News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा करिब २९ हजार तेस्रोलिंगी छन्, तीमध्ये ७६ प्रतिशतभन्दा बढी यौनकर्मबाट जीविका चलाउँछन्।
- तेस्रोलिंगीले नागरिकता लिन अझै संघर्ष गरिरहेका छन्, मेडिकल प्रमाण माग्ने प्रवृत्तिले प्रक्रिया झन्झटिलो भएको छ।
- तेस्रोलिंगी समुदायमा आत्महत्या, हिंसा र लागुऔषधको लत उच्च छ, सरकारको संरक्षण र जागिरको अवसर अभाव छ।
काठमाडौं । थापाथलीको भिडभाड पातलिँदैछ । केही पर चिया पसलमा एकाध ग्राहक छन् । सडक बत्तीको प्रकाशमा मान्छेको छायाँ प्रस्ट देखिन थालेका छन् ।
त्यही उज्यालोबाट छेलिएर भित्तामा अडेसिएकी छिन्, बोबी तामाङ (परिवर्तित नाम) ।
२९ वर्षीया बोबी ट्रान्सजेन्डर हुन् । अनि यौनकर्मी पनि ।
उनले यसरी सडकमा ओर्लिएर रात गुजार्न थालेको ४ वर्ष बितेछ । यी ४ वर्षका हरेक रातहरू एक अन्त्यहीन पर्खाइमा बिते ।
कुन नियतीले उनलाई यो सडकमा ल्याइपुर्यो ? कुन बाध्यताले उनलाई यस्तो कर्ममा धकेलिदियो ?
खासमा उनको यो रहर थिएन । जिन्दगी कटाउने बहाना पनि थिएन । उनले सोच्दा पनि सोचेकी थिइनन्, आफूले मन नपराएको व्यक्तिसँग पनि रात बिताउनु पर्नेछ । आफूलाई सर्वाङ्ग रूपले सुम्पनुपर्नेछ । आफूलाई रित्याउनुपर्नेछ ।
उनी त सिलाइको काम गर्थिन् । तर, जहाँ काम गर्थिन् त्यहाँ उनलाई उपेक्षा गरिन्थ्यो । एक दिन त साहुले भन्यो पनि, ‘तिमीलाई यहाँ राख्दा अरू कर्मचारीको पनि बदनाम हुन्छ । ग्राहकहरू तर्किन्छन् ।’
जसोतसो पाएको काम दुई महिनामै छाड्नुपर्यो ।
त्यसपछि पनि उनले गुजाराका लागि काम खोजिन् तर उनका लागि यो शहरमा कुनै रोजगार थिएन । राम्रो जागिर खानका लागि पढेलेखेकी थिइनन् । उद्यम धन्दा गर्नका लागि पूँजी थिएन । सीप र श्रमले जीविका चलाउने कुनै उपाय भेटिएन । अन्ततः उनीसँग एउटै कुरा बाँकी रह्यो शरीर ।
उपेक्षा, अपहेलनाले खुम्चिएर बाँचिरहेकी उनी अब दिनमा होइन रातमा सक्रिय भइन् । र, आफ्नो शरीर बेपर्वाह दाउमा राखिन् ।
बोबी एक प्रतिनिधि हुन्, जो ट्रान्सजेन्डर हुनुकै कारण यौनकर्ममा लाग्नुपरेको छ । उनी जस्ता अरू थुप्रैले यही काम गरिरहेका छन्, केवल बाँच्नका खातिर ।
कति छन् यौनकर्ममा ?
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा करिब २९ हजार तेस्रोलिंगी छन् । तीमध्ये लगभग ७६ प्रतिशत भन्दा बढीको मुख्य जीविका यौनकर्मबाट चलेको छ ।
‘हामीले के गरेर खाने त ? कसैले जागिर दिँदैन, कसैले काममा लगाउँदैन, ’ शीतल गुरुङ भन्छिन्, ‘गरेर खाने केही नभएपछि के गरौं त ?’ उनी तेस्रोलिंगी हुन् ।
ब्लु डायमण सोसाइटीकी सल्लाहकार समेत रहेकी शीतलका अनुसार लगभग ७५ प्रतिशतभन्दा बढी ट्रान्सजेन्डर दिदीबहिनी यौन पेसामा छन् । स्कुलमा खिसिटयुरी हुन्छ, कलेजसम्म पुग्नु नै चुनौतीको कुरा बन्न पुग्छ ।
‘जागिर माग्दा ‘तिमी जस्तोलाई नराख्ने’ भनिन्छ । परिवारले लखेट्छ, जागिरका लागि आश बोकेर जाँदा हाँसोको पात्र बन्नुपर्छ । त्यसैले, प्राय यो पेसामा छन् ’ शीतल सुनाउँछिन् ।

ब्लु डायमण सोसाइटीकी सल्लाहकार समेत रहेकी शीतलका अनुसार लगभग ७५ प्रतिशतभन्दा बढी ट्रान्सजेन्डर दिदीबहिनी यौन पेसामा छन् । स्कुलमा खिसिटयुरी हुन्छ, कलेजसम्म पुग्नु नै चुनौतीको कुरा बन्न पुग्छ ।
‘जागिर माग्दा ‘तिमी जस्तोलाई नराख्ने’ भनिन्छ । परिवारले लखेट्छ, जागिरका लागि आश बोकेर जाँदा हाँसोको पात्र बन्नुपर्छ । त्यसैले, प्राय यो पेसामा छन् ’ शीतल सुनाउँछिन् ।
जब बाँच्नका लागि पैसा चाहिन्छ र सबै बाटो बन्द हुन्छ, उनीहरूका लागि सडक बाँकी रहन्छ । यो पेशा होइन, उनीहरूको बाँच्ने अन्तिम विकल्प अनि बाध्यता बन्छ ।
‘जागिर माग्दा ‘तिमी जस्तोलाई नराख्ने’ भनिन्छ । परिवारले लखेट्छ, जागिरका लागि आश बोकेर जाँदा हाँसोको पात्र बन्नुपर्छ । त्यसैले, प्राय यो पेसामा छन् ’ शीतल सुनाउँछिन् । जब बाँच्नका लागि पैसा चाहिन्छ र सबै बाटो बन्द हुन्छ, उनीहरूका लागि सडक बाँकी रहन्छ । यो पेशा होइन, उनीहरूको बाँच्ने अन्तिम विकल्प अनि बाध्यता बन्छ ।
तेस्रोलिंगीसँग जीविकापार्जनका लागि मुख्य विकल्प नाचगान र देह व्यापार मात्र बाँकी हुने जनकपुरका मानवअधिकारकर्मी प्रदिप कुमार बताउँछन् ।
अन्य क्षेत्रमा काम पाउन समाजले स्वीकार गर्दैन, नागरिकता लिन पनि उत्तिकै झन्झटिलो छ । नाच्दा समेत असुरक्षा, यौन शोषणको उच्च जोखिम रहेको उनी बताउछन् ।
‘समाजले पहिले त बुझेन, पछि घृणा गर्यो, अहिले केही ठाउँमा स्वीकार गर्न थालिएको छ’ प्रदिप भन्छन्, ‘तर, कानुनी मान्यता र संरक्षण अझै शून्य छ ।’
सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई विकासको मूल प्रवाहमा ल्याउने कुनै गम्भीर प्रयास नगरेको उनको भनाइ छ ।
आफैंलाई लुकाएर रोजगारी
२०६४ पौष १२ गते सर्वोच्च अदालतले तेस्रोलिंगीलाई कानुनी मान्यता दियो ।
कानुनले त मान्यो तर, समाजले मानेन । यसको ज्वलन्त उदाहरण हो, उनीहरूका लागि अवसरका ढोकाहरू बन्द गरिनु ।
तपाईं कुनैपनि सरकारी सेवामा जानुहोस् वा निजी संघसंस्थामा । ती सबैमा तेस्रोलिंगी भेट्नुहुन्न । बैंक, रेष्टुरेन्ट, अटोमोबाइल, कर्पोरेट हाउस कतैपनि उनीहरू देखिँदैनन् ।
निजी क्षेत्रको कुरै नगरौं । सरकारी सेवामा पनि तेस्रोलिंगीका लागि अवसर छैन । पुगनपुग ५ प्रतिशतले अरू तिर रोजगारी गरेका छन् । त्यो पनि आफूलाई लुकाएर ।
विराटनगरका राम (नाम परिवर्तन)सैलुनमा काम गर्छन् । उनी ‘गे’ हुन् । तर, यो कुरा उनले काम गर्ने ठाउँमा खुलाएका छैनन् ।
काम गरिरहेको ठाउँमा उनीहरूलाई फरक व्यहार गरिन्छ । धेरै शंका गरिन्छ र अपहेलना पनि । यस्तै अपहेलाना र अवसरको अभावमा कतिपयले आत्महत्यासमेत गरेका छन् ।
यी मध्ये खुलेर व्यवसायिक रुपमा काम गरेकी तेस्रो लिंगी महिला औंलामा गन्न सकिने छन्, ती मध्ये एक हुन्, मेकअप आर्टिस्ट, निलम पौडेल ।

उनको जस्तो मुकाम पाउन पनि तेस्रोलिंगीहरुको लागि असम्भव छ । ‘चम्किलो अनुहार हाँसिरहेको देखिन्छ, तर त्यो पछाडि कति दुख र पीडा छ, कसैले बुझ्दैन, ’उनी भन्छिन् ।
समाजले ट्रान्सहरूलाई एउटा साँघुरो बाकसमा थुनेर राखेको छ, त्यो बाकसभन्दा बाहिर निस्कन दिँदै दिँदैन र ‘यी लायक छैनन्’ भनेर अवसर नै नदिने उनको तर्क छ ।
जतिसुकै क्षमता भए पनि हामीलाई आफ्नो शरीरको हाउभाउ र पहिरनसँग जोडेर हेरिन्छ’ निलम पौडेल भन्छिन्, ‘कसैले पनि कुनै कामको मौका दिँदैनन्।’
उनी भन्छिन्, ‘हामीलाई जहिले पनि देह व्यापार गर्नेको रूपमा हेर्छन् । म यो सोच परिवर्तन गर्न चाहन्छु, साथ दिनुभन्दा अभियानकर्तादेखि सरकारसम्म सबैले मनमा मिठा कुरा गर्छन्, तर प्लेसमेन्ट दिनुपर्ने बेला एक पाइला पनि सँगै हिँड्दैनन् ।’
उनी आफ्नो संघर्ष सम्झँदै भन्छिन्, ‘जागिरको लागि जाँदा इन्टरभ्युमा मुखमै भन्थे, ‘तिमी जस्तोलाई राख्दैनौं । विदेश गए, केयर टेकरको काम पछि बडो दुखले मेकअप आर्टिस्ट बनियो ।’
सुरुका दिनमा १८–२० घण्टा सुट गरेर पनि पैसा नपाउने, घरसम्म नपु¥याइदिने, खाना नदिने, हेप्ने गरेको उनले सुनाइन ।
उनी दुखेसो गर्छिन्, ‘कोही भने सिधै नभनेर व्यवहारले हेप्छन्, अपशब्द नबोले पनि बडी ल्याङ्ग्वेजले थाहा हुन्छ, कस्तो नजरले हेरिरहेको छ, भनेर । काममा टिमका मान्छेले नराम्रो व्यवहार गरेपछि मानसिक रूपमा कति उत्तारचढाव भोगेको छु, त्यसको लेखाजोखा छैन ।’
यी समस्यालाई पार गर्दैै आउने निकै कम रहेको र कति प्रतिभाशाली हुँदा हुँदै पनि फ्रस्ट्रेशनले आत्महत्या गरिरहेको उनी बताउछिन् ।
गरिखाने मेलो देऊ, यौनकर्म छाड्छौं
‘हामीलाई पनि राम्रो ठाउँमा जागिर खान, सम्मानले बाँच्न, ढुक्कले रात बिताउन मन हुन्छ । तर हामीलाई कसले, कहाँ जागिर दिन्छ ?’ २८ वर्षीया सौरभी गुनासो पोख्छिन् ।
कुनै क्षेत्रमा काम मिलाइदिए आफूहरूले यौनकर्म छाड्ने उनी बताउँछिन् ।
कसैले काम नै नदिने, कतै कुनै मौका नै नपाइने कारणले बाध्य भएर यौनकर्ममा लाग्नुपरेको उनको स्पष्टोक्ति छ ।
काठमाडौं उपत्यकाभित्रका तेस्रोलिंगीमा गरिएको सो सर्वेक्षणले भन्छ – रोजगारमा भेदभावकै कारण यौन पेशामा प्रवेश गर्नेहरू ६८.४ प्रतिशत छन् ।
जब सम्मानजनक रोजगारी दिइँदैन, तबसम्म यो संख्या नघट्ने ब्लु डायमन्ड सोसाइटीकी सल्लाकार गुरुङ बताउँछिन् ।
‘हरेक रात हाम्रा दिदीबहिनी हिंसा, पुलिसको धरपकड र मृत्युको जोखिममा बाँचिरहेका छन्, ‘ उनी सुनाउँछिन्, ‘हामी उनीहरूलाई दोष दिन्छौं, तर दोषी त हाम्रो समाज र राज्य हो।’
श्रम बजारमा भेदभाव, परिवारको अस्वीकार र कानुन कार्यान्वयनको अभावले उनीहरूलाई यौन पेशातर्फ धकेल्छ । र, यो बाध्यताले लागुऔषधको लत, हिंसा र हत्याको चक्र सुरु गर्छ ।
उनीहरू जन्मेदेखि मृत्यु नहुँदासम्म नै भेदभाव, हिंसा र मृत्युको जोखिमसँग लडिरहेका छन् ।
नागरिकताकै लागि सकस
नेपालमा ट्रान्सजेन्डर तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नागरिकता लिन नै अझै पनि ठूलो संघर्ष गर्नुपर्छ । रोजगारी त त्यो भन्दा परको कुरा हो।
संविधानको धारा १२ ले ‘आफ्नो लैंगिक पहिचानअनुसार नागरिकता पाउने अधिकार’ भनेर स्पष्ट लेखे पनि व्यवहारमा त्यो पूर्णत लागू भएको छैन । गृह मन्त्रालयले ७७ वटै जिल्लामा ‘अन्य’ लिंगको नागरिकता दिन परिपत्र जारी गरेको छ । तर, जिल्ला प्रशासनका कर्मचारीहरूको मानसिकता र मेडिकल प्रमाण माग्ने प्रवृत्तिका कारण प्रक्रिया अत्यन्त झन्झटिलो रहेको उनीहरूको गुनासो छ ।
‘हाम्रो समुदायका मानिसले नागरिकता लिन समेत मेडिकल प्रमाण देखाउनु परिरहेको छ, जबकी कुनै महिला वा पुरुष गयो भने त त्यो गर्नु पर्दैन’ प्रतिनिधिसभा सदस्य एवं अभियानकर्मी भूमिका श्रेष्ठ भन्छिन् ।

नागरिकता लिन जाँदा यो समुदायको भन्ने प्रमाण के छ भन्ने प्रश्न सोधिँदा थुप्रै साथीहरू आफ्नो पहिचान खुलाएर नागरिकता लिनबाट वञ्चित भएको उनी बताउँछिन् ।
पहिला पुरुषका रूपमा नागरिकता लिइसकेकी भूमिकाले तेस्रो लिंगीका रूपमा नागरिकता लिन आफूले पनि संघर्ष गर्नुपरेको सुनाउँछिन् । उनले सन् २०१५ मा तेस्रो लिंगीको पहिचान सहित नागरिकता लिएकी थिइन् ।
‘नागरिकताबाहेक आफ्नो इच्छाअनुसार विवाह गर्न कानुनी मान्यता नपाइनु अर्को विभेद छ’ भूमिका भन्छिन्, ‘नागरिकताका लागि संघर्ष गर्नु पर्ने अवस्था छ देशमा समानताका साथ जागिर पाउनु सपनाको कुरा हो ।’
आफ्नो नाम आफैं राख्न पाउँदैनन्
कतिपयले लिंग परिवर्तन गरिएको प्रमाणपत्र लगेर गएपनि त्यसलाई पर्याप्त कागजात मानिँदैन । जिल्ला प्रशासनले फाइल नेपाल मेडिकल बोर्ड पठाउँछ, त्यहाँ फेरि शारीरिक जाँच गर्नुपर्ने अवस्था आउँछ ।
त्यसपछि मन्त्रालय, क्याबिनेटसम्म पुगेर निर्णय हुनुपर्छ, जसका लागि कम्तीमा ५–६ वर्ष लाग्छ ।
‘यति लामो पर्खाईपछि जसोतसो नागरिता त आउँछ, तर नाम पनि अर्कै भएर आउँछ’ भूमिका सुनाउँछिन्, ‘कोही उमेश थिए भने उमेशा, सन्दीप थिए भने सन्दीपा बनाइदिन्छन् । हामीले चाहेको नाम राख्ने अधिकार पनि हुँदैन ।’
‘अन्य’ लेखिएको नागरिकता लिए पनि त्यसको उपयोगिता अत्यन्त सीमित छ । उनका अनुसार यो नागरिकताले पनि महिला र पुरुष जत्तिकै अधिकार प्राप्त गर्न सहयोग गर्दैन ।
तेस्रोलिंगीले एकदमै झन्झट पार गदै जसोतसो नागरिकता त लिएका छन् । नागरिकता लिएपनि उनीहरूलाई नागरिक सरहको सेवा सुविधाबाट भने वञ्चित गराइएको छ । कुनै आरक्षण कोटा नहुनु, मूलधारको रोजगारमा नजोड्नु जस्ता प्रवृत्तिले उनीहरू अन्ततः सडकमै पुग्न बाध्य हुन्छन् ।
यसैका भुक्तभोगी हुन्, बारा कलैया बस्ने रोशनी थापा मगर ।
सुरुमा उनले होटल व्यवसाय गरिन् । तर, ग्राहकहरूले उनीमाथि हेपाह व्यवहार गर्न थाले । त्यसपछि अचार बनाएर बेच्न थालिन् । सुरुका दिन निकै अपहेलित शब्द सुन्नुपरेको उनी सुनाउँछिन् ।
‘पहिला त यस्तोले बनाएको अचार कस्तो होला भनेर प्रतिक्रिया दिनेहरू धेरै थिए’ उनी भन्छिन्, ‘तर म विचलित नभई लागिरहें । यो समाजले त गरिखान पनि दिँदैन ।’
जनसंख्या गणनामै झमेला
२०७२ को संविधानमा धारा १८ र ४० ले लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समान अधिकार र आरक्षणको व्यवस्था गरेको छ । तर, यो कागजको कथा मात्र बनेको छ ।
२०७८ को जनगणनामा जम्मा २ हजार ९२८ जना मात्र तेस्रोलिंगी देखाइयो, जुन वास्तविक संख्याभन्दा निकै कम रहेको तेस्रोलिंगीहरूको मत छ ।
‘परिवारले लुकायो, सर्वेक्षकले बुझेनन्, धेरैले डरले भन्न सकेनन्, ’भूमिका भन्छिन्, ‘हामीलाई कम देखाउँदा आरक्षण कोटाको कुरा पनि कमजोर हुन्छ।’
लैंगिक अल्पसंख्यकको अदृश्यता सामाजिक कलंकबाट आउँछ । गाउँमा उनीहरूलाई ‘हिँजडा’ भन्दै लुकाइन्छ ।
दस्तुरमा ‘तेस्रो लिंगी’ लेख्दा प्रश्न उठ्छ । सरकारी जागिरमा १ प्रतिशतभन्दा कम कोटा छ ।
निजी क्षेत्रमा ‘अनफिट’ ठहरिन्छन् । विश्वव्यापी रुपमा हेर्ने हो भने पनि विश्व बैंकको २०२४ को तथ्यांकअनुसार, महिलाको श्रम सहभागिता २७.६ प्रतिशत छ, तर ट्रान्सहरूको ५ प्रतिशतभन्दा कम छ ।
यो अभावले उनीहरूलाई अनौपचारिक काम वा यौन पेसा तर्फ धकेल्छ ।
२०२३ को अमेरिकी स्टेट डिपार्टमेन्टको रिपोर्टअनुसार ८० प्रतिशतले भेदभाव भोग्छन्, ट्रान्स महिलामा ९० प्रतिशत निजी कम्पनीहरूले ‘अनफिट’ ठान्छन् । यो तालिका अनुसार ५२ प्रतिशत पूर्णबेरोजगार छन् ।
अहिले पनि धेरै व्यक्तिहरू आफ्नो वास्तविक पहिचान लुकाएर बाँचिरहेका छन् । सरकारी कार्यालयदेखि निजी क्षेत्रसम्म खुलेर आए भने भेदभाव र जागिरबाट निकालिने डर कायमै छ ।
आत्महत्याको बाटोमा
‘म बाँचेकै छु भनेर मात्र बाँचेकी छु । निदाउन सक्दिन, आँखा झिमिक्क पनि हुँदैन । दिमागमा एउटै कुरा आइरहन्छ, म किन जन्मिएँ ?, ‘तेस्रो लिंगी महिला रिया (नाम परिवर्तन) भन्छिन् ।
२२ वर्षीया उनी काठमाडौँको रत्नपार्क नजिकै कोठा लिएर बस्छिन् । उनले दुई वर्षअघि आत्महत्याको प्रयास गरिन् ।
‘मलाई घरले लखेट्यो । बुबाले भने, ‘यो घरमा तँ जस्तो छक्का बस्न पाउँदैनस् ।’ साथीहरूले ‘हिँजडा’ भन्दै जिस्क्याए । जागिर खोज्दा जहाँ गएँ, त्यहाँ तिमी जस्तो मान्छे राख्दा अरू कर्मचारी भाग्छन् भन्थे’ रिया सुनाउँछन् ।
अन्त्यमा यौन पेसामा लागे । यहाँ पनि कहाँ सुख छ र, ग्राहकले सामानको भाउ राख्दैनन् ।
अहिले उनी मनोपरामर्शमा छिन् । उनको उपचार चलिरहेको छ ।
‘हाम्रा ८५ प्रतिशतभन्दा बढी साथीहरू डिप्रेसनको शिकार छन्’ शीतल गुरुङ सुनाउँछिन्, ‘६० प्रतिशतले कम्तीमा एक पटक आत्महत्या प्रयास गरेका छन् । धेरैजना सेलेन्टाल, डुलोक्सेटिन, क्लोनाजेपाम जस्ता औषधि नियमित खान्छन् । तर परामर्श र मनोचिकित्सकको पहुँच अत्यन्त कम छ।’
पोखराकी २३ वर्षीया ट्रान्स महिला स्मृति (नाम परिवर्तन) ले गत वैशाखमा ट्रेनको अगाडि हाम फालिन् । उनको फेसबुकको अन्तिम पोस्ट थियो – ‘मलाई कसैले माया गरेन, मैले पनि आफैँलाई माया गर्न सकिनँ ।’
ललितपुरकी ३१ वर्षीया ट्रान्स महिला रोजीले दुई पटक नसा काटेर आत्महत्या प्रयास गरिन् । दुवै पटक बाँचिन् । अहिले उनी डिप्रेसनको औषधि खान्छिन् र भन्छिन्, ‘मर्न पनि डर लाग्छ, बाँच्न पनि सकस छ ।’
परिवारले स्वीकार नगर्दा, समाजले लखेट्दा, रोजगारी नपाउँदा हाम्रा साथीहरूको मानसिक स्वास्थ्य पूरै खलबलिएको छ, ‘शीतल भन्छिन्, ‘धेरै साथीहरूले भन्छन्– हामी मरे पनि कसैलाई मतलब हुँदैन । यो भयानक कुरा हो ।’
त्यसो त नेपालमा यौन पेसा अवैध छ, जसले पुलिस दमन बढाउँछ । एक रिपोर्ट अनुसार, यौनकर्मीहरू सडक, होटल वा अनलाइनमा काम गर्छन्, तर ६५ प्रतिशतले पुलिसबाट हिंसा भोग्छन् ।
दुर्व्यसन, बलात्कार र मृत्युको चक्र
यो समुदायमा जो यौन पेसामा लागेका छन्, उनीहरू प्राय कुलतमा पनि चाँडै फस्ने डर हुन्छ । यही कारण उनीहरू अन्धकार र दलदलमा फस्दै जान्छन् ।
‘पहिला त रातमा काम गर्न डर लाग्थ्यो, ग्राहकको कुटाइ, साथीहरूसँगको लफडा तर जब ड्रग्स लिन थालेँ, डर हरायो । मन हल्का हुन थाल्यो । अनि बानी पर्यो । अब ड्रग्स नखाई त ग्राहकसँग जानै सक्तिनँ’ २७ वर्षीया सृष्टि (नाम परिवर्तन) भन्छिन्। उनको हातमा सिरिन्जका डामहरू स्पष्टै देखिन्छ ।
शीतल गुरुङ भन्छिन्, ‘ड्रग डिलरहरूले हाम्रा साथीहरूलाई ‘चिल्ड पार्टनर’ बनाउँछन् । यसको मतलब हो, सुरुमा आफैं ग्राहक बनेर फ्रीमा गोटी, ब्राउन सुगर, कोकेन दिन्छन्, ‘फकाएर सुन्दरी देखिन्छस्, खाने गर भन्दै । एक–दुई पटक खाएपछि लत बस्छ । त्यही डिलर ग्राहक बन्छ, प्रेमी बन्छ । पैसा नदिए कुट्छ, जबरजस्ती गर्छ, ब्ल्याकमेल गर्छ । धेरै साथीहरू यस्तो जालमा फसेका छन् ।’
काठमाडौंको बसपार्क, रत्नपार्क, न्यूरोड, ठमेल, दरबारमार्ग, लाजिम्पाट, कोटेश्वर, कलंकी, चाबहिल– यी ठाउँमा रात परेपछि ड्रग डिलरहरूको बाक्लो उपस्थिति हुन्छ । उनीहरूले ट्रान्स सेक्स वर्करलाई विशेष निशाना बनाउँछन् ।
सस्तो गाँजा, गोटी, क्यापदेखि महँगो कोकेनसम्म बेच्ने चलखेलको दलदलमा उनीहरू परिरहेको शीतल सुनाउँछिन् ।
लत र असुरक्षित सम्बन्धले एचआईभी, हेपाटाइटिस–सी, यौन रोग र ओभरडोजको जोखिम एकसाथ बढाइदिन्छ । लागुऔषधको लत मात्र होइन, उनीहरूको हत्या दर पनि उच्च छ ।
घटना १
२०७६ साल, माघ ४ गते । हेटौंडानजिकै अजिता भुजेलको ६ जनाले सामूहिक बलात्कार गरी हत्या गरेको थियो । ट्रकमा यौन सम्पर्कका लागि ७ हजारमा सहमति भएपछि पैसा नदिएर विवाद हुँदा हत्या भएको प्रहरीले खुलाएको थियो । ट्रक चालकसहित चारजनाले बिजुलीको तारले घाँटी कसेर हत्या गरी शव क्याम्पाडाँडामा फालेका थिए ।
घटना २
२०८२ असोज, नेपालगन्जकी २४ वर्षीया ट्रान्स महिला सोनिया (नाम परिवर्तन) राति १२ बजे कोठामा मृत भेटिइन् । साथीहरूका अनुसार उनले ब्राउन सुगर इन्जेक्सन लिएर ग्राहकसँग होटल गएकी थिइन् । शरीरमा कुटपिट र बलात्कारका चोटपटक थिए । प्रहरीले ‘ड्रग ओभरडोज’ भनेर मुद्दा बन्द गर्यो । परिवारले शव बुझ्न मानेन । बीडीएसले आफैँ दाहसंस्कार गर्यो ।
२०८० देखि २०८२ सम्मको ब्लु डायमन्ड सोसाइटीको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्र १४ जना तेस्रो लिंगीको मृत्यु भयो, जसमध्ये ६ जना लागुऔषधको ओभर डोज, बलात्कारपछि हत्या ५ जना र ३ जना आत्महत्याको केस रिर्पोट भएको छ ।
दुःखको कुरा धेरैको नामसमेत सार्वजनिक भएन । परिवारले ‘यो त वेश्या थियो’ भनेर शव बुझ्न आएन । ब्लु डायमन्ड सोसाइटी र साथीहरूले नै अन्तिम संस्कार गरे ।
‘हामीले कति साथी गुमायौँ, कति चिहानमा हामी आफैँ फूल चढायौँ । कति त नामै नलिइकन गुमे । एउटा साथी मर्दा हामी सबै एक्लो हुन्छौँ । तर समाजलाई मतलब छैन । हामी त अझै लडिरहेका छौं’ मन भारी पार्दै शीतल भन्छिन् ।
उनीहरूलाई समाजको डर, भोक, बेरोजगारले त भित्र-भित्र मार्छ नै ड्रग्सले पनि जीवन पनि बिस्तारै–बिस्तारै खाइदिन्छ ।
नेपालमा मात्र होइन, विश्व व्यापीरूपमा यो समुदायको हत्या बढी हुने गरेको पाइन्छ ।
युरोप एण्ड सेन्ट्रल एसियाले २०२३ मा गरेको अध्ययनको रिपोर्टले विश्वव्यापी उक्त वर्ष ३२० ट्रान्स हत्याहरू उल्लेख गरेको छ । जसमध्ये दक्षिण एसियामा नेपालको हिस्सा उल्लेख्य छ ।
एचआईभी सेवा कटौतीले थप जोखिम
पहिला अमेरिकी सहयोग (पीइपीएफएआर) र ग्लोबल फन्डको पैसाले २० वटा जिल्लामा प्रेप (प्री—एक्सपोजर प्रोफाइल्याक्सि) औषधि निःशुल्क वितरण हुन्थ्यो । यो औषधिले एचआईभी सर्ने सम्भावना ९९ प्रतिशतसम्म घटाउँथ्यो । निःशुल्क लुब्रिकेन्ट र कन्डम पनि नियमित आउँथ्यो ।
तर ट्रम्प प्रशासनले २०२५ मा ‘मेक्सिको सिटी पोलीसी’ फेरि लागू गरेपछि र ग्लोबल फन्डको बजेट कटौतीले नेपालका धेरै एचआईभी कार्यक्रम बन्द भए ।
शीतल भन्छिन्, ‘प्राय यौन पेसामै संलग्न छन्, हाम्रा धेरै साथीहरू यौनकर्मीका रूपमा गुदद्वारमा हुने यौनसम्पर्क गर्न बाध्य छन् । लुब्रिकेन्टको पूरै अभाव भएकाले घाउ हुने, रगत बग्ने र एचआईभी सर्ने जोखिम दिनदिनै बढिरहेको छ । हाम्रा साथीहरूको जोखिम गुणात्मक रूपमा बढिरहेको छ । जो खुलेर आएका छैनन्, ती गे र नयाँ ट्रान्स युवाहरूमा एचआईभीको प्रिभिलेन्स डरलाग्दो गरी बढ्दैछ ।’
सरकारको उदासीनता
सरकारको तर्फबाट यही समुदायलाई भनेर मधेश प्रदेशलाई अनुदान दिएको थियो । बाँकी जिल्लामा भने बजेट शून्य छ । तर, मधेश प्रदेशमा छुट्याएको पुरा बजेट कुनै स्थानीय अल्पसंख्यक र तेस्रो लिंगीलाई नदिई सचेतना कार्यक्रमको फेक रिपोर्ट बनाएर हजम गरेको जनकपुरका मानवअधिकारकर्मी प्रदिप कुमारको आरोप छ ।
‘२०८१÷८२ मा समाजकल्याण मन्त्रालयले ट्रान्स समुदायका लागि ५०–५५ लाख बजेट छुट्याएको थियो । तर समुदायसम्म पुगेको जम्मा ४ लाख मात्र, बाँकी पैसा फेक रिपोर्ट, ब्यानर बनाएर हजम गरे’ उनी भन्छन, ‘१० लाखको राहत भनियो । यस्तो अनुदान बुझ्न जाँदा त्यहाँको सचिव र लेखा अधिकृतहरूले ५० प्रतिशत कमिसन माग्ने, आधिकारिक सूचना माग्दा पनि नदिने प्रवृतिले हामी मारमा छौं ।’
१९–२० वर्षदेखि अधिकारका लागि लडिरहेका प्रदिप भन्छन् ‘जबसम्म लोकसेवा आयोगमा आरक्षण, कोटा र स्पष्ट कानुनी मान्यता आउँदैन, तबसम्म बजेटको चलखेल र भ्रष्टाचारले मात्र हामीलाई भ्रष्टाचार सिकाइरहन्छ ।’
उनको प्रश्न छ– यो अन्धकार कहिले अन्त्य हुन्छ ?
अन्य देशको उदाहरणबाट सिक्ने अवसर
यो अँध्यारो कहानीको अन्त्य हुन सक्छ । विश्वका धेरै देशले ट्रान्स समुदायलाई मर्यादाको जीवन दिन सफल भएका छन् । ती देशका सफलता हाम्रा लागि ठूला प्रेरणा हुन् । अब नेपालले पनि अनुशरण गर्नुपर्ने बेला छ ।
भारत : आरक्षण र संरक्षणको बलियो मोडल
सन् २०१४ मा भारतको सर्वोच्च अदालतले ट्रान्सजेन्डरलाई ‘तेस्रोलिंग’ को मान्यता दियो र सरकारी जागिर तथा शिक्षामा १–२ प्रतिशत आरक्षण अनिवार्य गर्यो ।
केरल, तमिलनाडु, कर्नाटकजस्ता राज्यमा ट्रान्स व्यक्तिहरू सरकारी अफिस, बैंक, मेट्रो, को-अपरेटिभमा खुलेआम काम गर्छन् ।
दिल्लीको ‘ट्रान्सजेन्डर प्रोटेक्सन रुल्स’ले ट्रान्समाथि हिंसा भए पुलिसले तुरुन्त कारबाही गर्नुपर्ने बाध्यता राख्छ । नेपाललाई पनि यस्तै ‘ट्रान्स संरक्षण नियमावली’ तुरुन्त चाहिन्छ ।
थाइल्यान्ड : खुला समाज र आर्थिक स्वावलम्बन
बैंकक र पटायामा ट्रान्स महिलाहरू होटल, रेस्टुरेन्ट, ब्युटी पार्लर, टुरिस्ट गाइड, डान्सरका रूपमा ठूलो संख्यामा छन् । त्यहाको सकारात्मक पक्ष के छ भने समाजले उनीहरूलाई ‘अलग’ ठान्दैन, ग्राहकले पनि सम्मान गर्छन् । त्यहाँ ट्रान्स हुनु ‘लाज’ होइन, ‘पहिचान’ हो।
सरकारी अस्पतालमा हर्मोन थेरापी र सर्जरी निःशुल्क वा सस्तोमा उपलब्ध छ । नेपालले पनि यस्तै ‘जेन्डर अफर्मिङ हेल्थ केयर’लाई राष्ट्रिय स्वास्थ्य सेवामा समावेश गर्न सक्छ ।
अर्जेन्टिना : विश्वकै सबैभन्दा प्रगतिशील कानुन
सन् २०१२ मा ‘जेन्डर आइडेन्टिटी ल’ पास भयो । यसले के गर्छ भने कसैले पनि मेडिकल प्रमाण वा सर्जरीबिना आफ्नो लिंग र नाम परिवर्तन गर्न सक्छ ।
सरकारी जागिरमा १ प्रतिशत कोटा अनिवार्य छ र कार्यान्वयन पनि कडाइका साथ हुन्छ । ट्रान्स व्यक्तिले सेना, पुलिस र सबै क्षेत्रमा काम गर्न पाउँछन् ।
अमेरिका र युरोप : एन्टी–डिस्क्रिमिनेसन र सेफ स्पेस
धेरै कम्पनीले ‘ट्रान्स–इन्क्लुसिभ हेल्थ इन्स्योरेन्स’ दिन्छन्, हर्मोन र सर्जरीको खर्च कम्पनीले बेहोर्छ । कार्यस्थलमा ट्रान्सविरुद्ध भेदभाव गरे जेल र ठूलो जरिवाना हुन्छ ।
सेक्स वर्कलाई डिक्रिमिनलाइज गरेर (अपराध नठहर्याएर) यौनकर्मीको सुरक्षा र स्वास्थ्यमा ध्यान दिइन्छ ।
प्रतिक्रिया 4