+
+
Shares
सिनेमा :

एक दिनका लागि ट्रान्सजेन्डर बनेर सडकमा निस्कँदा…

उसले मलाई जानाजान अनुचित तरिकाले छोएर गयो । मैले लगाएको कपडा टाइट थियो र सानो स्पर्श पनि महसुस गर्न सक्थें ।

नविन न्यौपाने नविन न्यौपाने
२०८३ वैशाख १७ गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार नविन न्यौपानेले ट्रान्सजेन्डर बनेर सडकमा निस्कँदा भोगेका अपमान र तिरस्कारले उनको दृष्टिकोण परिवर्तन भएको थियो।

हजारौं मान्छेहरू जस्तै म काठमाडौं छिरेँ- कलाकार बन्न सपना बोकेर । सिनेमाको हिरो बन्ने रहरले फिल्म पढें । तर सबै सोचेजस्तो नहुँदोरहेछ । त्यो पनि अन्जान सहरमा । र, आफूभित्रको सपनालाई मारेको थिइनँ ।

ओस्कर फिल्म कलेजमा अन्तिम वर्ष पढ्दै गर्दा एउटा फिचर फिल्मको अफर आयो । फोनमा धेरै कुरा भएन । निर्देशकले यति भन्नुभयो, ,तिमीलाई लिएर फिल्म बनाउने योजना गर्दैछु, भोलि अफिसमा भेटौँ ।’

म सुपर डुपर एक्साइटेड हुँदै दुईपटक सनस्क्रिन लगाएर छालालाई चम्किलो बनाएँ । डेनिम ज्याकेट, जिन्स, सेतो टिसर्ट, सेतो जुत्ता सबै मिलाएर पहिरिएँ र निर्देशक अफिसतिर लागेँ । उहाँ पनि उत्तिकै उत्साहित देखिनुभयो । मलाई भेट्नासाथ उहाँले अंगालो हालेर स्वागत गर्नुभयो ।

हामी गफिन थाल्यौँ।

‘सर, स्टोरी के हो ? मेरो क्यारेक्टर कस्तो छ ?’ म उत्साहित थिएँ, त्यसैले सोधिहालें ।

उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘नविन, यो फिल्म स्पेसल छ । यो पात्र तिमी निभाउन सक्छौ । मलाई तिमीमाथि विश्वास छ ।’

म मख्ख परें । एकछिन त आफैं कलाकार भएको कल्पना परे ।

निर्देशकले थप विस्तार गर्दै भन्नुभयो, ‘तिम्रो क्यारेक्टर ट्रान्सजेन्डरको हुनेछ ।

म छक्क परें ।

मैले सोधेँ, ‘सर, क्यारेक्टरको नाम ट्रान्सजेन्डर हो कि वास्तविक रूपमा ट्रान्सजेन्डरकै भूमिका निभाउनुपर्ने हो ?’

‘हो, तिमीले ट्रान्सजेन्डरकै भूमिका निभाउनेछौ ।’ त्यसपछि मेरो सबै सपना एकैपटक उडेर गयो । हिरो बन्छु भनेर आएको मान्छे कहाँ ट्रान्सजेन्डर बन्ने ?

तर यो कुरा मैले उहाँलाई भन्न सकिनँ । मेरो अनुहारको भाव बदलिएको देखेर हुनसक्छ, उहाँले सोध्नुभयो, ‘के भयो, नविन ? तिमी एक्साइटेड त छौ ?’

एक्साइटेड छैन भने, बल्लबल्ल पाएको रोल पनि जान्छ । एक्साइटेड छु भनौं भने फेरि ट्रान्सजेन्डर ! के गर्नु के गर्नु भयो । तर जस्तो भए पनि मैले सिनेमा खेल्ने मौका पाएको थिएँ । उहाँलाई आफू उत्साहित भएको सुनाएँ

फेरि सोधें, ‘तपाईंले लिड रोलका लागि भनेजस्तो लागेको थियो।’

‘हो, लिड नै हो ।

‘तर ट्रान्सजेन्डर त कहिल्यै लिड रोलमा देखेको छैन मैले।’

‘त्यही त परिवर्तन गर्नुपर्छ नविन ।’

म केही बोलिन । १-२ हप्तापछि फेरि भेट्ने भन्दै हामी छुट्टियौं ।

घर फर्किएपछि म अनिश्चित थिएँ । फिल्म पाएर खुसी थिएँ, तर त्यो क्यारेक्टर पाएर दुःखी पनि । २–३ दिन सोचेपछि जे भए पनि काम गर्छु भन्ने अठोट गरें ।

त्यसपछि मैले उनीहरूको बारेमा अध्ययन गर्न थाले । अनलाइन, गुगल, युट्युबमा उनीहरूका सामग्री हेर्न थालें । अध्ययन गर्न थालें । अध्ययन गर्दै जाँदा सुनेको भन्दा फरक पाएँ । मैले उनीहरूकाबारे नराम्रो मात्र सुनेको थिएँ । त्यसैले जहिल्यै नकारात्मक सोच्थें । तर जब उनीहरूका अन्तर्वार्ता हेरें । कथा थाहा पाएँ । उनीहरूले पाएको तिरस्कार, घर हेला समाजको तिरस्कार । उनीहरूलाई हेलाँ र हाँसोको पात्र बनाइएको थाहा पाएँ । मेरो मनभित्र भित्रभित्रै कुँडियो । उनीहरूप्रति दया, माया जाग्न थाल्यो । एक हप्ता यसरी बित्यो ।

अनि उनीहरूसँग भेट्ने निर्णय नै गरेँ।

तर कहाँ भेटिन्छ उनीहरू ? कसैलाई चिनेको थिइनँ।

अन्ततः एक जना साथीको मार्फत उनलाई भेटें । उनी एक ट्रान्सजेन्डर महिला थिइन् । व्यक्तिगत रूपमा पहिले कहिल्यै ट्रान्सजेन्डर भेटेको थिइनँ । त्यो पनि यति नजिकबाट ।

रेस्टुरेन्टमा बसेर कुरा सुरु गर्यौं । उनले जीवनमा भोगेका दु:ख, परिवार र साथीहरूबाट सामना गर्नुपरेको तिरस्कारबारे सुनाइन् ।

करिब २ घण्टा उनले यसरी आफ्नो अनुभूति सुनाइरहिन् । उनको भोगाइ सुन्दा २ घण्टा बितेको पत्तै पाइनँ । उनले भागेको विभेद, अपमान सुन्दा अनौठो लागिरह्यो । त्यो भन्दा धेरै दु:खी भएँ । धेरै दिनसम्म दिमाग उनले भोगेका कुराहरू खेलिरहे ।

नविन न्यौपाने ।

एकदिन निर्देशकले फोन गरेर भेट्न बोलाउनुभयो । म उत्साहित भएर निर्देशकको अफिस गएँ । फिल्मका लागि सम्झौता भयो । उनले क्यारेक्टरबारे तयार हुन भन्नुभयो ।

तर मलाई केही नपुगे जस्तो भइरहेको थियो । उनीहरूको जिन्दगी कस्तो हुन्छ, समाजले उनीहरूलाई कसरी हेर्छ– सबै बुझ्न चाहन्थें । ताकि त्यो पात्रलाई सिनेमामा जीवन्त उतार्न सकुँ ।

अनि निर्णय गरें- आफैं ट्रान्सजेन्डर बनेर सडकमा निस्कने । उनीहरूकै लुगा, पहिरन लगाएर । हाउभाउ पनि उस्तै बनाएर । एकदिन ट्रान्सजेन्डर भएर बाँच्ने ।

मैले ती ट्रान्सजेन्डर दिदीलाई फोन गरेर मद्दत मागें ।

अर्को दिन खाना खाएर दिउँसो तिर पुगें दिदी बस्ने फ्ल्याटमा । उहाँले मलाई तयार पार्न थाल्नुभयो । म उत्साहित थिएँ । कस्तो हुने होला भन्ने संकोच पनि थियो । म दुब्लो पातलो केटा दिदीको लुगा मिलिहाल्यो । त्यसपछि ब्रेस्ट लगाएर ब्रा लगाएँ । अनि मेकप पनि गरें । लिपस्टिक र गाजल सबै र एक्सटर्नल हेयर पनि थप गर्दिनुभयो ।

जब मैले आफैँलाई ऐनामा हेरेँ । आफै अचम्म परेँ । म पुरै राम्री केटी बनिसकेको थिएँ । दिदी मुसुक्क हाँस्दै– ‘अल द बेस्ट’ भन्नुभयो अनि म पनि निस्किएँ ।

मेरो योजना लाजिम्पाटबाट रत्नपार्कसम्म जाने र फेरि फर्कने थियो । त्यसैले लाजिम्पाटको मुख्य बाटो हुँदै म गएँ । बाटोमा निस्कनेबित्तिकै मानिसहरूले हेर्न थाले । कसैकसैले फर्कीफर्की हेर्न थाले । रमाइलो पनि लागिरहेको थियो । केटा भएर जिउँदा कहिल्यै यसरी कसैले नोटिस गरेको थिएन । केही कुरा नोटिस हुँदा कस्तो हुन्छ भन्ने नै थाहा थिएन । तर आज थाहा हुँदै थियो ।

त्यहाँबाट गाडी चढेर रत्नपार्क गएँ । गाडीमा सिट नभएकाले उभिनुपर्‍यो । वन पिस र हिल लगाएर उभिन साह्रै गाह्रो हुँदोरहेछ । म उभिरहेको थिएँ र अगाडि केटाहरू बसेर हेर्दै हाँसिरहेका थिए । म पनि तिनीहरूतिर हेरेर हाँसेजस्तो गरिदिएँ।

गाडीको एउटा सिटमा एकजना आमा बस्नुभएको थियो । उहाँले मुख खुम्च्याउँदै हेर्नुभयो । मलाई नरमाइलो लाग्यो । त्यहाँ केटीहरू पनि थिए । उनीहरू पनि एक-अर्कालाई हेर्दै कानेखुसी गर्दै थिए । बारम्बार म तिर हेर्दै हास्दै थिए । बसको वरिपरि आँखा डुलाएँ । सबैको हेराइ नौलो लाग्यो, मानौँ म कुनै फरक ग्रहबाट आएको मानिस हुँ । बिस्तारै अप्ठ्यारो महसुस हुन थाल्यो । उनीहरूको हेराइले असहज बनाइरहेको थियो । ट्रान्सजेन्डर भएर बाँच्नु कस्तो हुँदोरहेछ भन्ने कुरा महसुस गर्दै थिएँ ।

बसको पछाडि बसेको एक युवक खलासीसँग कुरा गर्न भन्दै अगाडि बढ्यो । जाँदा उसले मलाई जानाजान अनुचित तरिकाले छोएर गयो । मलाई उसको त्यो बडी पार्ट महसुस भयो । किनभने मैले लगाएको कपडा टाइट थियो र मैले सानो स्पर्श पनि महसुस गर्न सक्थें । त्यो स्पर्शले एकदमै रिस उठिरहेको थियो । मैले आफ्नो शरीर र हाउभाउमार्फत मात्र आफ्नो रिस देखाएँ, तर केही बोलिन । किनभने बसभित्र यति धेरै मानिसहरूबीच म कराउन चाहन्नथेँ । मलाई त्यहाँ अनावश्यक रूपमा हंगामा सिर्जना गर्न मन थिएन । सिर्फ उसलाई रिसाएको नजरले हेरें, तर ऊचाहिँ केही नभएजस्तो गरिरहेको थियो ।

जब खलासीसँग कुरा गरेर ऊ आफ्नै ठाउँमा फर्कियो, फेरि उस्तै तरिकाले मलाई छोएर आफ्नो ठाउँमा गयो ।

मलाई थाहा छैन के भयो शरीर त्यस्तै चिसो भएर आएको थियो । त्यो समय मलाई याद आयो । मेरा दिदीबहिनीहरू र महिलासाथीहरूले यस्तै घटना सुनाउँथे । म उल्टै भन्थेँ– पछाडि फर्केर झपड हान्नु पर्दैन, कराउनु पर्दैन, चुप लागेर बस्ने होर । म आहिले त्यही अवस्थामा थिएँ । त्यो मान्छे मेरो अगाडि छ, तर म केही पनि गर्न सकिरहेको थिइन् । मलाई अत्यन्तै गाह्रो लाग्यो । खलासीलाई गाडी रोक्न लगाएँ र झरिहालें। म झर्दा पनि सबैजसोले उसैगरी हेरिरहेका थिए ।

मनमा भने प्रश्नहरू थिए– मैले किन केही भन्न सकिनँ, के सबैलाई यसरी नै व्यवहार हुन्छ त ? यो केवल ट्रान्सजेन्डरको बारेमा मात्र होइन, महिलाहरूलाई पनि यति नै गाह्रो हुन्छ त ? म बुझ्न सकिराखेको थिइनँ । कि यस्तो होइन, मलाई मात्रै यस्तो भएको हो ? कुनै मानिसले किन अर्को मानिसलाई यस्तो गाह्रो बनाउन सकेको होला ? के त्यो मानिसलाई थाहा छ होला त कि उनीहरूले मलाई गाह्रो बनाइरहेका छन् भनेर ?

बिस्तारै रत्नपार्कतिर लागेँ । त्यहाँ पुग्दा अँध्यारो भइसकेको थियो । पुलको छेउमा बसेर उभिएँ । त्यहाँ अरू महिलाहरू पहिलेदेखि नै उभिरहेका रहेछन् । ती मध्ये केही तेस्रो लिंगी पनि थिए ।

रात छिप्पिँदै गएपछि मास्क लगाएका केही मानिसहरूको चलपल बढ्न थाल्यो । केही पुरुषहरू म जस्तै पुलमुनि उभिएका महिलाहरूसँग कुरा गर्न थाले । कतिमा जाने, पूरा रात कि आधा, मोलमोलाइ भइरहेको थियो ।

केहीबेरमा केही २–४ जना केटाहरू म भएतिर आए ।

केही पर पुगेर ऊ फेरि फर्कियो र नजिक आएर भन्यो, ‘जाने हो ?’

मेरो मुटु चिसो भयो । म केही बोलिन ।

उनीहरू सोधिरहेका थिए- होलनाइटको कति ? एक पटकको कति… यस्तै यस्तै ।

त्यहाँमध्ये एक जना केटाले मलाई निकै घोरिएर हेर्दै बोलिरहेको थियो ।

केहीपछि उसले भन्यो- ‘अबे छोड्दे यार यो त छक्का हो ।’

उसले मलाई एकछिन हेर्‍यो र केही नबोली हिँड्यो ।

त्यसपछि उनीहरू रिसले चुर भए । ठूलो स्वरमा अशब्द बोलेर गाली गर्न थाले । गाली सुन्नै नसिकने खालका थिए । त्यो गाली लैंगिकतासँग जोडिएर गरिएको थियो । केही बेरमा फेरि २–४ जना मान्छेहरू नजिक आए । घुरेर मतिर हेर्न थाले ।

उकुमुकुस भयो– जम्मा भएको भीडले होइन, ती केटाहरूले गरेको गाली र तिरस्कारले । मलाई कता भगाउँ जस्तो भयो । एकदम असहज र असुरक्षित महसुस भयो।

आत्तिएको देखेर एक जना तेस्रो लिंगी महिला मतिर आइन् । सायद उनले मेरो पीडा बुझिइन् ।

‘यहाँ हर रात यस्तै हो । यस्ता गाली पचाउन सक्नुपर्छ । नभई धन्दा चल्दैन । धन्दा नचले पेट भर्दैन’ उनले आफ्नो अनुभव सुनाइन् ।

म केही बोल्न सकिरहेको थिइनँ ।

त्यसपछि पनि बाटोमा हिडेकाहरूले जिस्क्याउने, अपशब्द बोल्नेक्रम चलिरह्यो ।

म त्यहाँ करिब एक घण्टा जति बसेँ । त्यो भन्दा बढी बस्न सकिनँ । मानिसहरूको नजर, अपशब्द, अनाहकको डर– सबैले थिचिरहेजस्तो लाग्यो ।
आज रत्नपार्कको बाटो मलाई खुला ठाउँ होइन, पिँजडाभित्र थुनिएको चराझैँ लाग्यो ।

त्यसपछि ट्याक्सी चढेर घर फर्किएँ ।

घटना भएको करिब ‍९ वर्ष भइसक्यो । जब फर्केर हेर्छु, लाग्छ त्यो क्यारेक्टर स्टडी राम्रो अभिनेता बन्न मात्र होइन, राम्रो मानिस बन्न सिकाउनेलाई थियो । त्यस दिनबाट धेरै कुराप्रति मेरो दृष्टिकोण बदलियो।

म ती निर्देशकप्रति आभारी छु, जसले त्यो फिल्म बनाउने सोच राख्नुभयो र मलाई त्यो भूमिका दिनुभयो ।

तर त्यो फिल्म कहिल्यै बनेन । अहिले ९ वर्षपछि बुझ्दैछु त्यो अफर मलाई अभिनेता बनाउन होइन, मेरो जीवनको नायक बनाउनका लागि आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?