+
+
Shares

खानेपानी डिभिजनका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किशोरीप्रसाद यादवमाथि डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ।
  • २०४७ असार ३१ देखि २०८० पुस ९ सम्म यादवको आय र खर्चमा एक करोड ४६ लाख बढी स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ।
  • अख्तियारले यादवकी श्रीमती निर्मला कुमारीको नाममा रहेको सम्पत्ति जफत गर्न र जेल सजाय माग गरेको छ।

१६ वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

यादवको सुरू नियुक्ति मिति २०४७ असार ३१ गतेदेखि २०८० पुस ९ सम्मको अवधि जाँच गर्दा सम्पत्तिको स्रोत नखुलेको दाबीसहित बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

यादवको वैधानिक आम्दानीतर्फ पारिश्रमिक आय, भत्ता आय, घरग्गा बिक्री आय, ऋण सापटी लिएको रकम, ब्याज आय रकम, कृषि आय रकम, छोरा तथा श्रीमतीको आय गरी जम्मा तीन करोड ४६ लाख २१ हजार रुपैयाँ बराबर आय देखिएको अख्तियारको दाबी छ ।

उक्त जाँच अवधिमा निज तथा निजको एकासंगोल परिवारका सदस्यहरूको व्ययतर्फका शीर्षकहरू जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारीसाधन खरिद रकम, अध्ययन खर्च, ऋण सापटी तिरेको रकम, विद्युतीय उपकरण खरिदबापतको रकम, आन्तरिक सजावट खर्च र अन्तिम बैंक मौज्दात गरी जम्मा चार करोड ९३ लाख दुई हजार ६२६ रूपैयाँ ९९ पैसा खर्च भएको अख्तियारको भनाइ छ ।

कुल आयभन्दा कुल व्यय एक करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ ९० पैसा बढी भई स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ । यसरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती निर्मला कुमारीको नाममा समेत रहेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप बिगो जफत, त्यति नै जरिवाना र जेल सजायको माग अख्तियारले गरेको छ ।

यादवकी श्रीमती निर्मला कुमारीको नाममा रहेको सम्पत्ति समेत जफत गर्न अख्तियारले अदालत समक्ष माग गरेको छ । उनीहरूमाथि अन्य विषयमा अनुसन्धान जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?