+

चाँगुनारायण राष्ट्रिय ट्रेल रन १९ वैशाखमा

२०८३ वैशाख  १६ गते १७:३१ २०८३ वैशाख १६ गते १७:३१
चाँगुनारायण राष्ट्रिय ट्रेल रन १९ वैशाखमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एड्भेन्चर रनिङ महासंघले वैशाख १९ गते चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना गर्न लागेको छ।
  • प्रतियोगितामा खुल्ला ३६ किमि र यू–२० का लागि ७ किमि दौड समावेश गरिएको छ र २५० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।
  • खुल्ला ३६ किमि विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् र प्रतियोगिताको बजेट २८ लाख ११ हजार रुपैयाँ रहेको छ।

१६ वैशाख, काठमाडौं । नेपाल एड्भेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा चाँगुनारायण राष्ट्रिय ट्रेल रन आगामी वैशाख १९ गते शनिबार हुने भएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले राष्ट्रिय खेलकुद ऐनअनुसार हरेक वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपर्ने प्रावधान अनुसार यसपटक चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना गर्न लागिएको बताए ।

साहसिक तथा पर्यटकीय खेलको रूपमा एड्भेन्चर रनिङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बनाउने, खेलको विकास गर्ने र प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।

प्रतियोगितामा खुल्ला ३६ किलोमिटर र यू–२० (२० वर्षमुनि) का लागि ७ किलोमिटर दौड समावेश गरिएको छ। खुल्लातर्फ महिला र पुरुष दुवै विधामा ३६ किमि तथा यू–२० महिला र पुरुषतर्फ ७ किमि दूरीमा प्रतिस्पर्धा हुनेछ । प्रारम्भमा ३८ किमि दूरी तय गरिए पनि प्राविधिक टोलीको निरीक्षणपछि यसलाई ३६ किमिमा परिमार्जन गरिएको खत्रीले जानकारी दिए ।

ट्रेल रनको रुट कच्ची–पक्की, उकालो–ओरालो बाटो, वनजंगलभित्रका हाइकिङ ट्र्याक समेटेर तयार गरिएको छ । ३६ किमि दौड चाँगुनारायण मन्दिरबाट सुरु भई त्रिशुल डाँडा, तेलकोट, श्री पञ्च महालक्ष्मी मन्दिर, कार्तिके भ्यु प्वाइन्ट, नगरकोट भ्यु टावर, मुहान पोखरी, पानी मुहान र पाइपलाइन रोड हुँदै चाँगुनारायण नगरपालिकामा पुगेर समाप्त हुनेछ। ७ किमि दौड भने चाँगुनारायण मन्दिरबाट सुरु भई त्रिशुल डाँडा हुँदै चाँगुनारायण नगरपालिकामा पुगेर टुंगिनेछ ।

प्रतियोगितामा २५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

खुल्ला ३६ किमि महिला तथा पुरुषतर्फ विजेताले १ लाख रुपैयाँ, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । चौथोले २५ हजार, पाँचौंले १० हजार र छैटौं देखि दशौं स्थानसम्मका खेलाडीले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यू–२० तर्फ ७ किमि दौडमा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथोले ५ हजार, पाँचौंले ३ हजार तथा छैटौं देखि दशौं स्थानसम्मका खेलाडीले जनही १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। पुरस्कार रकममा प्रचलित कानुनअनुसार १५ प्रतिशत कर कट्टी गरिने आयोजकले जनाएको छ।

पहिलोपटक आयोजना हुन लागेको यस प्रतियोगितालाई बागमती प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास परिषद बागमती, चाँगुनारायण नगरपालिका, भक्तपुर जिल्ला खेलकुद विकास समिति, टोयोटा कम्पनी र १४ पिक्स आउटडोर लगायतले सहयोग गरेका छन्। प्रतियोगिताको अनुमानित बजेट २८ लाख ११ हजार रुपैयाँ रहेको छ।

महासंघले ट्रेल रनमा नेपालमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आगामी दिनमा नियमित राष्ट्रिय प्रतियोगितासँगै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता समेत आयोजना गर्ने योजना बनाएको जनाएको छ।

‘नयाँ सरकारले पनि अल्ट्रा/ट्रेल रन लगायत साहसिक खेलकुदलाई प्राथमिकता दिएको छ । अब महासंघले पनि हरेक वर्ष निश्चित राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना छ । यो खेलमा धेरै सम्भावना भए पनि धेरै काम गर्न बाँकी छ’ वरिष्ठ उपाध्यक्ष खत्रीले भने ।

‘अब हामी एउटा अन्तर्राष्ट्रिय अल्ट्रा रेस हरेक वर्ष गर्ने हाम्रो योजना छ । अर्को तर्फ नेपालमा वर्सेनि हुने २५-३० वटा रेसहरु छन् । त्यसमा केही रेसले हामीसँग सहकार्य गरेको छ । नेपाल पर्यटन बोर्डले पनि तीन रेस आयोजकसँग गोष्टी गरेर छलफल गर्ने र कसरी अघि बढ्ने भनेर योजना भईरहेको छ’ खत्रीले भने ।

चाँगुनारायण राष्ट्रिय ट्रेल रन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय