+
+
Shares

स्थानीय तहका ३५ हजार २२१ उम्मेदवार छनोटको तयारीमा जुट्यो रास्वपा

संघीय सरकारको नेतृत्व सम्हाले लगत्तै रास्वपा अर्को वर्ष हुने स्थानीय चुनावको तयारीमा जुटेको छ । रास्वपाले उम्मेदवार क्लब हुँदै लिडरसिप एकेडेमीबाट प्रशिक्षित गरेर स्थानीय तहका उम्मेदवार छनोट गर्ने भएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ वैशाख २० गते २१:५०
पार्टी सभापतिलाई स्थानीय तह उम्मेदवार छनोट मस्यौदा प्रतिवेदन हस्तान्तरण गर्दै समिति टोली ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय चुनावका लागि ३५ हजार २२१ उम्मेदवार छनोट गर्न केन्द्रीय तहबाट तयारी सुरु गरेको छ।
  • रास्वपाले उम्मेदवार छनोट प्रक्रियामा पारदर्शिता, समावेशिता र योग्यतामा आधारित विधि बनाउन सात सदस्यीय समिति गठन गरेको छ।
  • स्थानीय तहमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउने र दलित, अपाङ्गलाई स्वतः १० प्रतिशत अंक दिने व्यवस्था गरिएको छ।

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीय सरकार निर्माण लगत्तै स्थानीय चुनावको तयारीमा जुटेको छ । पहिलो पटक स्थानीय चुनावमा सहभागी हुन लागेको रास्वपाले अरू दलभन्दा एक कदम अगाडि बढेर तयारी थालेको हो ।

२०७९ वैशाखमा स्थानीय तहको चुनाव हुँदा रास्वपा दल नै गठन भएको थिएन । रास्वपाले स्थानीय तहको उपचुनावमा भने भाग लिएको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको रास्वपाले अर्को वर्ष हुने स्थानीय चुनावका लागि केन्द्रीय तहबाटै तयारी तीव्र पारेको छ ।

रास्वपाले ३५ हजार २२१ उम्मेदवारका लागि छनोटको विधि बनाउन सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा केन्द्रीय तहको समिति गठन गरेको छ ।

सात सदस्यीय समितिमा केन्द्रीय सदस्यहरू आरके ढुङ्गाना, समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की सदस्य छन् । आरके ढुङ्गाना समितिको सदस्यसचिवको जिम्मेवारीमा छन् ।

स्थानीय तहमा उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी, योग्यतामा आधारित बनाउन समिति बनाइएको रास्वपाले जानकारी दिएको छ । आचार्य नेतृत्वको ‘उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ ले वडा, पालिका, जिल्ला र प्रदेशमा छलफल गरेर सुझाव लिने कार्य गरिसकेको छ ।

उक्त समितिले स्थानीय तह उम्मेदवार छनोट रूपरेखाको मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई आइतबार पेस गरेको छ । स्थानीय तह निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनैपर्ने मापदण्ड बनाइएको छ ।

रास्वपाबाट स्थानीय तहमा उम्मेदवार हुनका लागि अनिवार्य रूपमा पार्टी सदस्य र उम्मेदवार क्लबमा दर्ता भएको हुनुपर्छ । उम्मेदवार छनोटको रूपरेखा तयार गर्न बनेको समितिका सदस्य सचिव ढुङ्गानाका अनुसार पार्टीले केही समयपछि उम्मेदवार क्लबमा दर्ता हुन सार्वजनिक सूचना जारी गर्नेछ ।

‘कानुनी रूपमा योग्यता पुगेका जो सुकै व्यक्तिले उम्मेदवार हुनका लागि आवेदन दिन सक्नु हुनेछ । पार्टी सदस्य भइसकेको र भर्खरै सदस्यता लिनुभएको व्यक्तिले पनि उम्मेदवार क्लबमा नाम दर्ता गर्न सक्नु हुन्छ,’ समितिका सदस्यसचिव ढुङ्गानाले भने ।

स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनोट विधि निर्माणका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूसँग सुझाव लिँदै ।

उम्मेदवारको आकांक्षा राखेर नाम दर्ता गर्नेहरूका लागि रास्वपाले प्रशिक्षण दिनेछ । राज्यका कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन सदस्यहरूलाई प्रशिक्षण तथा परीक्षण गरी नेतृत्व क्षमता विकास गर्ने उद्देश्य रास्वपाले राखेको छ ।

पार्टी विधान, जनप्रतिनिधिका काम, कर्तव्य, अधिकार, स्थानीय तहको सरकारले गर्नुपर्ने कार्य, कानुनी, व्यावहारिक पाटो लगायतमा पार्टीले प्रशिक्षण प्रदान गर्नेछ । उम्मेदवार हुन इच्छुकका लागि आधारभूत र विशिष्ट दुवै कक्षा पार्टीले सञ्चालन गर्ने केन्द्रीय समिति सदस्य ढुङ्गानाले जानकारी दिए । दलका नेता एवं विषय विज्ञहरूले प्रशिक्षण दिने रास्वपाले जनाएको छ । उम्मेदवार हुनका लागि उत्तीर्ण हुनैपर्ने बाध्यात्मक विधि बनाइए पनि उत्तीर्ण हुनका लागि आवश्यक प्रतिशत भने किटान गरिएको छैन ।

तोकिएको समयमा प्रशिक्षण र परीक्षणका चरण पार नगरेमा उम्मेदवार क्लबको सदस्य बन्न नपाउने विधि बनाइएको छ । उम्मेदवार छनोट हुन प्रारम्भिक निर्वाचनको मत, लिडरसिप एकेडेमीको नतिजा, पोलिटिकल प्रोक्सिमिटी र समावेशिता लगायतलाई भाराङ्क निर्धारण गरिएको छ ।

यी चार विषयमा फरकफरक भार अंक हुनेछ । पार्टीमा क्रियाशिलता, स्थानीय जनतासँगको सामिप्यता, व्यक्तिको विषयगत विज्ञता लगायतलाई प्राथमिकतामा राखेर व्यक्तिको मूल्यांकन पार्टीले गर्नेछ ।

‘रास्वपाले उठाउने उम्मेदवारले जित्ने सम्भावना कति छ ? कोर भोट वा स्विङ भोटको अवस्था पनि हामी हेर्छौं,’ केन्द्रीय सदस्य ढुङ्गाना भन्छन्, ‘जनसम्पर्क, पेसागत, शैक्षिक अनुभव, सामाजिक योगदानको मूल्यांकन गरेर उम्मेदवार छनोट गर्छौं ।’

स्थानीय तहमा कम्तीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार बनाउने गरी रास्वपामा छलफल भएको नेताले जानकारी गराएका छन् । उम्मेदवार छनोट गर्दा दलित, अपाङ्ग, निश्चित समुदाय लगायतको हुँदा उक्त व्यक्तिले स्वतः १० प्रतिशत प्राप्त गर्ने गरी विधि बनाइएको छ ।

प्रारम्भिक निर्वाचनको भार अंक ४० प्रतिशत तोकिएको छ । प्रारम्भिक निर्वाचनमा सम्बन्धित स्थानका पार्टी सदस्यले मतदान गर्न पाउने छन् । स्थानीय तहका सबै पदका उम्मेदवार उम्मेदवार छनोट गर्दा प्रारम्भिक मतदानमा सम्बन्धित वडाका रास्वपा सदस्यले भाग लिने छन् ।

रास्वपाको विधानअनुसार सम्बन्धित स्थानमा कूल मतदातामा एक प्रतिशत रास्वपा सदस्य भए मात्रै प्रारम्भिक मतदानको विधि लागु हुन्छ । प्रारम्भिक मतदान हुने अवस्थाबारे रास्वपा विधानले भन्छ, ‘राष्ट्रिय निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा सार्वजनिक गरेको सम्बन्धित क्षेत्रको कूल मतदाता संख्याको १ प्रतिशतभन्दा कम रहे निर्वाचन मण्डल गठन भएको मानिने छैन र सम्बन्धित क्षेत्रको उम्मेदवार केन्द्रीय समितिले छनोट गर्नेछ । केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक निर्वाचनको प्रक्रिया गर्नेछ ।’

प्रारम्भिक निर्वाचनमा सहभागी भएका उम्मेदवारभन्दा फरक उम्मेदवार बनाउनुपर्ने अवस्था आएमा विधानले विकल्प पनि दिएको छ । प्रारम्भिक निर्वाचनमा निर्वाचित र सहभागी उम्मेदवारहरूको सहमतिमा केन्द्रीय समिति वा केन्द्रीय समितिबाट अधिकार प्राप्त निकायले उम्मेदवार छनोट गर्न सक्ने विकल्प राखिएको छ ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि बनाउन पार्टी केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग तथा विभागका पदाधिकारीसँग सुझाव संकलन गरिँदै ।

रास्वपाले प्रतिनिधिसभाका उम्मेदवारका लागि छनोट विधि बनाए पनि कार्यान्वय हुन सकेको थिए । उपचुनावको समयमा उम्मेदवार छनोटको विधि लागु गर्दागर्दै चुनाव नहुने परिस्थिति बनेको थियो ।

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको नजिक काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह पक्षसँग एकता हुँदा प्रारम्भिक मतदान गर्न नसकिएको रास्वपाले जनाएको थियो ।

विधिभन्दा बाहिर गएर उम्मेदवार छनोट नहुने केन्द्रीय सदस्य ढुङ्गाना दाबी गर्छन् । उनी भन्छन्, ‘महानगरको हकमा केन्द्रीय सचिवालयलाई निर्णय लिन सक्ने १५ प्रतिशत अधिकार बाहेक अन्यमा हामीले बनाएको विधि जे हो, त्यही लागु हुन्छ ।’

रास्वपाको विधानअनुसार ‘अन्य राजनीतिक पार्टी त्याग गरी आएको’ व्यक्ति कुनै पनि तहको उम्मेदवार हुन नपाउने व्यवस्था छ । तर प्रतिनिधिसभा निर्वाचनमा भने रास्वपाले विधानको उक्त व्यवस्था कार्यान्वयन गरेको थिएन । निर्वाचनको मुखमा विभिन्न दलबाट रास्वपा प्रवेश गरेर उम्मेदवारको टिकट लिनेहरू उल्लेख्य थिए ।

‘त्यस्तो व्यक्ति उम्मेदवार क्लबमा आउन पायो । लिडरसिप एकेडेमीका कक्षा पनि लिन पायो । भर्खर रास्वपामा आएको हो भने त्यस्तो व्यक्तिले कम अंक प्राप्त गर्ने व्यवस्था गरेको छौं,’ केन्द्रीय सदस्य ढुङ्गाना भन्छन्, ‘पहिले नै जनप्रतिनिधि भएका वा अरू दल छोडेर रास्वपा प्रवेश गर्ने वित्तिकै उम्मदेवार हुन खोज्नेले स्वत: अंक कम पाउँछ ।’

रास्वपाले स्थापनाकालदेखि नै स्थानीय तहका जनप्रतिनिधि गैरदलीय हुनुपर्ने वकालत गर्दै आएको छ । पालिकाको नेतृत्व गर्ने व्यक्ति राजनीतिक रूपमा प्रशिक्षित व्यक्ति हुनुपर्ने पार्टीको पछिल्लो बुझाइ रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य ढुङ्गाना भन्छन्, ‘पार्टीको सदस्य लिएर, विधान र पार्टी दर्शनलाई मानेको व्यक्ति नै उम्मेदवार बनाउनुपर्ने अवस्था छ । संविधानको कारणले पनि अहिले गैरदलीय उम्मेदवार बनाउने अवस्था छैन ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?