समूहका अरू तीन सदस्य पनि रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।
उनीहरूको साथबाट १२.९० ग्राम सुन, ठूलो रेन्ची, सानो रेन्ची, खुकुरी, पेचकस समेत बरामद भएको छ । लुट्न प्रयोग भएको मोटरसाइकल, लुट्ने बेला लगाइएका कपडा, फालिएको वास्तविक नम्बर प्लेट समेत प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया 4