+
+
Shares
कथा :

शहरमा यौटा भारी बोक्ने मानिस

रगत र पसिना सराबरी घोल्दा, ११–१२ वर्षमा ७–८ लाख ऋण तिरिसकिँदैन ? साँच्चै लघुवित्तहरू लुटेराहरू हुन् ?

अकबरे अकबरे
२०८३ वैशाख १८ गते ११:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जीवनको परिवारमा श्रीमती र छोराछोरी छन्, उनीहरू मिलेर मजदुरी गर्छन् तर ऋण र दैनिक खर्चले जीवनलाई आर्थिक सङ्कटमा राखेको छ।

‘दाजु तपाईंहरू कतिबजे सुत्नुहुन्छ ?’ उसले प्रश्न गर्‍यो ।

‘१० बजे’ जवाफ दिएँ ।

‘उसोभए म १० बजेसम्मै बोक्छु ल । डिस्टर्व गर्दिनँ ।’ थप्यो ।

मैले नाइँ भनिन ।

घरको छतमा लेवलिङ गर्नु छ । उसले भुइँबाट २ तलामाथि बालुवा र गिट्टी पुर्‍याउनुपर्ने थियो । र, यो कामका लागि ठेकेदारले उसलाई पैसा दिन्थ्यो भारीको हिसाबले ।

ऊ उसको काममा बिजी भयो, म मेरोमा ।

खानपिन गर्दावर्दा ९ बजेछ । यसबीचमा मैले उसलाई खाना खाए/नखाएको यकीन गरेको थिएँ ।

‘खाजा खाएर आएको दाजु, एकैछिनमा गएर खाना खान्छु । बुढीले पकाउँदै छ’ उसले जवाफ दियो ।

नभन्दै ऊ बाचाको पक्का निस्कियो ९ बज्दा नबज्दै हिँड्यो । हिन्नुभन्दा पहिले उसले मलाई म अर्को बिहान कतिबजे उठ्छु भनेर यकीन गर्नभने छाडेन ।

उसले साँझ ५ बजेसम्म रोजको काम, ६ बजेदेखि ९ बजेसम्म ओटी (ओभरटायम) गर्यो । यसमा खास सोच्नुपर्ने कारण थिएन । मैले पनि वैदेशिक रोजगारीमा हुँदा यति काम त गर्थें ।

‘बिहान लगभग ४ बजे म उठ्छु’ मैले यसलाई भनेको थिएँ ।

अकबरे

उठेर ढोका खोलें । ४ बजेनै आउने उसको अघिल्लो दिनको बाचामा यहाँनेर फेल खायो । यस विषयलाई मैले खासै चासो दिइनँ । दिनभर, साँझैसम्म श्रम गरेर थाकेको मानिस बिहान आउन असम्भव प्राय थियो ।

अघिल्लो दिन भोलिदेखि यसो गर्छु, उसो गर्छु भनिन्छ भोलिपल्ट चुच्चे ढुंगो, उही टुंगोमा पुगिहालिन्छ । सोचें– उसमा त्यही नियम लागू भयो जुन तपाईं हामी सबैमा हुन्छ ।

होइन होइन, मेरो लख यहाँनिर फेल खायो । ‘उठ्नत ३ बजे नै उठेको खाजा साजा खाएर हेर्दा त कुन चाहिँले बाहिरबाट गेटको ताला झुण्ड्याएर हिँडेछ ।’ ऊ ६ बजे टुप्लुक्क आइपुग्यो ।

‘मेरो त बर्बादै भयो नि दाजु ।’

किन ?

‘गेटले नि, अहिलेसम्म आधा काम गर्ने थिएँ ।

तर, दाजु भर्न सघाउने साथी ल्याएको छु ।’

‘इला रानी, छिटो छिटो भर ।’ मगर र नेपाली भासामा उसले श्रीमतीलाई आदेश दियो ।

करिब १ घण्टा उनीहरूले श्रम गरे ।

‘अब जान्छौँ ल दाजु ! कोठामा गएर खाना खाएर ड्युटी जाँदा ठिक्क हुन्छ ।’

‘ड्यूटीबाट आएर खाजा खाएर आएको’ साँझ ६:३० बजे फेरि उनीहरू आइपुगे ।

श्रीमतीले भर्ने, श्रीमानले माथि पुर्‍याउने, चुपचाप काम गर्न थाले ।

सिमेन्ट बोरा भरि बालुवा/गिट्टी हालेर ऊ सुस्तरी माथि पुर्‍याउँछ । घोप्ट्याउँछ । फर्कंदा सिंढीका २ खुड्किला एकैपटक पार गर्छ । ता कि अलिकति छिटो होस् ।

आफ्नो तौलभन्दा दोब्बर नै गरुंगो भारी कसरी बोक्न सकेको ? यो मानिस किन यति धेरै श्रम गरिरहेछ ? सानी छोरीलाई काखमा बोकेर म उनीहरूलाई नियालिरहेछु ।

७:३० तिर श्रीमती फर्किन्छे । अब भर्ने र बोक्ने ऊ एक्लै हुन्छ ।

‘लु पानी पिउनोस्’ ८ बजे तिर मैले उसलाई पानी दिएँ।

‘नपिउने’ उसले इन्कार गर्‍यो ।

खासमा पानी भन्दा पनि मैले ग्लुकोज पानी तयार पारेको हुनाले फेरि आग्रह गरें, ‘यसरी श्रम गर्नेले पानी धेरै पिउनुपर्छ । ल पिउनू।

‘हो नि दाजु पानी पिउनुपर्छ । पानी पिएन भने किड्नी बिग्रिन्छ । मेरो दाजु किड्नि फेल भएर ६ वर्षअघि मरेको’ उसले सुनायो ।

अनि खै त श्रीमती ?

‘ऊ खाना बनाउन गयो दाजु । ८ बजे गेट लाग्छ । उसले खाना बनाउँछ अनि भरे म जाँदा गेट खोलिदिन्छ । त्यसैले म ढिलासम्म काम गर्न पाउँछु ।’

‘म कतिबजेसम्म काम गरौं दाजु ?’ ऊ प्रसंग बदल्छ ।

‘ठिकै छ, मन लागुन्जेल गर्नुन’ मैले कुनै समयसीमा तोक्नु जरूरी ठानिनँ ।

उसले ठेकेदारसँगको सम्झौता अनुसारको कहिले गिट्टी कहिले बालुवा बोक्छ । कति बोरा बोक्यो भन्ने गणना सहज होस् भनेर यौटा बट्टामा प्रत्येक भारीको १ को दरले गिट्टी राख्छ ।

म निदाउञ्जेलसम्म पनि ऊ इँटा बजाइरहेकै थियो । अर्कोदिन बिहान उठ्दा पनि इँटा बजाइरहेकै थियो । सायद सुतेन कि ? घर जाने खुसीले निन्द्रै पो लागेन कि ? कि अभावले मानिसलाई निदाउँन दिदैन ?

हामीलाई पनि सँझमा खास फुर्सद हुन्न । छोरी सुताउने, पकाउने, खाने गर्दा ९–१० बजिजान्छ ।

खाना पाकिसकेपछि श्रीमतीले उसलाई आउनुस् खाना खान भनिन् ।

‘होइन, रुममा अघिनै पाकेको छ, तपाईंहरू खानुन’ मुसुक्क मुस्कुराएर जवाफ दिन्छ र सरासर काममै लाग्छ । सिंढीमा तलमाथि गर्दा उसका नजरहरूले दायाँबायाँ के छ भनेर कहिल्यै चासो राख्दैनन् ।

रातको १० बजे सुनसान सडकमा गिट्टीमा रगडिएको बेल्चाको कर्कस आवाज साँच्चै ह्रृदयविदारक सुनिन्छ ।

यस बेलासम्म छरछिमेकीहरू सुतिसकेका छन् । हाम्रो घरमा डेरा गरी बस्ने दाजु उसको कर्म देखेर टोलाएर बसेका रहेछन् । उनी मलाई देखेपछि यौटा लामो खुई काढ्छन् र भन्छन् ‘कठै मानव चोला, कसैलाई सम्पति सम्हाल्न फुर्सद छैन कसैलाई यी भारीमाथि सुपारी !’

म मौन छु । कहिलेकहीं मौनता साँच्चै मौन हुँदोरहेछ-औंसीको रातजस्तो । मसँग बोल्ने शब्दहरू छैनन् । तर मलाई खुल्दुली भएको छ उसको जीवनको पार्श्व संगीत सुन्न । लेख्न बिर्सिएका हातहरूले उसले भोगेको जीवनका आरोह अवरोहहरूको कथा कुद्न।

१० बजेर अरू ३० मिनेट पनि बित्छ । मोबाइलको स्क्रिनबाट हत्तपत्त हटेर उसको छेउमा पुग्छु । नफाटेको तर धुलो टाँस्सिएर मैलिएको टिसर्ट निथ्रुक्क पसिनाले भिजेको छ । अनुहारमा भने खास पसिना देखिन्न । सायद मलाइजस्तै कम पसिना आउँदो हो ।

‘कति बजेसम्म गर्ने ?’ म सोध्छु ।

‘तपाईंहरू कतिबजे सुत्नुहुन्छ ?’ ऊ प्रतिप्रश्न गर्छ । ‘कि बेला भयो ? ११ बजेसम्म बोकौ ?’ मेरो मौनता देखेर ऊ आफैं सहज भैदिन्छ ।

म लगभग ११ बजे नै सुत्छु । तर यहाँनिर मेरो मनले भन्छ अब यसको श्रमप्रति धावा बोल्नुपर्छ । खै किन हो लाग्छ अब यसलाई यहीँ रोक्नुपर्छ । हुनसक्छ उसको थकित र भोको अनुहार देखेर । हुनसक्छ ८ बजे पाकेको खाना ११ बजे खाँदा बेस्वादको हुने देखेर । अथवा, मानव संवेदनाले काम गरेको, अथवा अरू नै केही ।

‘डिस्टर्व भयो र ?’ फेरि पनि उ बोल्छ ।

‘मलाई डिस्टर्ब त भएको छैन तर..’ म थप बोल्दिन ।

प्रसंग बदलिदिन्छु । ‘अब तपाईं जानु ल । भोलि गर्नु । खानुपर्छ, आराम पनि गर्नुपर्छ । गिट्टी बालुवा, सिमेन्ट र शरीर एकै होइनन् नि !

‘हो नि दाजु आराम चाहिन्छ । ल ल दाजु । बिहान कति बजे उठ्नुहुन्छ ?’

५ बजे ।

‘ला… म त ३ बजे नै पो आउनुपरो भनेको !’

हँ ? उसको कुराले म छाँगाबाट खसेजस्तो हुन्छु ।

तपाईंलाई सुत्नु पर्दैन ?

‘३/४ घण्टा सुत्दा निन्द्रा पुगिहाल्छ नि । म सधैं ३ बजे उठ्छु ।’

हत्तेरी ! सेलाएको खाना, १८/२० घण्टा भारी बोक्ने काम अनि ३ घण्टा आराम !

राज्य, म, ऊ स्वयम् अथवा बाध्यता- उसको श्रम शोषण कसले गरिरहेछ ? साँच्चै म यहाँनिर नि:शब्द भएको छु ।

‘साइकल यतै राख्छु ल दाजु ।’ उसले जानेबेलामा भन्यो ।

किन ?

‘गेट लगायो होला । नागेर जानपर्छ’

श्रीमतीले खोल्दैन ?

‘ऊ पनि दिनभरको कामले थाकेको हुन्छ सुत्यो होला ।’

म बोलिनँ ।

‘लागे है त दाजु । बिहान आउँछु ।’

साइकल यतै छाडेर ऊ बाटो लाग्यो ।

***

ठङ्ग्रङ्ग इँटा झरेको आवाज आउँछ ।

-हत्तेरि इँटा पो चोर्दैछन् कि के हो ?

रातको खै कति बजेको थियो थाहा छैन । घडी हेरिनँ । मेरो घरदेखि अलि पर अर्को एउटँ घर बन्दैछ । हिजोमात्र घरधनीले झापाको इँटा अत्यधिक महंगो भएकाले बिराटनगरबाट मगाएका थिए । टर्च खोजेर झ्यालभित्रैबाट प्रकाश तेर्स्याएँ ।

हत्तेरिका ! उही पात्र रहेछ जुन हिजो मेरो घरमा अबेरसम्म बालुवा बोकिरहेको थियो । म अवाक भएँ । यो मान्छे रातैभर सुतेन कि के हो , कि साइकल यतै राखेर घरै पो गएन ? रातभर नाइट ड्युटी त गरेन ? तर, सकिन्छ कसरी ? उसको ज्यान पनि त त्यस्तो हृष्टपुष्ट छैन । ल्याङ्ग्रे लिखुरे नै छ । किन यो मानिस यतिधेरै श्रम गरिरहेछ ? कहिलेकहीँ अरुकै कारण पनि मस्तिष्क भारी हुँदोरहेछ ।

कोठाको बत्ति बालें । चार बज्नलाई १० मिनेट बाँकी रहेछ ।

४:१० जति भएको हुनुपर्छ घरको घन्टी बज्यो । उही पात्र रहेछ । मैले ढोका खोलिदिएँ । उनीहरू श्रीमान्-श्रीमती मिलेर उही काम गर्न थाले ।

उनी उठाइदिन्थिन् । ऊ भारी माथि पुर्‍याएर खन्याउथ्यो । १ गिट्टी टिप्थ्यो र गन्तीमा राख्थ्यो ।

म कहिले हेर्थें, कहिले टोलाउथें । तर, उनीहरूलाई भने बोलाइन । लाग्यो, उनीहरूको व्यस्ततालाई मैले भुल्याउनु हुँदैन । सबैको समय मेरोजस्तो सस्तो कहाँ हुन्छ र !

बिहानको ६:३० बजेसम्म उनीहरूले काम गरिरहे । त्यसपछि श्रीमती लागिन् ।

७:१५ तिर ऊ मेरो नजिकै आयो । ‘ल दाजु म जान्छु । अब गएर खाना खाएर ड्युटी जानुपर्छ । ५ भारी बाँकी छ, बेलुका सक्छु । अलि ढिला उठ्नुभयो नत्र बिहानै सकौं भनेथें ।’

अनि त्यहाँको इटा ? मैले प्रसंग बदलें ।

‘इटा बोकिदे भन्यो नि दाजु । भेटेका बेला गर्नुपर्छ भनेर ! विदेशमा कति दु:ख गर्छन् मान्छेहरू, यो त आफ्नै देश हो । ओटी गरेको नि ।’

दिनमा कति बोक्नुहुन्छ ? कसरी बोक्नुहुन्छ ?

‘तलाक‍ो रुपैयाँ । ३ तला छ, अढाई त लिनैपर्‍यो । धेर त बोक्न सक्दैन दाजु । त्यही एक ट्याक्टरचाहिँ मरितरि सकिन्छ दिनमा।’

‘म जान्छु ल दाजु ।’ ऊ हिड्यो ।

एक ट्याक्टर अर्थात १५०० इँटा । तीन तलामाथि । एक दिनमा, हैट ! उसको कुरा सुनेर मेरो मथिंगल हल्लियो ।

बेलुका आयो र बाचा अनुसा रै बाँकी काम निप्ट्यायो ।

‘दाजु ठेकेदारलाई पैसा दिनेबेलामा मलाई पनि खबर गर्नुस् ल । धेरै ठेकेदारहरू फटाहा हुन्छन् । ठग्छन् दिँदैनन् ।’

ल म फोन गर्छु ।

मलाई ऊ प्रति दया-मायाँ भन्दा पनि उसको कर्मप्रति दिलचस्पी जाग्यो । ‘हातखुट्टा धुनुस् जाऊँ कफि पिउन ।’

‘होइन दाजु त्यो इँटा बिहानसम्ममा सक्नुपर्ने छ । हामी पनि नयाँ वर्ष मनाउन पहाडतिर जाउँ भन्या । इँटा बोकिसक्ने, नुवाइधुवाइ गर्ने, पहाड लाग्ने । आज नभ्याए बिहानै लाग्न’पर्ला । १ गते गाडी त चल्छ नि है !’

ल उसोभए पहाडबाट आएपछि सँगै कफी पिउने । म उसको नम्बर लिन्छु र बिदा गर्दिन्छु ।

बिदा भएर झट्टै इँटा बोक्न पुग्छ । नयाँ घरमा यति-उति, बोक-नबोक भन्ने कोही भएन । म निदाउञ्जेलसम्म पनि ऊ इँटा बजाइरहेकै थियो । अर्कोदिन बिहान उठ्दा पनि इँटा बजाइरहेकै थियो । सायद सुतेन कि ? घर जाने खुसीले निन्द्रै पो लागेन कि ? कि अभावले मानिसलाई निदाउँन दिदैन ?

साँच्चै अभाव पनि त धारिलो हतियार भन्दा के नै फरक हुन्छ र !

***

नाम्लोको पाताले तालु जसरी खुइलिएको छ, जीवनले पनि उसरिनै अनेकौं मोडहरूसँग रगेटिनु परेको छ ।

पत्थरलाई जति रगेट्यो उति चम्कन्छ । यसरी भनौं जीवनलाई चम्किन गिट्टी बालुवा, ढुंगासँग उसै गरी रगेटिनु पर्‍या छ ।

जीवन अर्थात ऊ, अर्थात जीवन राना, अर्थात भारी बोक्ने मान्छे, अर्थाथ एक मजदुर ।

२०५० मा जन्मिएको जीवन ११ वर्षकै उमेरमा पिता गुमाएर टुहुरो हुनुपर्‍यो । पढाइमा पुर्णबिराम लाग्यो । उसले कक्षा ७ सम्मको ढोका मात्र टेक्न भ्यायो । उसको हुर्काइ देश चरम गृहयुद्धमा फसेको बेला भएको हो । यसरी भनौं उसको शरीरले पनि गोली, बम बारूद र विध्वंश नापेको छ ।

जीवनलाई पनि क्रान्तिको झण्डा जवर्जस्त बोकाइएको थियो तर यसले फाइदा भने भएन । बुबाको अकालमा मृत्यु । पहाडको भिरालो जमिन । छोटे-मोटे ऋण । अक्सर नेपालीहरूले भोगेकै नियति उसमा पनि देखापर्‍यो । उमेर बढाएर नागरिकता बनायो र उड्यो मलेसियाको तातो घाम खान ।

केहिवर्ष मलेसियामा बिताएपछि थोरै रकमको जोहो भयो । घर फर्किएर ऋण तिर्‍यो । भर्खर कुरकुरे बैँस पलाएको थियो । त्यही बैंसमा मग्न भएर बिहे गर्‍यो ।

मलेसियामा गरेको दुःख सम्झिएर उसलाई देशमै केही गर्ने हुटहुटी चल्यो । बुढाबुढी मिलेर केहिथान भैंसी जोडे । खेती किसानी गरे । दुःखसुख दुई गाँस जोहो भयो ।

दुई गाँसले मात्र मानिसको जीवन चल्दैन ।जीवनको रोजिरोटी मात्र चल्यो, जीवन चलेन । भोलि छोराछोरी होलान परिवारमा सपनाहरू थपिएलान्, बतासले हानेको दियोजस्तो भएर कति बस्नु ? सपनाको उचाइले जीवनले मलेसियाको तातो घाम बिर्सियो । यसपटक उसका पखेटाहरूले खाडीतिर उढाउने भए ।

जसै भिसा लाग्यो उनको थाप्लोमा बज्रले हान्यो– श्रीमतीले अर्कै नाठो पकडिन् ।

नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छा बाउको अनुहार ! भिसा लागेको छ, विदेश जानू कि श्रीमती पोइल हिडिन् आमा र घर सम्हालेर बस्नु ?

सपनाको सधैं विजय हुन्छ । यो महायुद्धमा जीवनको सपनाले जित्यो । हुन त छुट्टिएकै भएपनि आमाको रेखदेख गर्ने दाइ भाउजू थिए । विवाह दर्ता सर्ता गरेको थिएन बुढी त अर्की ल्याउँदा भैजान्थ्यो, त्यसैले पनि उसलाई खाडीतिर भासिन असहज भएन ।

खाडीमा केही वर्ष स्कार्फफोल्डिङ गर्‍यो । केही धनको जोहो गरेर देश फर्कियो । किसानको छोरो किसानीमा के समस्या र, आँटैले केही रोपनी जग्गा जोड्यो, गाई, बाख्रा थप्यो । दोश्रो विवाह गर्‍यो ।

जीवनको गति पहिलेभन्दा अलि लयमा फर्कियो । सोच्यो- अब मेरो चर्खा चल्छ ।

देशमा बसाइँसराइको भेलबाढी चलिरहेको थियो । हुनेखानेहरू शहरतिर केन्द्रित हुन थालेका थिए । यसरी शहरिनेहरूले जग्गा जमिन अधियाँ दिने, कसैले उसै कमाउन दिने, कोहिकोहिले उसै छाडेर हिन्ने गर्थे ।

बिना धितोको बहानामा गाउँगाउँमा लगुबित्तहरूले शाखा खोलेका थिए । गाउँको मिटरे ब्याज भन्दा लगुबित्तहरूको ब्याज कमै पर्थ्यो । त्यहिमाथि बिनाधितो भनेपछि धेरैको दिमाग भुटिने नै भयो । जीवनको दिमाग भने भुटिने खालको थिएन । उसँग सपनाहरू थिए । बल बैँस थियो । कृषिले पोसाएकै थियो । आँटैले उसले पनि ऋणको पहाड भत्काएर पाखो बारी किन्यो ।

भनिन्छ ऋण भएन भने मानिसले प्रगति गर्दैन, जीवनको हकमा भने उल्टो लागू भयो । ऋणले उसलाई सुत्न दिएन । बाँदरले गरिखान । खेतियोग्य जमिनहरू अब चौडन्डी हुन थाले ।

खुइय ! जीवनको जीवनले यहाँनिर सुस्केरा हाल्छ । खेतबारीमा खुर्सानीमात्र सुरक्षित हुन थालेपछि गर्भवती श्रीमती घरमै छाडेर शहर भासिन्छ ।

शहरमा कामको खोजिमा भेगेका दुःखहरूको अर्कै बहीखाता छ । ऊ ती दु:खहरूको पोको भरसक खोल्न चाहँदैन ।

यता विराटनगरको गर्मीमा कर्मले जीवनलाई मजदुरीको दलदलमा फसाइदिन्छ । उता घरमा छोरो जन्मिन्छ ।

खुसी साट्न घर जाउँ कि, छोराको लालनपालनका लागि अझै मजदुरी गरौं । आँसु र पसिनाका थोपाहरू सराबरी बहेका छन् । बाटो त धेरै टाढा होइन दिनभरी मजदुरी गरेर बेलुका ३ घण्टाजति गाडीमा हुइँकिए घरै पुगिने हो तर साँझमा पहाड उक्लिने गाडी पाइँदैनन् । दोमनको भारी कयौँ दिन बोकी बस्छ ।

दिनभरीको कामको थकानले साँझ पकाइखान खासे जाँगर लाग्थेन उसलाई । डेरामा स्टोभ थियो दुईचार दम दियो । कहिले माडमा सिन्की साँध्यो, कहिले सागपात भुट्यो ।

खानपिनको हेल्चेक्र्याइँले जीवन बिरामी नै पर्‍यो । अस्पताल बस्नुपरेपछि बल्ल उसले पाकन कार्यमा अलि मेहनत गर्न थाल्यो ।

मजदुरीले जीवन केही सहज त भयो तर मधेसी मुलका ठेकेदारहरूसँग जीवनको लय मिलेन । कहिले कसले के भन्ने कहिले पूरा ज्याला नदिने । काम नगरी नहुने हुँदा ऊ शहेरै बस्यो ।

गिट्टी, बालुवा र सिमेन्टसँग जोरी खेल्दाखेल्दै जीवनका ५ वर्षहरू बिजुली चम्केजस्तो यसै बितिगए ।

जीवनमाथि थप जिम्मेवारी थपियो । परिवारमा लक्ष्मीको आगमन भयो । बिहान ८ देखि साँझ ५ बजेसम्म नियमित कार्यघण्टाका अलावा उसले ओटी (उसैको भापामा ) बारे सोच्न थाल्यो । हुनत उसले जागिर खोज्दै रंगेलीका प्रत्येक कारखानाका गेटहरू नचियाएको होइन । देशमा अर्थोक सबै भेटिन्छ जागिर भेटिन्न त्यहिमाथि ओटी कसरी भेटियोस् !

काम गर्दै सिक्नुपर्छ होइन, काम थप्नुपर्छ भन्ने जीवनको शुत्रले उसलाई झन दास बनाएको देखिन्छ । उसले मजदुरीका ५ वर्षहरूमा भारी बोक्दाबोक्दै अन्य मिस्त्रीहरूसँग भर अभर सिकेको भए ऊ पनि मिस्त्री हुनेथियो होला तर उसले यतातिर चासो दिएन ।

अरू तीन वर्षजति विराटनगरमै बिताएपछि एकदिन उसलाई लाग्यो अब झापातिर सरौं । हुनत उसको मावली झापा नै हो । मामाहरू सम्पन्न नै हुन् । मामाहरूले पहिले नै पनि भनेका थिए– झापा आऊ, खेत बाँझै छ । जोतखन गर । गाईवस्तु पाल नभनेका होइनन् ।

जीवन भरसक अर्काको शरणमा पर्न चाहेन । दुनियाँलाई दुःख देखाउन चाहेन । अथवा यसरी भनौं- भनिन्छ अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ । कृषिले उसलाई पहिले पनि फापेन, अब पनि के फापोस् र !

पहिले ऋण निखन्न पाए त त्यसबारे पनि सोच्न सकिन्थ्यो कि ! उसले बाटै बन्द गरेको भने होइन । अर्को कुरा मजदुरीमा साप्ताहिक र ओटीमा कार्य सक्दा नसक्दै नोट हात पर्छ, कृषिमा कुर्नुपर्छ । कहिलेकहीँ फसलै नलाग्न पनि सक्छ ।

‘छोराछोरी हुर्किन्छ अब, बजुसँग बस्छन् । हिड सँगै दुईजनै ले कमाउनुपर्छ’ झापा आउँदा जीवनले श्रीमतीलाई पनि सँगै ल्यायो ।

बुढाबुढी सँगै मजदुरी गर्छन् । ऊ अलि बलको काम गर्छ, श्रीमती अलि कम बलको । ओटीमा पनि उनीहरूको कामको बाँडफाट छ । श्रीमतीले भ्याउन्जेल जीवनलाई भारी भर्न/उठाउन सघाउने । खाना पकाउने भाँडा मोल्ने । जीवन भने साँझ अबेरसम्म र बिहान सखारैदेखि मजदुरी गरिबस्ने । साँच्चै नाम्लाका पाता र बरियोसँग यो दुनियाँमा सबैभन्दा धेरै परिचित उही जीवन मात्र छ जस्तो लाग्छ ।

महिनामा कतिदिन काम गर्नुहुन्छ दाइ ? म दाइ भन्छु तर ऊ म भन्दा कान्छो छ । हुन त मेले दाइ भनेको सुनेर उसले ‘म त कामले पो यस्तो भएको हो, उमेर खाछैन नि’ भनेर कयौंबार नभनेको भने होइन । उसको शरीरको हुलिया हेर्दा मलाई भाइ भन्न आँटै आउँदैन ।

‘प्रत्येक पाक्षिकमा १४ देखि साढे १४ दिन । प्राय: एकदिन चाहिँ बिदा दिन्छ ठेकेदारले ।’ मेरो प्रश्नमा सहज जवाफ दिन्छ ऊ ।

अनि दिनमा चाहिँ कति घण्टा ?

‘बिहान ४ देखि ७ सम्म ओटी । ८ देखि साँझ ५ सम्म ड्युटी, त्यसमा एक घण्टा खाना खाने छुट्टी । अनि बेलुका चाहिँ ६:३० देखि १० बजेसम्म ओटी । कति घण्टा भयो दाजु ?’ ऊ हिसाब निकाल्न जान्दैन ।

‘लगभग १५ घण्टा’ म जवाफ दिन्छु ।

‘ए त्यति मात्र पो हुँदोरछ ! विदेशमा मान्छेहरू १८ घण्टा गर्छन् ।’ मेरो जवाफलाई भुइँमा खस्न नदिई असन्तुष्टी जनाउँछ ।

उसको कुराले म वाल्ल पर्छु ।

यसरी बुढाबुढी नै खटेपछि त कमाई राम्रै हुन्छ होला ?

‘कमाइ त हुन्छ अलेली, बुढीलाई दैनिक ७०० दिन्छ मलाई ८५० । दिनको १५०० भनौ न । महिनामा त्यही २६ देखि २८ दिन जोड्नुन ।’

४०-४२ हुनेरैछ ।

‘अँ त्यति नै हुन्छ ।’

भनेपछि ४०-४२ महिनामा बच्छ ?

‘बच्दैन दाजु ऋण तिर्छु ।’ उसलाई थाहा छ, ऋण तिर्नु भन्या गोजीमा नबस्नु हो । गोजीमा नबस्नु भन्या बचत हुनु होइन ।

त्यत्रो तिर्दा पनि नसकिने कति लिएको थियो ऋण ?

‘५-७ लाख थियो दाजु ।’

कति हुन्छ महिनाको ब्याज ?

‘थाहा छैन, कहिले बढेको भन्दै धेरै लिन्छ । कहिले २/४ सय कम पनि लिन्छ ।’

अहिलेसम्म कति तिरिसकेउ त ?

‘खै, थाहा छैन । काम गर्न थालेदेखि तिरिरा छु । पहिले गाउँमा हुँदा चाहिँ अलि बिग्रिएको हो ।’

कति वर्ष भयो काम गरेको ?

‘विराटनगरमा ८ अनि यता २/३ वर्ष । ११ /१२ वर्ष ।’

अनि ओटीमा चाहिँ कति जति कमाउँछौ ?

‘त्यसको हिसाबकिताब नै छैन । छोराको, छोरीको फि तिर्नुपर्‍यो । लुगाफाटा, कापी–किताब । यहाँ डेराभाडा, सागसब्जी… अब बलको काम गरेपछि दिनैजसो मासुमंस नखाई सकिँदैन । म त दिनमा एक पोका दही पनि खान्छु । लत्ताकपडा किन्नैपर्‍यो ।’

अरू ख्वाइखर्चका कुरा त सामान्य भइगए । छोराछोरीको ‘फि’ सुनेपछि लाग्यो- पसिनाका थोपाथोपा गनेर भए पनि सन्तानहरूलाई भने राम्रै स्कुल पढाएका रहेछन् ।

‘कति छ र छोराछोरीको फि ?’

‘छोरालाई १० हजार लाग्छ । छोरीको त भर्खर नर्सरी हो, ५/६ हजारले पुग्छ ।’

‘कति महँगो !’

‘मदरल्यान्ड हो नि !’ ऊ जवाफ फर्काउँछ । उसलाई थाहा छ, मदरल्यान्डको फि महँगो छ । महँगो फि भएकाले पढाइ राम्रो हुन्छ । अथवा, राम्रो पढाएर मदरल्यान्डले महँगो फि लिन्छ । खैर जेसुकै होस्, शिक्षामा पछिल्लो समय राम्रै व्यापारीकरण भएको छ । त्यसबाट पहाड पनि अछुतो रहेनछ ।

१५ हजार फि, लत्ताकपडा, कापी–किताब, खाजाखर्च ?

अहो, महिनामा २०-२५ हजारले पनि नपुग्ने रहेछ !

ती मातापितालाई सलाम, जो मध्यरातिसम्म पसिना बगाएर आफ्ना साखासन्तानहरूको उज्ज्वल भविष्य खोजिरहेछन् ।

‘आफ्नो लवाइखुवाइ खर्च १२-१५ हजार, छोराछोरीको २०-२५ हजार, बाँकी सहकारीको ऋण !’

हुन त जीवनले त्यस्तो फुर्मास खर्च गर्दैन । मगरकै छोरा भए पनि जाँडरक्सी, चुरोट, खैनी केही पनि खाँदैन । ऊ जति श्रममा तल्लीन छ, स्वास्थ्यप्रति पनि उति नै सजग छ ।

६ वर्षपहिले दाइको मिर्गौला (किड्नी) फेल भएर बितेको उसलाई झलझली सम्झना छ । ‘खुइया !’ दाइ बितेको १५ दिन नबित्दै भाउजू पोइल हिँडेको सम्झिएर बल्ल जीवनलाई सुस्केरा हाल्ने फुर्सद भएको छ ।

‘पानी त पिउनुपर्छ तर कति ठाउँका मान्छे खुब ठुला पल्टिन्छन्, ‘पिउने पानी देऊ न’ भन्दासम्म दिँदैनन् ।’ ऊ मजदुरीको तितो यथार्थ ओकल्छ ।

मजदुरीमा कैयौँ यस्ता तितोपन छन्, जुन पोखेर पोखिन्न, धोएर धोइन्न । कसैले घर बनुन्जेल श्रम चलाउँछन्, घर बनेपछि त्यही घरमा प्रवेश निषेध गर्छन् । कतिले ‘हामी मजदुरसँग बोल्नु हुँदैन’ जसो गर्छन् । कतिले शौचालय जाँदा पनि सिङ्गो घर फोहोर भएझैँ गर्छन् ।

जीवनले कतिवटा घरहरूमा आफ्नो पसिना पोख्यो, उसैलाई थाहा छैन । कतिवटा घरका इँटाहरू उसैले बोकेका हुन्, उसैलाई थाहा छैन । देशमा कतिवटा सरकार बदलिए, उसले गरेको राजनीति कहाँ पुग्यो ? ऊसँगका राजनीतिक दौँतरीहरू कहाँ होलान्, उसलाई केही पत्तो छैन ।

‘कहिलेसम्म बोक्ने भारी ?’ म प्रसङ्ग बदलिदिन्छु ।

‘खै दाजु थाहा छैन । जबसम्म यो पेटले भोक बिर्संदैन, तबसम्म । जबसम्म यो शरीरले वजन उचाल्छ, तबसम्म,’ जीवनको मौनता बोल्यो ।

‘ऋण तिरिसकेपछि यसो गाउँतिर पसेर एक-दुई बिघा जग्गा ब्याजमा वा अधियामा लिएर (ब्याजमराउनी हाल्नु) कृषि गर्दा पनि फाइदै छ त ! यसरी ज्यान खाने भारी बोक्नुभन्दा त !’

‘तपाईंको कुरा ठिकै हो दाजु । त्यसरी गर्दा त मावलीकै दुई-तीन बिघा जमिन छ, ‘आएर गरिखा’ भनेका पनि हुन् । सुँगुर, गाई पाल्दा त हुने हो तर यही भारी बोक्नेमा रसबस बस्यो, यही सजिलो लाग्छ । हप्ता बितेपछि पैसा हात पर्छ । कृषिमा भरै हुन्न ।’

‘त्यसो गर्दा छोराछोरीहरूलाई पनि यतै झार्दा भयो । उता पनि फि महँगो रहेछ, यतै पनि पुग्छ त त्यति फि तिर्दा त !’

‘खेतीकिसानी भन्दा पनि छोराछोरीलाई यता झार्ने विषयमा नसोचेको होइन । उनीहरू यता झरे मध्यरात आफ्नो हुँदैन, ओटी (ओभरटाइम) गर्न पाइन्न । फेरि बजारमा खासै गतिलाको सङ्गत हुँदैन, बिग्रिन्छन् ।’

कपको कफी सकिइसकेको छ । जीवनको आरोहअवरोहको बहिखाता सकिएको छैन, सकिनेवाला पनि छैन । भित्ताको घडीले साँझ पर्न लागेको जनाउ दिँदै छ । जीवनको अनुहारले काममा जान हतार भएको अत्यास बोलेझैँ लाग्छ ।

‘कफी कस्तो लाग्यो ?’ म सोध्छु ।

‘खै, तितो भनौँ न मैजस्तो ! बरु चिया मीठो ।’ उसले जवाफ दिन्छ ।

‘लागेँ है त दाजु !’

ऊ बाटो लाग्छ । अलि परसम्म उसलाई हेर्छु । थरीथरीको भिडले भरिएको सहरमा एउटा भारी बोक्ने मानिस— मजदुर भारी नबोक्दा कहाँनिर हराउँछ, पत्तै हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?