+
+
Shares

छानबिनप्रति सकारात्मक छु, सघाउँछु: मुख्यमन्त्री बानियाँ

उनले गुनासो गर्दै भनेका छन्, ‘तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र कार्यालयमा छापा मारेकोप्रति आपत्ति जनाएका छन्।
  • सम्पत्ति शुद्धीकरण विभागले अवैध सम्पत्ति लुकाएको आशंकामा बानियाँको घर र कार्यालयमा छापा मारेको थियो।
  • बानियाँले संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने बताएका छन्।

२१ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र कार्यालयहरूमा छापा मारेकोप्रति आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने अवस्थामा छापा मारिएको भन्दै आपत्ति जनाएका हुन् ।

साथै, आफूले जुनसुकै अनुसन्धानमा पनि सघाउने उनले बताएका छन् ।

‘राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुन: स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ,’ उनले भनेका छन् ।

उनले आफ्ना शुभेच्छुक र शुभचिन्तकलाई चिन्तित नहुन पनि आग्रह गरेका छन् । उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार उनको हेटौंडास्थित घर र व्यवसाय एवं काठमाडौंको नक्साल र सुन्धारामा रहेको कार्यालयमा छापा मारेको थियो ।

त्यसपछि एक विज्ञप्ति जारी गर्दै उनले अनुसन्धानमा सघाउन तयार रहेकाे तर छापा मार्नु आपत्तिजनक रहेको जनाएका हुन् ।

‘मैले बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययीताका लागि निरन्तर काम गर्दै आएको छु,’ उनले भनेका छन्, ‘आवश्यकता र औचित्यतामा आधारित योजना तथा कार्यक्रम र बजेटमा पारदर्शितालाई नीतिगत रूपमा अगाडि बढाइएको बेहोरा सबैको जानकारीमा छ ।’

राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा म सहयोग गर्न तत्पर रहेको स्पष्ट उनले पारेका छन् ।

‘राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु,’ उनले गुनासो गर्दै भनेका छन्, ‘तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।’

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए । संविधानसभा सदस्यका रुपमा निर्वाचित भई सार्वजनिक पद धारण गरेयता निर्माण व्यवसायी कम्पनीबाट अलग भएका हुन्।

विभाग सम्बद्ध स्रोतका अनुसार, उनको सम्पत्ति र कारोबारमा केही अस्वभाविक गतिविधिहरू भेटिएपछि अनुसन्धान अघि बढेको थियो । उनको घरबाट केही कागजातहरू र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का समेत गरिएको स्रोतले बताएको छ ।

मुख्यमन्त्री बानियाँले जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?