News Summary
Generated by OK AI. Editorially reviewed.- बाँकेको कोहलपुरमा चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।
- उद्घाटन खेलमा आयोजक रेसिङ सहारा क्लबले पञ्चकोशी युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ।
- प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार पाउनेछन्।
१९ वैशाख, नेपालगन्ज । बाँकेको कोहलपुरमा चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक रेसिङ सहारा क्लबले पाहुना पञ्चकोशी युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
खेलको २४औं मिनेटमा रेसिङ सहाराका डिफेन्डर पेपेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको ४४औं मिनेटमा फागुराम चौधरीले अर्को गोल थप्दै अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको रेसिङ सहाराले खेलमा स्पष्ट दबाब कायम राखेको थियो ।
पाहुना टोली पञ्चकोशी युवा क्लबका खेलाडीहरुले खेलभरि केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । दोस्रो हाफमा भने टोलीले सुधारिएको प्रदर्शन गर्दै आक्रमण बढायो । खेलको ८८औं मिनेटमा विदेशी खेलाडी कुशाग्र उप्रेतीले सान्त्वना गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका रेसिङ सहारा क्बलका पेपे ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले ट्रफीसँगै नगद रु. ५,००० प्राप्त गरे ।
२६ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फाइनलमा पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्ज मा जङ्गल सफारी गराइनेछ । साथै स्थानीय होमस्टेमा मौलिक खानपान र बसोबासको अनुभवसमेत उपलब्ध गराइने योजना रहेको छ ।
कोहलपुर नगरपालिका वडा नं. २ स्थित खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख पूर्ण प्रसाद आचार्यले गरेका थिए ।
प्रतियोगिताको दोस्रो दिन आइतबार जस्ट जोन एफसी (नाइजेरिया) र रोयल फुटबल क्लब (कर्णाली) बीच खेल हुनेछ । खेल दिउँसो ४ बजे सुरु हुने प्रतियोगिता संयोजक कर्ण बहादुर बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया 4