News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा ओमानलाई २५७ रनको लक्ष्य दिएको छ।
- आसिफ शेखले ९४ रन बनाएर सर्वाधिक योगदान दिए भने अर्जुन कुमालले ४८ र आरिफ शेखले ४३ रन जोडे।
- नेपालले ४९.५ ओभरमा २५६ रन बनाएको छ र ओमानका लागि नदिम खानले ३ विकेट लिए।
२२ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।
आसिफ र आरिफ शेख दाजुभाइ ब्याटिङमा चम्किँदा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।
शतक बनाउनबाट ६ रनले चुकेका आसिफले ९७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । ठूलो सट हान्ने चक्करमा ३५औं ओभरको तेस्रो बलमा आसिफ बाउन्ड्री लाइन नजिक क्याचआउट भएका थिए । ओडीआईमा आसिफको यो १४औं अर्धशतक हो । ६६ ओडीआई खेल खेल्दा आसिफले एक शतक र १४ अर्धशतक बनाएका छन् ।
अर्का ओपनर विनोद भण्डारी दोस्रो ओभरमा खाता नखोली आउट भएपछि आसिफले अर्जुन कुमालसँग मिलेर दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरेका थिए । लगातार दोस्रो खेलमा अवर पाएका अर्जुनले वान डाउनमा खेल्दै संयमित ब्याटिङ गरेपनि अर्धशतकबाट दुई रनले मात्र चुके । उनले ८७ बल खेल्दै ४ चौका मदतमा ४८ रन बनाए ।
यस्तै आक्रामक ब्याटिङ गरेका आरिफले २४ बलमा ४ छक्का र एक चौका मद्दतमा ४३ रन बनाएर आउट भए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४२ बल खेल्दै १ चौका मदतमा ३३ रन जोडे ।
गुल्सनले २३ बलमा २ चौका प्रहार गरी १७ रन बनाए । कप्तान रोहित पौडेलले १६ बल खेलेर ९ रन मात्र बनाए । नन्दन यादव २ र सन्दीप लामिछाने १ रनमा आउट हुँदा करण केसीले खाता खोल्न सकेनन् ।
४९ ओभरमा २३७-९ को स्थितीमा रहेको नेपालका लागि आफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै स्कोर बढाएका थिए । तर अन्तिम ओभरको पाँचौ बलमा आरिफ आउट भएपछि नेपाल एक बल अगाडि अलआउट भयो । आरिफले २४ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।
ओमानका लागि नदिम खानले सर्वाधिक ३ र तथा सकिल अहमदले २ विकेट लिए ।
जितेन रामानान्डी, हसनैनन शाह र आर्यन विष्टले समान १ विकेट लिए ।
प्रतिक्रिया 4