+
+
Shares

‘मीतज्यू’ बारे दयाहाङ : मेरो लागि गहिरो र चुनौतीपूर्ण भूमिका

‘पहिले झगडा मिलाउन ‘मीत’ लगाउने चलन थियो भन्ने सुनेको छु । अहिले पनि यसलाई सहकार्य वा गठबन्धनको रूपमा बुझ्न सकिन्छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते ११:०८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘मितज्यू’ले हराउँदै गएको ‘मितेरी’ संस्कृतिको कथावस्तु समेट्दै सम्बन्ध, मित्रता र जीवनका जटिल पक्षलाई प्रस्तुत गर्नेछ।
  • निर्माता जनक घर्तीमगर र निर्देशक अनिल मगरले ८ वर्षअघि परिकल्पना गरेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, टेरिया फौजा मगर र शिशिर वाङ्देलको अभिनय छ।
  • अभिनेता दयाहाङ राईले भने, ‘यो सम्बन्धको कथा हो, गाउँदेखि शहरसम्म गाडी चलाउने तीन पात्रको जीवन र भित्री द्वन्द्व वरिपरि कथा घुम्छ।’

काठमाडौं । फिल्म ‘मीतज्यू’ रिलिजको तयारीमा छ । हराउँदै गएको ‘मितेरी’ संस्कृतिको कथावस्तु समेटिएको यो फिल्मले सम्बन्ध, मित्रता र जीवनका जटिल पक्षलाई प्रस्तुत गर्ने प्रयास गरेको निर्माताको भनाइ छ ।

निर्माता जनक घर्तीमगर र निर्देशक अनिल मगरले करिब ८ वर्षअघि नै यो कथाको परिकल्पना गरेका थिए । सुरुमा नै अभिनेता दयाहाङ राई लाई लिएर काम गर्ने सोच बनाइए पनि समय अभावका कारण सहकार्य हुन सकेन । यसबीचमा उनीहरूले ‘घरज्वाई’ निर्माण गरे । त्यसपछि पुनः पुरानो स्क्रिप्टलाई अगाडि बढाउँदै ‘मीतज्यू’ निर्माण गरिएको हो ।

फिल्ममा दयाहाङसँगै सौगात मल्ल, टेरिया फौजा मगर र शिशिर वाङ्देलको अभिनय छ । अहिले फिल्मको प्रचार–प्रसार तीव्र बनाइएको छ । विशेषगरी ‘गैराघरे साइँली’ बोलको गीतले दर्शकमाझ राम्रो चर्चा कमाइरहेको छ ।

फिल्मबारे अभिनेता राई भन्छन्, ‘यो सम्बन्धको कथा हो । पारिवारिक सम्बन्ध, मित्रता र पेशागत संघर्षलाई केन्द्रमा राखिएको छ ।’ उनका अनुसार, गाउँदेखि शहरसम्म गाडी चलाउने तीन पात्रको जीवन, उनीहरूको दौडधुप र भित्री द्वन्द्व वरिपरि कथा घुम्छ ।

टिजर र ट्रेलरले फिल्मको सम्पूर्ण कथा नखोल्ने उनले बताए । ‘हरेक पात्रको आफ्नै कथा छ, जुन दर्शकले पूरा फिल्म हेरेपछि मात्रै बुझ्न सक्नुहुन्छ,’ उनले भने ।

आफ्नो भूमिकाबारे दयाहाङ भन्छन्, ‘म पात्रको भित्री भावनासँग नजिक भएर अभिनय गर्न रुचाउँछु । ‘मितज्यू’मा मैले निर्वाह गरेको पात्र मभन्दा फरक छ, तर यथार्थसँग जोडिएको छ’ उनले भने, ‘यसलाई गहिरो र चुनौतीपूर्ण भूमिका मानेको छु ।’

सह-अभिनेता सौगात मल्लसँगको सहकार्यबारे उनले प्रतिस्पर्धाभन्दा कथा र पात्रको उद्देश्य फरक रहेको बताए । ‘दर्शकलाई सुरुमा केही शंका लाग्न सक्छ, तर वास्तविक कुरा बुझ्न फिल्म हेर्नुपर्छ,’ उनले भने ।

डेब्यू अभिनेत्री टेरियासँग काम गर्दाको अनुभव सकारात्मक रहेको उनको भनाइ छ । ‘कलाकारका लागि नयाँ–पुरानो भन्ने हुँदैन । स्क्रिप्टअनुसार सबैसँग मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

‘मीत’ लगाउने व्यक्तिगत अनुभव भने आफूलाई नभएको दयाहाङले बताए । यद्यपि, समाजमा यसको महत्वबारे आफू जानकार रहेको उनले सुनाए । ‘पहिले झगडा मिलाउन ‘मित’ लगाउने चलन थियो भन्ने सुनेको छु । अहिले पनि यसलाई सहकार्य वा गठबन्धनको रूपमा बुझ्न सकिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?