+
+
Shares
सुकुमवासीका सुस्केरा :

राज्यले ढाल्दियो छानो, फाटेको छाताको ‌ओत

काठमाडौं आएको इतिहास सुनाउँदै गर्दा त्यहिँबाट नेपाल प्रहरीको १५/२० जना टोली गयो । उनीहरू सबै गइसकेपछि कृष्णले सुस्तरी भने, ‘उनीहरू मानो पचाएर गए । हामी भने बिचल्लीमा पर्यौं ।’

कौशल काफ्ले सापेक्ष कौशल काफ्ले, सापेक्ष
२०८३ वैशाख १८ गते २०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बल्खुको तरकारी बजार सुकुमवासी बस्तीमा १८ वैशाखमा डोजर चलाएर बस्ती भत्काएको छ।
  • ८२ वर्षिय कुमारी तामाङ र उनका ७० वर्षिय श्रीमान कृष्ण भुजेल २२ वर्षदेखि त्यहीँ बस्दै आएका थिए।
  • कृष्ण भुजेलले भने, 'हामी जता जान्छौं त्यतै जाने भन्छ' र महानगर प्रहरीले होल्डिङ सेन्टरमा लैजाने तयारी गरेको छ।

‘यहाँ आएर खान न !’

खैरो कुर्सीमा बसेकी ८२ वर्षिय कुमारी तामाङ कालोसेतो रङको कुकुरलाई बोटलबाट पानी राख्दै थिइन् ।

‘टेनु’ भनेर बोलाइने त्यो कुकुर बुढेसकालमा पुगेकाले त्यति आँखा देख्दैन । तर, बच्चैदेखि हुर्काएले कुमारीको निर्देशन सुन्नसाथ टेनु प्लास्टिकको सानो भाँडो भएको ठाउँमा आयो । र, आज्ञाकारी भएर पानी खान थाल्यो ।

टेनुले पानी खान थालेपछि कुमारीले पूर्वतिर टाउको घुमाइन् । जहाँ भर्खरै सरकारले डोजर चलाएर ध्वस्त भएको उनको टहरा धुलाम्य भइसकेको थियो । त्यहाँ उनको परिवारको धेरै सामान र यादहरू पुरिइसकेका थिए ।

तर, धेरैबेरसम्म कुमारीले त्यो दृश्य हेरिनन् । उनी हेर्न सक्ने अवस्थामा पनि थिइनन् । डोजरले भत्काएको भग्नावशेषको दृश्य हेर्न छाडेर उनी फेरि टेनुतिरै फर्किइन् ।

000

बल्खुमा अवस्थित तरकारी बजार बसेको सुकुमवासी बस्तीमा सरकारले आज १८ वैशाखमा डोजर चलाएको छ । यो त्यहीँको दिउँसो १२ बजेतिर दृश्य हो । हामी त्यहाँ पुग्दा प्रहरीको बाक्लो उपस्थितिमा बस्ती भत्किइसकेको थियो ।

त्यहि उजाड क्षणको साक्षी थिइन्, कुमारी ।

उनीसँग कुराकानी गरिरहेकै बखत उनका श्रीमान ७० बर्षिय कृष्ण भुजेल फाटेको छाता ओढेर आइपुगे । उनका सबै दाँत झरिसकेका थिए । कपडामा टहराको सामान झिक्दाको धुलो अझै टाँसिइरहेको थियो ।

000

कृष्णका अनुसार उनीहरू २२ वर्षदेखि यहाँ बस्दै आइरहेका थिए ।

उ बेलादेखि नै बालुवा झिक्ने काम गर्थे । कहिलेकाहीँ अन्य काम पनि गर्थे । दैनिक आय हुने, गुजारा चल्ने भएपछि उनले कहिल्यै यो ठाउँ छाडेर अन्त गएनन् । यतै बस्न थाले । जीवन बित्दै गयो । छोरो पनि जन्मियो ।

उनीहरूका एक छोरा छन् । कुराकानी गरिरहँदा छोरो भत्काइएको टहराबाट फलाम निकाल्न व्यस्त थिए ।

किनकी फलाम बेचे केही पैसा उनीहरूको हातमा आउँथ्यो । तर, उनका छोरा विवाहित भएता पनि स्वस्थ छैनन् । टाठा छैनन् । त्यसैले छोरालाई समेत कृष्णले नै कमाएर खुवाउनु पर्छ ।

बस्तीबाट निकालेकोबारे छोराले के भन्छन् नि ?

‘हामी जता जान्छौं त्यतै जाने भन्छ,’ उनीहरूले सुनाए ।

कृष्ण स्वयं पनि बिरामी छन् । उनले हामीलाई औषधिको पोको देखाउँदै दिनमा तीन पटक खानु पर्ने बताए । औषधि नखाए उनलाई हात दुख्ने र रिङ्गटा लाग्ने हुन्छ । तर, अब यस्तो अवस्थामा कति खेर औषधि खाने केही ठेगान नभएको उनले सुनाए।

उनले आफ्नो दाहिने खुट्टा पनि देखाए । खुट्टाका औंलाहरू ठीक थिएनन् । रोगका कारण औंलाहरू बिग्रेका थिए ।

कृष्णको पुर्ख्यौली थलो धादिङ हो । तर, धादिङको घरबारे आफूलाई धेरै जानकारी नभएको उनले सुनाए । यतिसम्म कि उनलाई आफ्नै बुबा बितेको पनि थाहा छैन ।

उनका अनुसार उनी सानै हुँदा आमाले अर्को विवाह गरेर हिँडिन् । बा पनि घरमा आएनन् । त्यसपछि उनी कान्छा बुबासँग बस्न थालेका थिए । तर, कान्छा बुबाले पनि घरबाट निकालिदिए । त्यसपछि धादिङमा उनको केही रहेन । अनि उनी कुम्लो बोकेर काठमाडौं छिरेका थिए ।

‘धादिङमा त मेरो टोपी राख्ने ठाउँ पनि छैन,’ उनले सुनाए ।

उनलाई ठ्याक्कै कहिले काठमाडौं आएको भन्ने पनि थाहा छैन । पञ्चायतकालीन समयमा हो कि! भन्ने उनले अनुमानसम्म गरे ।

उनले काठमाडौं आएको इतिहास सुनाउँदै गर्दा त्यहिँबाट नेपाल प्रहरीको १५/२० जना टोली गयो । उनीहरू सबै गइसकेपछि कृष्णले सुस्तरी भने, ‘उनीहरू मानो पचाएर गए । हामी भने बिचल्लीमा पर्यौं ।’

अब के गर्ने त ? प्रश्न भूईंमा झर्न नपाउँदै उनीहरूले भने,’ सडक मै सुत्ने ।

अनि पानी परे ?

कतै ओत लाग्ने बताए ।

तर, सरकारले भनेको होल्डिङ सेन्टरमा नजाने बताए ।

श्रीमतीबाहेक कसैलाई पनि चिन्दिनँ त्यहाँ गएर के गर्ने ? उनले प्रतिप्रश्न गरे ।

तर, महानगर प्रहरीले गाडी आउने सुनाएर गएको उनले बताए ।

हामीले उनीसँग कुराकानी गर्दा मध्यान्ह १२ बजिसकेको थियो । त्यसबेलासम्म उनीहरूले चियाबिस्कुट बाहेक केही खाएका थिएनन् । दैनिक श्रम गरेर गुजारा गर्ने उनीहरूसँग पेटभर खान पैसा थिएन ।

टहरा भत्काउनअघि जसोतसो चामल निकाल्न भ्याएका थिए । तर, त्यहाँ खाना पकाएर खाने अवस्था थिएन ।

त्यही चिया बिस्कुट पनि उनीहरूले आफ्नै टहरामा भएको फलाम बेचेर आएको पैसाबाट खाएका थिए ।

‘थोरै फलाम निकालेका थियौं । त्यही फलाम १०० रुपैयाँमा कवाडीलाई बेच्यौं । अनि बुढाबुढीले उ त्यहाँ (अलि पर रहेको पसलतिर सङ्केत गर्दै) गएर चिया बिस्कुट खायौं,’ उनले सुनाए ।

तर, अरु धेरै सामानहरू निकाल्न नपाएको उनको दु:खेको थियो ।

बुढो शरीरले कति सामान झिक्न सक्थ्यो र ! उनले मन बुझाउने प्रयास गर्दै थिए ।

‘दुईटा जति दराज थ्यो । किचेन र्‍याक थियो । कपडाहरू थिए। सबै पुरियो,’ उनले बह पोखे, ‘म बुढो मान्छे । आँखा पनि राम्ररी देख्थिन थिएँ । चस्मा पनि पो पुरिएछ ।’

उनले लामो सुस्केरा हाले ।

‘के गर्नु बाबु साह्रै दु:ख पाइयो !’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?