२० वैशाख रोल्पा । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा रोल्पाको थबाङमा ‘प्रगतिशील संगीत उत्सव–२०८३’ सुरु भएको छ ।
रोल्पा कला साहित्य प्रतिष्ठानको सह–आयोजना र थबाङ गाउँपालिकाको मुख्य प्रायोजनमा शनिबार थबाङ गाउँपालिकाको बहुउद्देश्यीय सभाहल संगीत उत्सव सुरु भएको हो ।
‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि…’ भन्ने नारासहित आयोजित कार्यक्रम दुई दिनसम्म चल्ने नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले जानकारी दिइन् ।
कार्यक्रम अन्तर्गत आज आइतबार थबाङ खुलामञ्चमा प्रगतिशील गीतसंगीत सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जानकारी गराएको छ ।
‘प्रगतिशील संगीत उत्सव’मा जीवन शर्मा, मधु गुरुङ, उदय श्रेष्ठ, हेमराज आश्रम, सीता आचार्यलगायत देशभरका प्रगतिशील लेखक तथा संगीतकर्मीहरूको उपस्थिति छ ।
शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि रोल्पाको जलजलामा भएको जिप दुर्घटनाको शोकका कारण प्रचण्ड प्रगतिशील संगीत उत्सव कार्यक्रममा सहभागी भएनन् । कार्यक्रम उदघाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले नेपाली राजनीतिक परिवर्तनमा प्रगतिशील कला, संस्कृति, साहित्य र संगीतको महत्त्वपूर्ण योगदान रहे पनि अहिले प्रगतिशील संगीत ओझेल परेजस्तो देखिएको बताए । उनले यस्ता कार्यक्रमहरु देशभर सञ्चालन गर्न आवश्यक रहेको बताए ।
विचार, राजनीति र दर्शनशास्त्रमा खराबी नभए पनि केही वर्ष यता राज्य सञ्चालनमा पुगेका व्यक्तिको आचरणमा धेरै विचलन आएकाले पछिल्लो समय नयाँ शक्तिहरु उदाएकाले उनीहरूलाई स्वागत गर्नुपर्ने उनले धारणा व्यक्त गरे । उनले प्रगतिशील सांस्कृतिककर्मीहरू गलत आचरणविरुद्ध एक ठाउँमा उभिएर सशक्त आवाज उठाउनु अहिलेको आवश्यकता रहेको बताए ।
शनिबार पहिलो दिनको कार्यक्रममा ‘नेपाली समाजमा प्रगतिशील संगीत’ विषयक सेमिनार गरिएको थियो । शनिबार जनसांस्कृतिक महासंघका अध्यक्ष भीम कुमाखी र रोल्पा कला प्रतिष्ठानका अध्यक्ष जीवन रोकामगरले कार्यपत्र प्रस्तुत गरेका थिए भने रोल्पा निवासी दिलिप बुढामगर (डिबी स्वेद)को गजलसङ्ग्रह ‘सफर’को लोकार्पण गरिएको थियो ।
प्रतिक्रिया 4