२१ वैशाख, काठमाडौं । बाजुरामा चट्याङका कारण भिरबाट खसेको ढुंगा लागेर बाख्रा चराउन जंगल गएका एक वृद्धको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका दोगडावाडाका ७३ वर्षीय नैन बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक(इन्स्पेक्टर) नरेशबहादुर शाहीका अनुसार घटना आइतबार साँझको हो । मृतक बुढा जंगलबाट बाख्रा चराएर फर्किरहेका बेला प्रतिकूल मौसमका कारण चट्याङ खसेको थियो । आकाशबाट खसेको चट्याङ भिरमा लागेर त्यहाँबाट खसेको ढुंगा मृतक बुढाको टाउकामा लाग्दा उनी घाइते भएका थिए ।
घाइते अवस्थामा रहेका बुढालाई स्थानीयले उद्धार गरेर अस्पताल लैजान खोजेका थिए । अस्पताल लैजान लागेका बेला उनको बाटामै मृत्यु भएको वडाध्यक्ष जंगवीर रोकायालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरी टोली सोमबार घटनास्थल पुगेर लासजाँच पछि आफन्तलाई शव जिम्मा लगाइएको इन्स्पेक्टर शाहीले जानकारी दिए ।
प्रतिक्रिया 4