+
+
Shares

‘हाम्रो त कक्षा छुट्यो’

राधास्वामी सत्संग व्यास आश्रममा रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई आजदेखि पठनपाठन सुरु भयो भन्ने थाहासम्म छैन ।

दिनेश गौतम दिनेश गौतम
२०८३ वैशाख २१ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरको सुकुमवासी बस्तीमा बस्ने बालबालिकाको पढाइ घर भत्किएपछि र होल्डिङ सेन्टरमा बस्दा रोकिएको छ।
  • सरकारले १५ वैशाखदेखि भर्ना र २१ वैशाखदेखि पठनपाठन सुरु भएको घोषणा गरेको भए पनि सुकुमवासी बालबालिका विद्यालय जान पाएका छैनन्।
  • काठमाडौं महानगरले होल्डिङ सेन्टर नजिकैको विद्यालयमा सुकुमवासी बालबालिकालाई पढाउने विकल्प खोजिरहेको छ।

२१ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गामा रहेको ल्याबरोटरी स्कुलबाट सोमबार दिउँसो विद्यार्थी बाहिरिँदै थिए । शैक्षिकसत्र २०८३ सुरु भएपछिको यो पहिलो कक्षा थियो ।

ल्याबरोटरीको गेट अगाडि थियो– राधास्वामी सत्संग व्यास आश्रम, जहाँ सुकुमवासी बस्तीका विद्यालय जाने उमेर समूहका बालबालिका छन् । उनीहरूलाई आजबाट पठनपाठन सुरु भयो भन्ने थाहासम्म छैन ।

किताब–कापी छ ? छैन ।
कक्षा सुरु भयो नि ? टाढा छ कसरी जानु ? हामीलाई बस लिन आउँदैन क्यार !
पढ्न मन छ नि ? किन नहुनु ।
कहिलेदेखि जाने भनेको छ ? थाहा छैन ।

कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा रहेका कक्षा ३ मा पढ्ने अर्पण बिकलाई सोधेको प्रश्न र उनले दिएको जवाफ हो यो । होल्डिङ सेन्टरभित्र मिडियालाई प्रवेशमा रोक लागाइएको छ । हामीले प्राङ्गणमा भेटिएका बालबालिकासँग कुराकानी गरेका हौँ ।

गैरीगाउँको सुकुमवासी बस्तीबाट होल्डिङ सेन्टर पुगेका हुन् अर्पण । त्यहाँ जानुअघि उनी विद्यालय नियमित जान थालिसकेका थिए । किताब पनि किनेका थिए, तर शनिबार घर भत्कियो ।

सरकारले घरमा डोजर चलाएपछि उनको पढाइ छुट्यो । ‘म पढेको स्कुलमा २ गतेदेखि नै पढाइ सुरु भएको थियो । घर भत्काएपछि बस्ने ठाउँ नै छैन । सर, हाम्रो त कक्षा पनि छुट्यो है,’ स्कुल जान नपाएकोमा उनी निराश सुनिए ।

विद्यालय गएर पढ्ने रहर भएको उनले सुनाए । ‘पढ्न त मन छ नि । हामीलाई यहाँसम्म लिन बस आउँदैन क्यार,’ उनले भने । स्कुल पुर्‍याउने र ल्याउने व्यवस्था भए पढिरहेकै ठाउँमा जान उनी इच्छुक छन् । उनले थपे, ‘यहाँबाट त टाढा छ है ।’

अब कहिलेदेखि उनका लागि स्कुलको ढोका खुल्छ थाहा छैन । ‘साथीहरू स्कुल गइरहेका होलान् । हामी कहिलेदेखि जान पाउने हो थाहा छैन,’ उनले गुनासो गरे, ‘अब जहिले मिल्छ, त्यहिले जाने हो ।’

सरकारले नै घोषणा गरेअनुसार १५ वैशाखदेखि भर्ना र २१ गते (आज)बाट पठनपाठन सुरु भएको छ । तर होल्डिङ सेन्टरमा रहेका बालबालिकाको सबैको पढाइ छुटेको छ । संविधानले अनिवार्य र निःशुल्क शिक्षा भनेको छ । बालबालिका विद्यालय जान र पढ्न पाएका छैनन् । कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका विद्यार्थीसँग किताब-कापी पनि छैन ।

भित्रको भित्रै भएकाले आज कति गते हो, कुन बार हो भन्नेसम्म उनीहरूले बिर्सन थालेका रहेछन् । ‘ए आजदेखि स्कुल लागेको हो र !,’ कक्षा ५ मा अध्ययनरत जेनिस मगरले आश्चर्यमा पर्दै भने, ‘स्कुल लागेको पनि थाहा छैन । हामी भित्रको भित्रै छौँ । कसरी थाहा हुनु ?’

कहिलेदेखि पढ्न जाने भन्ने प्रश्नमा उनले भने, ‘ममीलाई थाहा होला ।’ होल्डिङ सेन्टरमा बालबालिकाले खेल्न भने पाएका रहेछन् । ‘खाने-बस्ने-खेल्ने गरेका छौँ । हिजो एक जना म्यामले ड्रोइङ कपी ल्याउनुभएको थियो । ड्रोइङ पनि गरेँ,’ अपर्णले भने ।

थापाथलीको सुकुमवासी बस्तीमा बस्ने उषा पासवान ६ कक्षामा अध्ययनरत थिइन् । उनीसँगै उनका ४ जना भाइको पनि पढाइ छुटेको छ । ‘पढ्न पाएको छैन । ४ जना भाइ छन् । उनीहरू पनि स्कुल जान पाएका छैनन् । म पनि गएको छैन,’ उनले भनिन्, ‘यहाँ बसेर पढ्न किताब-कापी छैन । कसरी पढ्नु ?’

उनले पनि विद्यालय जान तयार रहेको तर टाढा भएको समस्या सुनाइन् । ‘स्कुल नजिक छैन । बुबा-ममी काममा जानुपर्छ । हामी कसरी स्कुलसम्म पुग्ने ?,’ उनले प्रश्न गरिन् ।

बालबालिकासम्बन्धी ऐन २०७५ ले बालबालिकाले शिक्षा, खेलकुद, पोषण, स्वास्थ्यको अधिकार प्रत्याभूत गरेको छ । तर यो ऐन सुकुमवासी बस्तीका बालबालिकाको लागि लागु भएको देखिँदैन । कुनै पनि बालबालिका विद्यालय बाहिर नराख्ने नीति सरकारको छ ।

अभिभावक पनि छोराछोरीको पढाइ रोकिएकोमा चिन्तित छन् । अभिभावकले डेरामा राखेर भए पनि पढाउन चाहेका छन् । तर कोठा भेटेका छैनन् । ‘कोठा खोजेको तर भेटेको छैन । बच्चाको पढाइ बिग्रियो,’ सुकुमाया बिकले भनिन्, ‘कोठा मिल्यो भने त्यही स्कुलमा बच्चा पढाउने हो ।’

प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनिएको छ । तर सुकुमवासी बस्तीका अभिभावक आफ्ना छोराछोरी पढाउनको लागि संघर्ष गरिरहेका छन् ।

सरकारी टोली आज भने नाम टिपाउन आएको उनीहरूले सुनाए । ‘कतिमा पढ्ने हो, कुन स्कुलमा पढेको हो सबै फारममा भरेका छौँ । आज टिपाउन आउनु भएको थियो,’ कक्षा ६ मा पढ्ने सुवोध पासवानले भने, ‘यहाँ आउनु भएकाले पढाउने त भन्नुभएको छ । तर कहिलेदेखि हो थाहा छैन ।’

कीर्तिपुर होल्डिङ सेन्टरमा पुरुष ९३, महिला ११० जना गरी २०३ जना छन् । जसमा १ वर्ष मुनिका ४ जना, ५ वर्ष मनिका १४ जना, १० वर्ष मुनिका ३० जना, १५ वर्ष मुनिका ४९ जना र १८ वर्ष मुनिका ६१ जना छन् । धेरैजसो १८ वर्ष मुनिका छन् ।

प्रारम्भिक रिपोर्टअनुसार काठमाडौं उपत्यकाको थापाथली, मनोहरा, शान्तिनगर, गैरीगाउँलगायत क्षेत्रका सुकुमवासी बस्तीमा करिब ३ हजार बालबालिका छन् । अधिकांश विद्यार्थी नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने छन् । तर उनीहरू कक्षा कोठाभन्दा बाहिर नै छन् ।

कतिपय त विद्यालय नजाने मनस्थितिमा समेत पुगेका रहेछन् । यद्यपि, केही संघसंस्था भने उनीहरूलाई मनोपरामर्श दिन जान थालेका रहेछन् । ‘केही संघसंस्था भने आइरहनु भएको छ । मनोसामाजिक परामर्श दिइरहनु भएको छ,’ आश्रमका एक सेवकले भने ।

यता, काठमाडौं महानगरले सुकुमवासी बस्तीका बालबालिकाको पढाइको लागि विकल्प खोजिरहेको जनाएको छ । होल्डिङ सेन्टर नजिकै रहेको विद्यालयमा पढाउने विकल्प महानगरले सोचेको छ ।

‘होल्डिङ सेन्टर नजिकको विद्यालयसँग कुरा गररहेका छौँ । कतिले त्रिपुरेश्वरको विश्व निकेतनमै पढ्छौं भनेका छन् । विश्व निकेतन नजिकै पनि पर्छ,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?