News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन अदालतबाट आधिकारिक ठहरिएपछि सभापति गगन थापाले पार्टी पुनर्जीवनका चुनौतीहरू सामना गर्नुपर्नेछ।
- पार्टी पुनरागमनका लागि सांगठनिक पुनर्संरचना, वैचारिक स्पष्टता र व्यावहारिक रूपान्तरण आवश्यक रहेको उपप्राध्यापक पाण्डेले उल्लेख गरेका छन् ।
- गगन थापाले आगामी महाधिवेशनबाट नेतृत्वमा निरन्तरता पाए पार्टीलाई सशक्त बनाउन र जनविश्वास फर्काउनुपर्नेछ।
नेपाली कांग्रेस २.० अर्थात् विशेष महाधिवेशन अदालतबाट आधिकारिक ठहरिएसँगै पार्टी सभापति गगन थापा चुनावपश्चात् सम्भवतः पहिलो पटक दिलैदेखि खुस भएको हुनुपर्छ । यद्यपि पार्टी पुनर्जीवनका लागि उनका चुनौती सकिएका छैनन्, बरु थपिएका छन् ।
चुनौती दलभित्र र बाहिर बग्रेल्ती छन् । आन्तरिक चुनौतीका चर्चा गर्दा, सर्वप्रथम पार्टी पुनर्जीवनका लागि कुन मार्ग अपनाउने भन्ने नै हुनेछ । यसक्रममा पार्टी नेतृत्वका रूपमा गगनले पार्टी संगठन, ‘कोर सर्कल’ र आफैंसँग लड्नुपर्नेछ । रूपान्तरण र पुस्तान्तरणका भाषण धेरैले गर्दै आए । यसमा विशेष महाधिवेशन पक्षधर ज्यादा थिए । अब जनस्तरमा महसुस हुनेगरी काम गर्नुपर्नेछ । यसनिम्ति गगनसँग कसैलाई बाधक देखाउने सुविधा छैन ।
निर्वाचनबाट मूर्छित कांग्रेस ब्युँताउनुपर्नेछ । गगनको नेतृत्वमा सञ्जीवनी खोज्न सकिन्छ कि सकिंदैन ? निर्मम परीक्षा यही हुनेछ । पुनर्जीवनका लागि पार्टी संगठन र गगन स्वयंभित्र ठूलो द्वन्द्व चर्किएको हुनुपर्छः पार्टी सुधार गर्ने कि पुनर्संरचना ? एउटा ठोस निष्कर्षमा पुगेर सिंगो पार्टीलाई हिंडाउन सक्नु सानो सकस हुनेछैन । नेतृत्वले दह्रो अठोट र कतिपय अलोकप्रिय निर्णय लिनुपर्ने हुन्छ । परिवार, सचिवालय, शुभचिन्तकका मत एवं सांगठनिक ब्यागेज पनि उतार्नुपर्ने हुन्छ ।
सुधारको मार्ग तुलनात्मक रूपमा सहज छ । यो ‘अकमोडेटिभ’ रास्ता हो, जसमा विगतका कमजोरी केलाउँदै, गुट–उपगुट भत्काउने, गच्छेअनुसार पद तथा जिम्मेवारी भागशान्ति गर्ने, अनि पार्टी एकताको सन्देश फैलाउने ! यो ‘लोकप्रिय एवं सर्वहिताय !’ पनि सुनिन्छ । सुधारवादी मार्गबाट कांग्रेस बढीमा कार्यकर्ताको पार्टी बन्न सक्छ, तर आमजनतामाझ भरपर्दो राजनीतिक शक्तिका रूपमा पुनरागमन गर्न सक्छ कि सक्तैन ? अहम् प्रश्न यही हो ।
गगनले सम्भवतः आफैंलाई यो प्रश्न कैयौं चोटि गरेको हुनुपर्छ । किनकि, कांग्रेसको समस्या केवल चुनावी जित/हार मात्र होइन, सांगठनिक अस्वीकार्यता (गुटतन्त्र), वैचारिक विचलन एवं जनविश्वासको संकट पनि हो । तसर्थ, कांग्रेस पुनरागमनका लागि एकता, गुट व्यवस्थापन एवं शृंगारिक परिवर्तन पर्याप्त छैन । यसका निम्ति सांगठनिक पुनर्संरचना, वैचारिक स्पष्टता र व्यावहारिक रूपान्तरण सहितको ‘सिस्टेमिक ओभरहल’ जरूरी छ ।
इतिहास हेर्ने हो भने, नेपाली कांग्रेस सांगठनिक रूपमा विरलै देखिन्छ । पछिल्ला तीन दशकयता यो पार्टीभन्दा गुटहरूको महासंघका रूपमा बदनाम थियो । २०८२ पुसमा विशेष महाधिवेशनमार्फत सभापति शेरबहादुर देउवा हटाइएपछि कांग्रेसी गुटतन्त्र केन्द्रदेखि गाउँसम्मै फैलियो । चुनावपूर्व देउवाको सिंगापुर गमनबाटै यसको स्पष्ट छनक मिल्थ्यो, जसको पटाक्षेप मत परिणाममा स्पष्टै देखियो ।
अदालतको आदेशसँगै पार्टी एकताका नाममा सबैलाई समेट्नुपर्ने माग जोडदार रूपमा उठ्न थालेको छ । सबैलाई समेट्न सक्नु निकै राम्रो हो । यसले कार्यकर्ता पंक्ति तथा शुभेच्छुकहरूमा एक खालको तरंग ल्याउँछ । तर, सबैलाई समेट्ने नाउँमा ‘ताक परे तिवारी, नत्र गोतामे’ मार्काका नेता–कार्यकर्ताका शर्त र बोझ शिरोपर गरेर पार्टी पुनर्जागृत गर्न सकिन्छ या सकिन्न ? प्रत्येक कांग्रेसजनले सोच्नुपर्छ । एकता तथा भागबण्डाका नाममा गुटमिलान हुने तर मनमिलान हुन नसक्ने विगतका अनुभवबाट पाठ सिक्न सक्नुपर्छ । यसर्थ, नेतृत्वले सांगठनिक स्वार्थका लागि सर्वप्रिय सुनिनेभन्दा अलोकप्रिय लाग्ने निर्णय लिन आँट पनि गर्नुपर्छ । पार्टी अनुशासन कायम राख्न र गुटतन्त्र विरुद्ध निर्मम बन्नैपर्छ ।
जनताले जबसम्म कांग्रेस रूपान्तरण भएको विश्वास गर्न सक्तैनन्, भागबण्डाको राजनीति र आन्तरिक एकताको सन्देशले मात्र कांग्रेसको साख फर्काउन सक्तैन । पार्टीको सिद्धान्त, नीति, कार्यक्रम अनि नेता–कार्यकर्ताका व्यवहार जनता, विशेषगरी युवा पुस्तासँग जोडिन सक्दा मात्र कांग्रेस बौरिन सक्ने हो । यसो भन्दै गर्दा ‘पपुलिष्ट’ कांग्रेसको कल्पना गरिएको ठानिएला । खासमा गगनहरूले गोता खाएको ‘लोकप्रिय’ र ‘एकमोडेटिभ’ हुन खोजेर पनि हो ।
१४औं महाधिवेशनबाट महामन्त्री चयन भएसँगै गगन तथा विश्वप्रकाशहरू पार्टी र सत्ताप्रति ‘एकमोडेटिभ’ सुनिए । अर्थात्, युवा नेताद्वय, ९० रन पुगेपछि सेञ्चुरी बनाउन पिच धसार्दै गरेका ब्याट्सम्यान जस्ता देखिए । पदीय जिम्मेवारी एवं नमिठो नबोली नेतृत्वमा स्थापित हुने चाहनाले पनि हुनसक्छ, गगन स्वयं अपवाद बाहेक पार्टी नेतृत्व, सरकार एवं सत्ता साझेदारहरू प्रति उनको छवि र स्वभावभन्दा नरम सुनिन्थे । पुष्पा फिल्मका ‘सिक्वेल’ हेर्दै हुर्केबडेका जेन–जी पुस्ताले सम्भवतः उनमा ‘दबंग’पन देखेन, जसको विकल्पमा बालेन र रविहरू रोजिए ।
सवाल गगन गलत या बालेन सही भन्ने होइन । बरु, जनताले आश गरेका कांग्रेसका युवा नेताबाट जनआवाज कति सशक्त ढंगले मुखरित भयो भन्ने हो । पर्दापछाडि प्रयास भए होलान्, तर राजनीति निकै हदसम्म सार्वजनिक धारणा र छवि (पर्सेप्सन एण्ड अप्टिक्स)मा चल्छ । उदाहरणका लागि, कांग्रेसका (एमाले एवं पूर्वमाओवादी पनि) लाखौं कार्यकर्ता, दर्जनौं पेशागत संस्था, जनवर्गीय एवं विद्यार्थी संगठन थिए । तिनले स्वास्थ्य, शिक्षा, रोजगारी, महँगी र सुशासन जस्ता जनसरोकारका अजेन्डा मुखरित गर्नै सकेनन् । त्यस्ता संगठनहरू दलहरूप्रति शुभेच्छुक रहँदा समस्या थिएन, तर ती ‘सबअर्डिनेट’ बनिदिए । दलीय संरचना अजंगका भए, तर जनसम्पर्क, संवाद र विश्वास भने टुट्दै गयो । तसर्थ, पुराना दलहरूप्रति वितृष्णा यति चुलियो, जुन रास्वपा उदयका निम्ति सबैभन्दा ठूलो पूँजी बन्न पुग्यो ।
यो विस्मयबाट सबक नसिकी कांग्रेसको ‘रिटर्न टिकट’ सम्भव छैन । यद्यपि चुनौती आन्तरिक मात्र छैनन् । बाह्य चुनौतीका पहाड पनि उत्तिकै छन् । त्यसमध्ये एउटा हो, आउँदो स्थानीय निर्वाचनमा पार्टी धरासायी हुनबाट कसरी जोगाउने ? हाल नेपाली कांग्रेस तीन प्रदेश र ३२९ पालिका सहित कुल ३३२ स्थानीय सरकारको नेतृत्वमा छ । तिनको डेलिभरी र कार्यशैलीमा उल्लेख्य सुधार नगर्दासम्म कांग्रेसले जनमत जोगाउन सक्तैन ।
अबको स्थानीय चुनाव किन पनि चुनौतीपूर्ण हुनेछ भने, त्यसभन्दा अघि कांग्रेसको नियमित महाधिवेशन हुँदैछ । सम्भवतः महाधिवेशन सर्वसम्मत नहोला । पराजित पक्ष जतिबेला पनि बाउँठिने कांग्रेसको दीर्घरोग नै हो । एकातिर पार्टीभित्रको पुराना ‘ब्यागेज’ छाड्दै पार्टी पुनर्संरचना गर्नुपर्नेछ, अर्कोतिर एकताको सन्देश छर्नुपर्नेछ । यी दुवै काम विरोधाभासपूर्ण पहेली हुन् । यस्तो जटिल पहेली कुशलतापूर्वक सुल्झाई पार्टीलाई सग्लो, सशक्त र प्रभावकारी बनाउन सजिलो छैन ।
कांग्रेसका लागि अर्को चुनौती हो, ‘सेन्टर–टु–राइट’ झुकाव सहित रास्वपाको उदय र कांग्रेस पृष्ठभूमिका धेरै नेता–कार्यकर्ताको उक्त पार्टीमा प्रवेश । सरकार गठनलगत्तै दुई मन्त्रीका विवादास्पद बहिर्गमनपश्चात् बालेन सरकार केही रक्षात्मक देखिन्छ, तर यत्तिकैमा उसको आयु वा रास्वपाको सांगठनिक भविष्यमाथि टिप्पणी गर्नु हतार हुनेछ ।
रास्वपाले पाँच वर्ष पूरै स्थिर सरकार दियो, न्यूनतम जनअपेक्षा बमोजिम सुशासन, डेलिभरी र रोजगारी सुनिश्चित गर्न सक्यो भने, कांग्रेसका निम्ति सांगठनिक मात्र होइन, वैचारिक चुनौती पनि थपिनेछ । दक्षिणपन्थी प्रियतावादी विश्वव्यापी बहावका बीच बालेन र रास्वपाले लामो पारी खेले भने कांग्रेसको उदारवादी लोकतान्त्रिक धरातल ‘रिडिफाइन’ तथा ‘रिएडजस्ट’ गर्नुपर्ने हुन्छ । लामो इतिहास र विरासत बोकेको कांग्रेस जस्तो राजनीतिक शक्तिका निम्ति उक्त कदम जोखिमरहित हुनेछैन ।
कांग्रेस कमब्याकको मार्ग
राजनीति भविष्यवाणी निरर्थक चिन्तन हो । यद्यपि गगन थापाले आउँदो महाधिवेशनबाट नेतृत्वमा निरन्तरता पाउने हो भने अर्को संसदीय निर्वाचनसम्म सम्भवतः उनी नै सभापति हुनेछन् । त्यसबखत, कांग्रेस प्रमुख राजनीतिक शक्तिका रूपमा ‘कमब्याक’ गर्न सफल भयो भने जनविश्वास र सहानुभूति बढ्नेछ । गगन यसमा चुके भने उनको राजनीतिक क्षमता र भविष्यमाथि गम्भीर प्रश्न उठ्नेछ । कांग्रेस जस्तो पार्टी तीन–तीन चुनावमा कमजोर भए पार्टी नेतृत्वकै विकल्प खोज्नुको विकल्प हुँदैन ।
तसर्थ, सम्भावित परिदृश्य आकलन गर्दै ‘इफ–बट’ केही नभनी उनले पार्टी पुननिर्माण र पुनर्संरचनामा अहिल्यैदेखि लाग्नुपर्छ । यावत् चुनौतीका बाबजुद कांग्रेस र गगनका निम्ति शुक्लपक्ष नभएका होइनन् । वास्तवमा कांग्रेसले फागुन २१ को चुनाव मूलतः गगनका कारण हारेको थिएन । त्यो कांग्रेस मात्रको हार पनि थिएन । बरु, त्यो सम्पूर्ण पुराना राजनीतिक शक्ति र तिनका नेतृत्व, कार्यशैली, व्यवहार अनि नागरिकलाई ‘टेकन–फर–ग्रान्टेड’ लिने शैलीप्रति एक किसिमको ‘ब्यालेट–विद्रोह’ थियो । बालेन–सम्मोहनले त्यसमा अवश्य ऊर्जा थपेको थियो ।
तैपनि चुनावले कांग्रेस र गगनको निर्मम परीक्षा लियो । गगनले नवयुवाको विद्रोहलाई आत्मसात् गर्दै पार्टी रूपान्तरण गर्ने प्रयत्न गरे । तर अग्रजका ‘ब्यागेज’को बोझ, भदौ २३ र २४ को रापताप, राजनीतिक विकल्पमा उर्लिएको आँधी एवं सीमित समयका कारण नेपाली कांग्रेस र उनी स्वयं चुनावमा पराजित भए । निर्वाचनको नतिजाबाट व्यक्तिगत एवं सांगठनिक हार भए पनि गगनले समेत उठाउँदै आएको पुस्तान्तरणको मुद्दाले भने जितेको छ, भलै यसका च्याम्पियन बालेन र रास्वपा बन्न पुगे । कांग्रेसीजनका लागि यो परिस्थिति अप्रिय भए पनि सच्चा लोकतन्त्रवादीका लागि भने आफैंमा आश्चर्य लाग्नुपर्ने विषय होइन ।
दोस्रो, खेलमा जस्तै लोकतन्त्रमा हारजित सामान्य हो । लोकतन्त्रमा उसै प्रतिपक्षी दललाई ‘वेटिंग’ सरकार मानिन्छ । शर्त के मात्र हो भने, प्रतिपक्षीले जनताका आवाज सशक्त ढंगले मुखरित गर्न सक्छ कि सक्तैन भन्ने हो । सत्तासँग अक्सर विवेक कम, तुजुक ज्यादा हुन्छ । अल्थुजरको शब्द सापटी लिने हो भने सत्ताको चरित्र नै स्वभावतः ‘रिप्रेसिभ’ वा दमनकारी हुन्छ । सँगसँगै सत्ता नागरिकका प्रश्न र वितृष्णाहरूबाट हरक्षण रक्षात्मक बनिरहेको हुन्छ ।
आज पनि एउटा ठूलो तप्का बालेन सरकार र रास्वपाप्रति ‘कसियस’ देखिन्छ, पूरै भर गर्न सकेको देखिन्न । कतिपयलाई सरकारको दिशा र गति चित्त नबुझेको हुन सक्छ । यसमा कैयौं घन्टीकै मतदाता होलान् । यस्ता समूहलाई ‘साइलेन्ट मिडल’का रूपमा लिन सकिन्छ । शक्तिशाली सरकारका कारण आमसञ्चारमाध्यम, नागरिक समाज, विभिन्न पेशा–व्यवसायी एवं बौद्धिकवृत्त पनि आफ्ना विचार अभिव्यक्त गर्न धकाउन सक्छन् । यस्तो परिस्थितिमा प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसले ‘साइलेन्ट मिडल’को आवाज बनेर जनविश्वास फर्काउन सक्छ ।
नेपालमा कुनै पनि ठूलो दलले लगातार जनमत दोहो¥याउन सकेको इतिहास छैन । यसको मुख्य कारण डेलिभरीमा चुक्नु वा जनअपेक्षा पूरा गर्न नसक्नु नै हो । त्यसर्थ, हामीकहाँ प्रतिपक्षमा रहनु नै एउटा जबरदस्त चुनावी अजेन्डा हुने गरेको छ, र ‘एन्टीइन्कम्बेन्सी’ लाभ प्रतिपक्षीलाई हुने गरेको छ ।
यसो भन्दैमा, कांग्रेसले आफ्नो राजनीतिक पुनरागमनको आधार सरकारको असफलतामा खोज्नुहुँदैन । बरु, पार्टीको सांगठनिक, वैचारिक एवं व्यावहारिक रूपान्तरणमा खोज्नुपर्छ । किनकि, सरकारको असफलतामा कांग्रेसको ‘कमब्याक’ निश्चित छैन । अर्को कुनै नयाँ शक्तिको उदय पनि हुनसक्छ, जसरी रास्वपाको भयो । बरु, कांग्रेसले सरकारका राम्रा प्रयासमा साथ–सहयोग दिंदै, कमजोरीप्रति कठोर प्रश्न गर्दै, पार्टी पुनर्संरचना गर्न सक्दा उसको पुनरागमन सम्भव देखिन्छ ।
शर्त यत्ति हो, यसका लागि वैचारिक ढुलमुलबाट पार्टीलाई मुक्त गर्दै उदार लोकतन्त्र, सुशासन र सामाजिक न्यायसहितको स्पष्ट फ्रेमबाट अघि बढ्नु उपर्युक्त हुन्छ । जनता–केन्द्रित र भविष्यप्रतिको आशावादी राजनीतिमार्फत जनविश्वास आर्जन गर्न सक्नुपर्छ । गाउँदेखि केन्द्रसम्म संवाद, सहकार्य र मुद्दामा आधारित बहस अघि बढाउन सकिन्छ ।
कांग्रेसले नागरिकसँग जोडिन, साक्षात्कार र संवाद गर्न डिजिटल मञ्चहरूमा फड्किनै पर्छ । गगनहरूको पुस्ताको उदय नेपालमा पत्रकपत्रिका, रेडियो र टेलिभिजनको लोकप्रियतासँगै भयो । तसर्थ, तिनमा त्यस्ता परम्परागत माध्यमप्रति प्रेम र भरोसा हुनु स्वाभाविक हो । तर, जनसाधारण स्वयं डिजिटल प्ल्याटफर्ममा स्थानान्तरण गरिसके । कांग्रेसले जनसम्पर्क र संवादका लागि परम्परागत तौरतरिका ‘फेजआउट’ नगर्ने हो भने डिजिटल प्ल्याटफर्मले कांग्रेसलाई ‘फेजआउट’ गर्नेछ ।
निष्कर्षमा, कांग्रेसको रिटर्न टिकटका लागि ‘कांग्रेसलाई किन फेरि भरोसा गर्ने ?’ भन्ने प्रश्नको ठोस जवाफ आमजनता समक्ष पुर्याउन सक्नुपर्छ । मूलमन्त्र आलोचनाको राजनीति होइन, जनतामुखी, समाधानमुखी एवं आशावादी राजनीति हुनु जरूरी छ । यसका लागि सन् १९९० मो दशकमा अमेरिकामा बिल क्लिन्टनको ‘थर्ड वे’ नारासहित डेमोक्र्याटिक पार्टी, बेलायतमा ‘न्यू लेवर’ को अभियान सहित टोनी ब्लेयर नेतृत्वमा लेबर पार्टी, अनि क्यानडामा सन् २०१० दशकको मध्यतिर ‘सनि वेज’ नाममा आशावादी राजनीति सहित लिबरल पार्टीको ‘बाउन्सब्याक’को इतिहास केलाउँदा हुन्छ । ती राजनीतिक नेताका विजयका कथा मात्र होइनन्, राजनीतिक पुनरागमनका सशक्त दस्तावेज हुन् । (त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक पाण्डे पत्रकारिता, सञ्चार, प्रविधि र प्रजातन्त्रसम्बन्धी अनुसन्धाता हुन् ।)
प्रतिक्रिया 4