१९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आफ्नो पार्टी जिल्ला समन्वय समिति चाहिन्छ भन्ने मान्यता राख्ने बताएका छन् । शनिबार जिल्ला समन्वय समितिका जिम्मेवारी विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले समन्यायिक विकास र स्रोतको कार्यान्वयनको विषयको प्रभावकारी अनुगमन गर्ने निकायका रूपमा जिल्ला समन्वय समिति चाहिने बताएका हुन् ।
‘जिल्ला समन्वय समिति चाहिन्छ कि चाहिँदैन भन्ने कुरामा दलका हिसाबले नेकपा एमाले यो चाहिन्छ र प्रभावकारी हुनुपर्दछ भन्ने ठान्छ,’ ज्ञवालीले भने ।
आफूले यसो भन्दा ‘सत्तामा हुँदा केही केही नगरेको’ भन्ने आरोप आएको पनि उनले बताए । ‘स्थानीय सरकार सञ्चालन ऐन आकाशबाट त्यत्तिकै असिना बर्सेजस्तो झरेको हो ? संघ, प्रदेश र स्थानीय तह अन्तर्सम्बन्ध र समन्वय ऐन त्यत्तिकै त आएन होला नि ?,’ उनले प्रश्न गर्दै भने, ‘पर्याप्त भएन भन्नुस् न । सत्तामा रहुञ्जेल सुतिरहनुभयो, अहिले आएर दु:ख बिसाउनुभयो भन्ने किसिमको बहसले निष्कर्ष निस्किदैन ।’
जिल्ला समन्वय समिति चाहिन्छ भन्दा दुइटा कुरा महत्त्वपूर्ण रहेको उनले बताए । ‘किनभने यसले विकासको सन्तुलनको कुरा गर्छ । त्यो सन्तुलन हेर्ने निकाय सम्भवत: संविधानले परिकल्पना गरेको यो मात्रै होला जस्तो लाग्छ,’ उनले भने । दोस्रो कुरा अनुगमनको रहेको उनले बताए ।
सुशासन, आयोजना कार्यान्वयन, प्राकृतिक स्रोत, सीमाका समस्याको अनुमगन गर्ने निकाय नै जिल्ला समन्वय समिति रहेको उनले बताए ।
‘यदि यसो हो भने समन्यायिक र क्षेत्रीय सन्तुलनसहितको विकासको निम्ति सिफारिस गर्ने एक अथोरिटीका रूपमा र आएका कार्यक्रमको कार्यान्वयन ठीक ढंगले भयो कि भएन भन्ने अनुगमन गर्ने र बदमासी भए दण्डसजाय सिफारिस गर्ने निकायको अधिकारसहितको जिल्ला समन्वय समिति जरुरी छ,’ उनले भने ।
प्रतिक्रिया 4