+

दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड ३१ वैशाखमा, ९ विधामा सम्मान गरिने

२०८३ वैशाख  १६ गते १७:३६ २०८३ वैशाख १६ गते १७:३६
दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड ३१ वैशाखमा, ९ विधामा सम्मान गरिने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वैशाख ३१ गते दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ आयोजना गर्ने भएको छ ।
  • अवार्डमा विभिन्न ९ विधामा सम्मान गरिनेछ ।
  • कार्यक्रमलाई रारा तयारी चाउचाउ मुख्य प्रायोजक, गुरुङ गहना घर र नेलम्बो नेपालले सह–प्रायोजन गरेका छन् ।

१६ वैशाख, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा ‘दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।

यसअघि वैशाख १८ गतेका लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारेर मसान्तमा आयोजना गर्न लागिएको जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

मञ्चका अध्यक्ष मानबहादुर घर्तीमगर (एमबी आस्था) का अनुसार पोखरा इभेन्ट सेन्टरमा हुने उक्त कार्यक्रममा ९ विधामा अवार्ड प्रदान गरिनेछ । हिमश्री फुड्स प्रालिको उत्पादन ‘रारा तयारी चाउचाउ’ मुख्य प्रायोजक रहेको कार्यक्रममा वर्ष खेलाडी (पुरुष), वर्ष खेलाडी (महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ/क्लब, स्पेसल अवार्ड र उत्कृष्ट खेल पत्रकार गरी कुल ९ विधामा सम्मान गरिनेछ ।

यस वर्षदेखि ‘पिपुल्स च्वाइस’ र ‘स्पेसल अवार्ड’ थप गरिएको छ । पिपुल्स च्वाइस अवार्डका लागि ‘गुरुङ गहना घर’ र स्पेसल अवार्डका लागि ‘नेलम्बो नेपाल’ले प्रायोजन गरेका छन् ।

खेलकुद क्षेत्रको समग्र विकास र खेलाडीहरूको मनोबल उच्च राख्ने उद्देश्यसहित वि.सं. २०७२ सालदेखि मञ्चले यो अवार्ड कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।

कार्यक्रमलाई भव्य बनाउन अध्यक्ष घर्तीमगरको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा उपाध्यक्षद्वय राजाराम पौडेल र उमा आले रहेकी छन् । यस्तै, विभिन्न उपसमितिहरू समेत गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको मञ्चले जनाएको छ ।

यस वर्षको अवार्डमा मुख्य प्रायोजकका रूपमा हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ रहेको छ भने सह–प्रायोजकमा गुरुङ गहना घर र केल्मी नेपाल छन् । भोटिङ पार्टनरका रूपमा खल्ती डिजिटल वालेट र हस्पिटालिटी पार्टनरका रूपमा प्लाजा होटल ग्रुप रहेका छन् ।

कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायत विभिन्न स्थानीय तह तथा विदेशस्थित संघसंस्थाहरूले सहयोग गरेका छन् ।

कास्कीबाट सुरु भएको यो मञ्च हाल गण्डकी प्रदेशकै एक सशक्त र स्वायत्त संस्थाका रूपमा स्थापित भइसकेको छ ।

रारा पोखरा स्पोर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय